एसडीएफको आरोप-“सिक्किममा तालिबानी शासन बढ़ेर गएको छ”

0
1060

गान्तोक, 7 जुलाईः विद्यार्थी तथा सामाजिक कार्यकर्ता अरुण लिम्बू तथा उनको परिवारमाथि भएको आक्रमणलाई कड़ा शब्दमा निन्दा गर्दै वर्तमान सरकारको कार्यकालमा सिक्किममा सङ्गठित अपराध फस्टाएको एसडीएफ पार्टीले आरोप लगाएको छ।

बुधवार इन्दिरा बाइपासस्थित एसडीएफ मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टी प्रवक्ता जेबी दर्नालले राज्यमा अपराधीलाई बचाउन प्रशासन सामेल रहेकोले राज्य प्रायोजित अपराध संस्कृति विकास भएर गएको आरोप लगाए।

राज्यमा कानून व्यवस्था पूर्ण रूपमा असफल भएको साथै शान्ति भङ्ग भएको उनले दाबी गरे।

तिमी-नाम्फिङ निर्वाचन क्षेत्रको टोकल-बर्मेकनिवासी सिक्किम विश्वविद्यालयका विद्यार्थी तथा सामाजिक कार्यकर्ता अरुण लिम्बू तथा उनकी बहिनी, भाउजु र पितामाथि एसकेएम पार्टीका सीएलसी संयोजक छिरिङ भोटियालगायत अन्य सातजनाले घरमै गएर प्राणघातक आक्रमण गरेको आरोप छ।

यस विषयलाई लिएर अरुण लिम्बूले तिमी थाना प्राथमिकी दर्ता गरेका छन्। तथापि लिम्बूले गरेको प्राथमिकीमा पुलिसले जुन धारा लगाएर मुद्दा दर्ता गर्‍यो, त्यसमा एसडीएफ पार्टीलाई चित्ता नबुझेको भन्दै पुलिसले यस मुद्दामा पनि आरोपीलाई बचाउने प्रयास गरेको एसडीएफले आरोप लगाएको छ।

2019 को विधानसभा चुनाउ परिणामपछि भएका विभिन्न घटनाका उल्लेख गर्दै एसडीएफ प्रवक्त जेबी दर्नालले राज्यमा ‘तालिबानी’ शासन बढ़ेर गएको बताए।

उनले भने, “अरुण लिम्बूले आम जनताको पक्षमा आवाज उठाउँदा घरमै गएर उनीमाथि दिउसै प्राणघातक हमला गर्नु भनेको तालिबानी शासनभन्दा कमको घटना होइन; किनभने यहाँ सत्तारूढ़ पार्टीका कार्यकर्ताको नाम आएको छ। हेपिएका र थिचिएका जनताको पक्षमा बोल्दा अरुण लिम्बूमाथि आक्रमण भएको छ। अरुण लिम्बूले गिटी माफिया र बलुवा माफियाविरुद्ध आवाज उठाउँदा उनीमाथि आक्रमण भएको छ, किनकि राज्य  सकारले माफियालाई संरक्षण दिएकाले यस्तो हुँदैछ।”

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसडीएफ प्रवक्ता दर्नालले राज्य प्रशासनले विपक्षी कार्यकर्तामाथि भएका विभिन्न आक्रमणका मामिलामा एकै जनालाई पनि पक्राउ गर्न नसकेको आरोप लगाएका छन्।

साथै पुलिसले सरकारी पक्षमा भएकालाई भने पनि अपराधको छुट दिएको गम्भीर आरोप लगाए।

सरकारी पक्षका कार्यकर्ताले कारबाही गरेको भए पनि त्यो ‘अनलाइन पक्राउ’ र ‘अनलाइन बेलमा’ सीमित रहेको बताए।

यसका साथै एसडीएफ प्रवक्ता जेबी दर्नालले अरुण लिम्बूमाथि भएको हमला अन्तिम होइन भन्दै सरकारपक्षले अझ धेरै यस्ता हमला गराउँछ भन्ने दाबी पनि गरे।

पत्रकार सम्मेलनलाई एसडीएफका युवा सचिव प्रकाश गुरुङले पनि सम्बोधन गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here