दार्जीलिङ, 8 जुलाई : गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-द्वारा प्रतिदिन प्रदान गरिने भानु पुरस्कार यसवर्ष कालेबुङका चर्चित कवि राजेन्द्र भण्डारीले प्राप्त गर्नेछन्। सोमवार कवि भण्डारीलाई यसवर्षको भानु पुरस्कार प्रदान गर्ने जीटीएले निर्णय गरेको छ।
उक्त पुरस्कार आगामी भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमबीच कवि राजेन्द्र भण्डारीलाई अर्पण गरिनेछ। यसपटक नेपाली साहित्य सम्मेलनसँग जीटीएले मिलेर भानु जयन्ती मनाउनेछ। भानु जयन्ती कार्यक्रम स्थानीय गोर्खा दुःख निवारक सम्मेलनको हलमा आयोजित गरिनेछ।
जीटीएले भानु पुरस्कारसँगै नाट्य, चित्रकारिता, पत्रकारिता र लोकसङ्गीतको विधामा पनि छुट्टा-छुट्टै पुरस्कार प्रदान गर्नेछ। आज जीटीएका प्रशासक अनित थापाले यी उल्लिखित सबै विधाका लागि पनि चयन समितिले पुरस्कारप्रापकहरूको नामको घोषणा गरेको बताएका छन्।
उनका अनुसार नाट्य क्षेत्रका लागि प्रदान गरिने डीबी परियार स्मृति पुरस्कार वरिष्ठ निर्देशक किरण ठकुरीलाई, पत्रकारिता क्षेत्रका लागि दिइने पादरी गङ्गा प्रसाद प्रधान स्मृति पुरस्कार गिदोन लेप्चालाई, चित्रकारिता क्षेत्रमा दिइने डगलस स्मृति पुरस्कार हेमु राईलाई तथा लोक सङ्गीको क्षेत्रमा दिइने मास्टर मित्रसेन थापा स्मृति पुरस्कार कालेबुङ निवासी काजी सिंहलाई प्रदान गरिने निर्णय गरिएको छ।
जानकारीका अनुसार यस दिन स्थानीय रेलवे स्टेशनदेखि चौरस्ता परिसरसम्म ऱ्याली निकालिनेछ, जसमा स्थानीय विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाउनेछन्। चौरस्ता परिसरमा रहेको भानुभक्तको सालिकमा श्रद्धाञ्जली अर्पण गरेपछि जीडीएनएसमा पुरस्कार अर्पणलगायत अन्य कार्यक्रम सम्पन्न हुनेछ।