गणेश सार्कीले हामीलाई झुक्काएका होइनन्, आफै झुक्किएका हुन् : नमन राई

0
1401
नमन राई र अन्य नगरपार्षद्हरू।

दार्जीलिङ, 8 जुलाई :  भारतीय जनता पार्टी (भाजपा) त्यागेर पुनः विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-मा फर्किआएका नगरपार्षद् गणेश सार्कीले  झूटो र अचाहिँदो बयान दिएर जनतामा भूल-भ्रान्ति फैलाउन खोजिरहेको आरोप नगरपार्षद् नमन राईहरूले लगाएका छन्।

दिल्लीबाट दार्जीलिङ फर्केर विनयपन्थी मोर्चामा सामेल हुने वार्ड नम्बर 18-का नगरपार्षद् सार्कीको बयानलाई खण्डन गर्न भाजपामा सामेल भएका तथा हाल दिल्लीमा रहेका 16 नगरपार्षद्ले एक भिडियो जारी गरेका छन्। भिडियोलाई पार्षदद्वय नमन राई र मिञ्जुर यल्मो (चन्दन) बोलेका छन्।

‘नगरपार्षद् गणेश सार्की भाजपा त्यागेर पुनः विनयपन्थी मोर्चामा सामेल हुनु, उनको व्यक्तिगत इच्छा र अधिकारको कुरा हो’, नमन राईले थपे, ‘तर गणेश सार्कीले कुरा बुझ्नुपर्ने थियो, हामीले भाजपालाई समर्थन जनाउँदा हामीले कसैलाई जोर-जबर्जस्ती गरेका थिएनौं।’

राईको दाबीका अनुसार पछिल्लो लोकसभा र विधानसभा चुनाउमा विनयपन्थी मोर्चाको नराम्रो पराजयपछि जनाकांक्षालाई ध्यानमा राखेर ‘पक्ष परिवर्तनको वकालत’ गर्ने पुरुष नगरपार्षद्हरूमध्ये पहिलो नगरपार्षद् नै गणेश सार्की थिए।

‘विनय तामाङ र गोजमुमो दोस्रो खेमालाई सम्पूर्ण जनताले नकारेपछि हामीले केही कदम उठाउनुपर्छ भन्ने उनी (गणेश सार्की) नै हुन्’, नमनले ठोकुवा गरे, ‘त्यसपछि हामी सबै नगरपार्षद् मिलेर नगरपालिकाकी वर्तमान अध्यक्षाविरुद्ध अविश्वासको प्रस्तावको माग गरेका थियौं, त्यसमा पनि उनको ठूलो हात थियो।’

वार्ड नम्बर 6-का नगरपार्षद् राईले थप भने, ‘भाजपामा सामेल भएको एकमहिनाको अवधिभित्र पनि गोर्खाल्यान्ड भएन भन्ने जुन बयान उनले दिएका छन्, त्यो बयानलाई अहिलेका शिक्षित जनताले स्पष्ट बुझिसकेका छन्। भाजपाले चुनाउ जितेको एकै महिनामा गोर्खाल्यान्ड हुनेछ भन्नु एकदमै असम्भव कुरा हो।’

आफ्नो घोषणा-पत्रमा दार्जीलिङको समस्याको स्थायी राजनीतिक समाधान र 11 जातगोष्ठीलाई जनजातिको मान्यताका लागि भाजपा लागिपरेको पनि उनको दाबी छ।

‘आज भन्यो भन्दैमा भोलि नै बील पास हुने होइन’, उनले थपे, ‘यसको संसदीय प्रक्रिया छ। गणेश सार्कीले सोची-सम्झी बोलेको राम्रो हो।’

यसका साथै नमन राईले दिल्लीमा रहेका नगरपार्षद्हरू गोर्खाल्यान्ड ल्याउँछौं भनेर त्यहाँ नगएको पनि स्पष्ट पारे। राईले भने, ‘हाम्रो पनि वार्ड छ। हामीहरू पनि आ-आफ्नो वार्डका प्रतिनिधि हौं। तर हामीले हाम्रा वार्डहरूलाई मात्र नहेरेर डेढ़ करोड़ गोर्खाको भावनालाई हेरेर यहाँ छौं।’

नगरपार्षद् सार्कीको बयानलाई नमन राईले थोत्रे बयानको संज्ञा दिएका छन्। साथै दिल्लीबाट बिरामी आमाको बहाना भएर दार्जीलिङ फर्किआइ विनयपन्थी मोर्चामा सामेल भएर गणेश सार्कीले आफू स्वयंलाई झुक्काएको उनको दाबी छ। समय आएपछि नगरपार्षद् गणेश सार्कीले आफ्नो कार्यको ओठे जवाफ पाउने नमनको दाबी छ।

‘हामीमाथि झूटा मुद्दाहरू लगाइएको छ। ती झूटाहरूको एन्टिसेप्टोरी बेल पाएपछि हामी दार्जीलिङ फर्किनेछौं’, उनले थपे, ‘दार्जीलिङ नगरपालिकालाई लिएर उच्च न्यायालयमा सुनवाइ चलिरहेछ। फ्लोर टेस्ट अवश्यै हुनेछ। हामी बहुमतमा छौं।’ राईले आगत दिनमा गणेश सार्कीलाई उनकै वार्डले समुचित जवाफ दिने दाबी गरेका छन्। अर्कोतिर मिञ्जुर यल्मो (चन्दन)-ले 16 जना नै नगरपार्षद् एकमत रहेको दाबी गरे। ‘ज्यान छोड़िन्छ, तर साथ छोड़िँदैन’, उनले प्रतिबद्धता जताए। उनले दिल्लीमा रहेका नगरपार्षद्हरूलाई कसैले जोर-जबर्जस्ती र करकापमा नराखेको पनि स्पष्ट पारेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here