पहाड़का कलेजहरूमा घट्यो शीतकालीन विदा

0
1383

दार्जीलिङ, 8 सेप्टेम्बरः चोयस बेस्ड क्रेडिट सिस्टम (सीबीसीएस) अन्तर्गत पहाड़का कलेजहरूमा शीतकालीन विदालाई यथावत राख्नुपर्ने मागपछि उत्तर बङ्गाल विश्वविद्यालयसँग आबद्ध कलेजहरूले शीतकालसँग सम्बन्धित मागहरूमा राहत पाएका छन्। एनबीयूले करिब 40 दिनको शीतकालीन विदा प्रदान गरेर यो राहत दिएको हो।
शनिवार लालकोठीमा आयोजित एउटा बैठकमा यसप्रकारको निर्णय गरिएको छ। बैठकमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) अनि एनबीयू, विश्वविद्यालय अनुदान आयोग (युजीसी) र पहाड़का कलेजहरूका प्राचार्यहरूको उपस्थिति रहेको थियो। बैठकमा सीबीसीएसका समस्याहरूबारे विस्तृत रूपमा चर्चा गरिएको छ।
 बैठकमा उपस्थित जीटीए अध्यक्ष विनय तामाङले भने,“पहाड़का कलेजहरूले शीतकालीन छुट्टी र शीतकालका परीक्षाका समयबारे हामीसमक्ष विभिन्न मुद्दाहरू उठान गरेका छन्। त्यसबेला प्रचण्ड जाड़ो हुने हुनाले त्यो समय शिक्षक र विद्यार्थी दुवैलाई अध्ययनमा समस्या पर्नजान्छ। बैठकमा समस्या समाधान गर्नेबारे हामीले आम सहमति र निर्णय गरेका छौं।” “सीबीसीएसअन्तर्गत कलेजहरूका शीतकालीन सत्र विषयमा विद्यार्थी, शिक्षक तथा प्रशासनबाट मुद्दा उठान गरिएको छ। एउटा माग शीतकालीन छुट्टी कम्तीमा 45 दिन हुनुपर्छ भन्ने हो। तर हामीले प्रत्यक्ष शिक्षणमा प्रत्येक सेमिस्टारमा 90 दिनको श्रेणी हुनुपर्छ भन्ने युजीसीको अधिसूचनाको पनि अनुपालन गर्नुपर्छ। त्यसकारण 40 दिन मात्र शीतकालीन विदा दिने निर्णय गरेका छौं, जसमा कलेजका प्राचार्यहरू पनि सहमत भएका छन्। यसले समस्याको समाधान गर्नेछ”,एनबीयूका उपकुलपति एस भट्टाचार्यले भने।
एक महिनाको परीक्षालाई केवल 11 दिनमा छोट्याएर यो व्यवस्था मिलाइएको उनले जानकारी दिए। कलेजहरूका नयाँ समयतालिका अनुसार, पहिलो सेमिस्टारको परीक्षा 1 दिसम्बरदेखि 11 दिसम्बरभित्र हुनेछ अनि दोस्रो सेमिस्टारको श्रेणी 13 दिसम्बरदेखि 22 दिसम्बरसम्म चल्नेछ। 23 दिसम्बरदेखि शीतकालीन विदा हुनेछ। त्यसपछि पुनः 2 फरवरीदेखि श्रेणी लाग्नेछ। सीबीसीएसले तीन वर्षमा 6 वटा सेमिस्टार सञ्चालन गर्छ। प्रत्येक सेमिस्टारमा नब्बे दिन पढ़ाइ भएपछि त्यसको परीक्षा हुन्छ। 
उल्लेखनीय छ, गत महिना विद्यार्थीहरूले शीतकालीन विदा पहिलाको जस्तै हुनुपर्ने माग राखेका थिए। नयाँ सेमिस्टार व्यवस्थाबाट छुट्टी घट्नसक्ने अनि जाडोमा अध्ययन गर्न समस्या हुने विद्यार्थीहरूले चिन्ता प्रकट गरेका थिए। बेलुकी 5.30 बजेसम्म परीक्षा सञ्चालनमा पनि विद्यार्थीहरूको आपत्ति रहेको थियो।  शीतकालमा पहाड़मा ठण्डाको प्रकोप बढ्ने हुनाले विद्यार्थीहरूले चिन्ता जताएका थिए। 
आजको बैठकमा परीक्षा अपरान्ह 3.30 बजेसम्म पूरा गर्ने अनि विद्यार्थीहरूलाई आ-आफ्ना घर फर्कन सहज बनाउने निर्णय भएको छ। 
दार्जीलिङमा शीतकालमा अत्यन्त जाड़ो हुन्छ। तथापि हामीले 90 दिनको शिक्षण दिवस पालन गर्नैपर्छ। बाँकी नब्बे दिनमा परीक्षा, मार्कसीटहरूको मूल्याङ्कन तथा अन्य चीजहरू पर्दछन्। शिक्षकहरूलाई उत्तर पुस्तिका जाँच्न र परिणाम घोषणा गर्न पनि आवश्यक हुन्छ। त्यसैले हामीले 40 दिनको विदालाई समाधानको उत्तम विकल्प मानेका छौं”, एनबीयूका उपकुलपतिले भने।
यस वर्षदेखि एनबीयूले विद्यार्थीहरूलाई उनीहरूका घरछेउको केन्द्रमा प्राक्टिकल परीक्षा दिनसक्ने छुट प्रदान गरेको छ जबकि यसअघि विभिन्न ठाउँका अन्य कलेजहरूमा गएर यो परीक्षा दिनुपर्दथ्यो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here