गोर्खा लीगका दुई गुटबीच निष्कासनको किचलोः प्रताप खाती र मीना सुब्बाविरुद्ध प्राथमिकी दर्ता

0
1146

दार्जीलिङ, ८ जुलाईः अखिल भारतीय गोर्खालीगका संयोजकद्वय भारती तामाङ, एस.के. प्रधानले प्रताप खातीलाई पनि पार्टीबाट निष्कासित गरिदिएका छन्।

आज उनीहरूले दार्जीलिङमा एक पत्रकार सम्मेलनको आयोजन गरी प्रताप खातीले गोर्खा लीगको सदस्यता ग्रहण गर्न परे एक आवेदन गर्नुपर्ने, आवेदन नगरे गोर्खालीगको सदस्य बन्ने अवसर पनि नपाउने बताए।

यति मात्रै होइन, प्रताप खातीहरूले स्थानीय लाडेनला रोडस्थित गोर्खा लीग पार्टी कार्यालयको ताला तोड़ेर हिजो एक बैठक गरेको आरोप लगाउँदै भारती तामाङ, एसके प्रधानहरूले खाती साथै मीना सुब्बाविरुद्ध एक प्राथमिकी पनि दर्ता गरेका छन्।

उल्लेखनीय छ, हिजो मात्रै प्रताप खातीले स्थानीय लाडेनला रोडस्थित पार्टी कार्यालयमा एक आपतकालीन बैठकको आयोजन गरी एसके प्रधानलाई ६ वर्षका लागि पार्टीको प्राथमिक सदस्यताबाट निष्कासित गरेको घोषणा गरेका थिए भने एक सप्ताहभित्र पार्टीका सम्पूर्ण कागज पत्र नबुझाए उनीविरुद्ध कानुनी कारबाही गर्ने पनि चेताउनी दिएका थिए।

तर, यसको ठीक एक दिनपछि एसके प्रधान, भारती तामाङ आदिले फेरि प्रताप खातीलाई नै पार्टीबाट पूर्ण रूपले निष्कासित गरिएको घोषणा गर्दै प्रताप खातीले पार्टीको हिसाब-किताब, पार्टीको लेटरहेड आदि शीघ्र बुझाउनुपर्ने बताएका छन्।

प्रधानले भने, “प्रताप खातीसित सबै मिलाएर 4 जना मात्रै छन्, जसले आफैलाई अरिजिनल पार्टीका नेता भन्छन्। अरिजिनल पार्टीका नेतृत्वहरू भारती तामाङ, एस.के. प्रधान, लक्ष्मण प्रधानहरू हुन्। यसैले अहिले पनि चुनाउ आयोगले भारती तामाङको नेतृत्वमा नै रहेको गोर्खालीगलाई मान्यता दिइरहेको छ।

उनलाई प्रताप खातीले पार्टीको प्राथमिक सदस्यताबाट पनि निष्कासित गरेको घोषणाबारे प्रश्‍न गर्दा प्रधानले भने, “त्यस्तो घोषणालाई टेरपुच्छर लगाउदिनँ। उल्टा हामी उनलाई पार्टीबाट निष्कासित गर्छौं। र अब प्रताप खाती गोर्खालीगका सदस्य पनि होइनन्। यसैले जनता साथै गोर्खा लीगका सदस्यहरूले प्रताप खातीको कुरा सुन्नु पनि हुँदैन अनि पत्याउनु पनि हुँदैन।’’

अबउसो प्रताप खातीले गोर्खा लीग पार्टीको नाम, झण्डा आदिको प्रयोग गरे, उल्टा उनीविरुद्ध कानुनी कारबाही गरिने एस.के. प्रधानले बताएका छन्।

“हिजो उनले पार्टी कार्यालयको ताला तोड़ेका छन्, अब पार्टी कार्यालयभित्रका कागज-पत्रहरू के कति हराएको छ, त्यसमाथि पुलिसले जाँच गर्न आवश्यक छ’’ उनले थपे, “यसैको माग गर्दै आज हामीले दार्जीलिङ सदर थानामा एक प्राथमिकी दर्ता गरेका हौं।’’ यसरी नै आफूहरूलाई बङ्गालका दलालहरू हुन् भन्ने प्रताप खालीले लगाएको आरोपको तीव्र आलोचना गर्दै यसको प्रमाण पेश गर्नुपर्ने माग पनि उनले गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here