गान्तोक, 7 जुलाईः वन विभागको आयोजनमा आज राज्यस्तरीय ‘धरती मातालाई एक दिन’ कार्यक्रम पश्चिम सिक्किमको देन्तममा पालन गरियो।
यसअवसरमा मुख्य अतिथिका रूपमा उपस्थित रहेका राज्यका मुख्यमन्त्री पीएस पीएस गोले देन्ताम स्कूल परिसरमा बिरुवा रोपेर ‘धरती मातालाई एक दिन’ कार्यक्रम पालन गरे।
यसैगरी कार्यक्रममा राज्यका मन्त्रीगण, विधायकहरू, वन विभागका अधिकारी र कर्मचारी, अन्य विभागीय अधिकारी र नागरिकहरू पनि उपस्थित थिए।
कार्यक्रमका अवसरमा वन संरक्षण पुरस्कार 2021 सोम छिरिङ लेप्चा, पिर्थीमान लिम्बू र जीवन छेत्रीलाई प्रदान गरियो।
यसरी नै विभागले आयोजन गरेका प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत गरियो भने विभिन्न व्यक्तित्वलाई सम्मानित गरियो।
कार्यक्रममा अवसरमा बोल्दै मुख्यमन्त्री गोलेले वर्तमानमा चर्चामा रहेका विभिन्न मुद्दामाथि सरकारको अड़ान स्पष्ट पारे।
एडहक शिक्षकको मुद्दामाथि बोल्दै मुख्यमन्त्रीले उनीहरूसित बैठक डाकेर कुराकानी गर्ने आश्वासन दिए।
उनले भने, “राज्यमा एडहक शिक्षकका लागि 2300 पोस्ट सिर्जना गरिएको छ र यसमा एनसीटीई मापदण्ड पूरा गर्ने उम्मेदवारले निश्चित रूपमा नियुक्ति पाउनेछन्।“
यसरी नियुक्ति पाएका शिक्षक आठ वर्ष पूरा गरेपछि स्थायी हुने मुख्यमन्त्रीले जानकारी गराए।
यस्ता शिक्षकहरूले वार्षिक रूपमा प्रदर्शन प्रतिवेदन बुझाउनुपर्नेछ तर अन्तरवार्तामा बस्नुपर्ने नपर्ने पनि गोलेले बताए। तथापि उनीहरूले पहिले नियुक्ति पाएका स्थानमा नै आठ वर्ष बिताउनुपर्ने पनि मुख्यमन्त्रीले बताए।
मुख्यमन्त्री पीएस गोलेले सिक्किम-दार्जीलिङ एकीकरण मुद्दाको निन्दा गर्दै भने, “सिक्किम भारत अभिन्न अङ्ग हो अनि हामी भारतको 22औँ राज्यको रूपमा नै रहन चाहन्छौँ। हाम्रो स्थिति र कानून फरक छन् र हामी यसकै आधारमा बाँच्न चाहन्छौँ।“
यस अवसरमा मुख्यमन्त्री गोलेले पूर्व मुख्यमन्त्री पवन चामलिङलाई विधानसभामा उपस्थिति दिएर बहस र छलफलमा भाग लिन चुनौती दिए।
यदि पूर्व मुख्यमन्त्री पवन चामलिङले आफैलाई एक दूरदर्शी नेता मान्छन् भने उनले घरमा बसेर लेख लेख्नु भन्दा विधानसभामा आएर छलफलमा भाग लिनु उचित हुने गोलेले बताए।
उनले भने, “मेरो मनमा पनि सधैँ पवन चमालिङले मलाई मार्गदर्शन गरून् र हाम्रो सरकारलाई अझ राम्रो बनाउन मद्दत पुगोस् भन्ने भावना आउँथ्यो, तर उनको मनोवृत्ति देखेर म निराश भएँ। उनले देखाएको व्यवहारले उनी आफ्नो हार स्विकार्न सक्दैनन् भन्ने प्रमाणित गरेको छ।“
यसअवधि मुख्यमन्त्री गोलेले गान्तोकको ग्रीन जोनलाई डिनोटिफाइ गर्ने र साइटहरू आवण्टन गर्ने काम पूर्व सरकारले गरेको आरोप लगाए।
स्वस्थ वातावरण र प्रकृतिको महत्त्वमाथि प्रकाश पार्दै उनले कोविड महामारीका समय प्रकृतिले मानिसलाई बाँच्न सहयोग पुर्याएको बताए।
उनले पर्यावरण संरक्षण र प्रकृतिलाई जोगाउन सहकार्य हुनुपर्ने आग्रह गरे।
आगामी वर्षदेखि 7 जुलाईमा पालन गर्ने कार्यक्रमका अवसरमा सरकारले दिनभर वाहनको आवागमनलाई रोक्ने योजना बनाएको जानकारी दिए।
यसरी नै वन विभागसँग सम्बन्धित प्रत्येक कर्मचारीलाई यो उत्सव पालन गर्न सम्भव बनाएकोमा बधाई दिए।
सार्वजनिक सहभागितामा जोड दिँदै मुख्यमन्त्रीले कुनै पनि विषयलाई सफल बनाउन सहकार्य जरुरी रहेको र सरकार र सम्बन्धित विभागहरूको एक्लो सहभागिताले मात्र सम्भव नहुने बताए।
पर्यावरण क्षेत्रमा जागरूकता फैलाउने कार्यमा मध्यस्तकर्ता बन्न मुख्यमन्त्रीले विद्यार्थीहरूलाई आग्रह गरे।
अर्कोतर्फ लिम्बू तामाङ समुदायको विधानसभामा सीट आरक्षण, 12 समूदायको जनजाति माग र कर्मापा मुद्दामा आफ्नो सरकारले कड़ाइका साथ काम गरिरहेको मुख्यमन्त्रीले बताए।
यी दीर्घलम्बित मुद्दा समाधान नहुनुमा पूर्वको एसडीएफ सरकार दोषी रहेको उनले ठहर गरे।