विमलपन्थी गोजमुमोले भन्यो – विनय तामाङ पुलिसले रोकेर होइन, जनताको सामना गर्ने साहस नभएर कार्यक्रमस्थल नगएका हुन्

0
988
आइतवार दिल्लीमा विनयपन्थी गोजमुमोद्वारा आयोजित सांस्कृतिक कार्यक्रम। 

गान्तोक, ८ अक्टोबर :  विनय तामाङले घृणित राजनीति गरिरहेको विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) -ले आरोप लगाएको छ। आइतवार दिल्लीमा हुने भनिएको कार्यक्रम रद्द भएपछि विनय तामाङले दिएको प्रतिक्रियामाथि प्रतिक्रिया व्यक्त गर्दै विमलपन्थी गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समितिका उपाध्यक्ष अनिल लोप्चनले यस्तो आरोप लगाएका हुन्।

उनले सोमवार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “विनय तामाङ पुलिसले रोकेर होइन , तर दिल्लीका आक्रोशित जनताको सामना गर्ने साहस नभएकोले कार्यक्रमस्थल नगएका हुन्।’’ 
युवा मोर्चा नेता लोप्चनले विज्ञप्तिमा लेखेका छन्, “७ अक्टोबरमा दिल्लीमा विनय तामाङलाई दिल्ली पुलिसले बोल्न नदिएको भन्दै यसको पछि सांसद एसएस अहलुवालियाको हात भएको आरोपमा दार्जीलिङमा उनको पुत्ला दहन गर्नु र भाजपालाई दोष्याउनु आगामी चुनाउलाई प्रभावित पार्ने षड़यन्त्र मात्र हो। वास्तवमा विनय तामाङ गुटका विनोद घलेलाई पुलिसको पत्र गत ६ तारिख नै प्राप्त भएको थिएछ, तर उनीहरूले ७ तारिकको दिन सांसदको नाम मुछेर विरोध प्रदर्शन गर्नु भनेको एउटा नियोजित राजनीतिक चाल मात्र हो।’’
विनय तामाङले घृणित राजनीति गरिरहेको आरोप
भाजपा नेतृत्वमा केन्द्र सरकारले गोर्खा समुदायका ११ जातगोष्ठीलाई अनुसूचित जनजातिको दर्जा दिनु आँटेको थाह पाएर आफ्नो कुर्सी बचाउन विनय तामाङले यस्तो घृणित राजनीति गरेको अनिल लोप्चनको आरोप छ।  तामाङको यस्तो राजनीति जातीय हितको पक्षमा पटक्कै नरहेको उनको भनाइ छ। विज्ञप्तिमा युवा नेता लोप्चनले भनेका छन्, “दार्जीलिङको सपना पूरा गर्न केवल केन्द्रले मात्र सक्छ, राज्यले सक्दैन। राज्यले गोर्खाल्यान्ड केन्द्रको अधीनको कुरा हो भनेदेखि नै हामीले केवल केन्द्रलाई रिझाउने काम गरेका हौं। केन्द्रले जब गोर्खाहरूको पक्षमा केही राम्रो गर्ने अठोट गर्दैछ, त्यतिबेलै प्रधानमन्त्री, भाजपा अध्यक्षहरूको विरोध गर्दै सांसदको पुत्ला जलाउनु गोर्खाको निधारमा खरानी दल्नु हो।’’
सांसदको हात रहेको प्रमाण गर्न विनयलाई तीनदिनको समय
आइतवार दिल्लीमा स्थापना दिवस कार्यक्रम पालन गर्न र बोल्न नपाएपछि विनय तामाङले यसका लागि दार्जीलिङका सांसद एसएस अहलुवालियालाई दोष्याएका थिए। अहलुवालियालाई दोष्याउने क्रममा उनले आफ्नो कार्यक्रम रद्द गर्न मन्त्रालयबाटै पुलिसलाई आदेश जारी भएको र एनसीयुआईका प्रबन्धकलाई समेत चेताउनी दिएको आरोप लगाएका थिए। विनय तामाङको यस्तो आरोपप्रति अनिल लोप्चनले तीखो प्रतिक्रिया व्यक्त गरेका छन्। उनले यो आरोपप्रति विनयलाई चुनौती दिँदै लेखेका छन्, “ दिल्लीमा पुलिस कमिश्नरेटबाट जारी पत्रमा सांसद अहलुवालियाको हात रहेको पुष्टि विनय तामाङले गर्नु सक्छन् भने आगामी तीन दिनभित्रमा गरेर देखाऊन्।’’
विनयको घोखाले दिल्लीवासी रूष्ट रहेको दाबी
विनय तामाङले गोर्खा जातिलाई धोखा दिएको आरोप लगाउँदै यो धोखाको कारण अधिकांश दिल्लीवासी गोर्खाहरू रूष्ट बनेको लोप्चनको दाबी गरेका छन्। यसको प्रमाण हिजो दिल्लीवासी गोर्खाहरूले गरेको विरोध नै रहेको उनको भनाइ छ। विमलपन्थी नेता अनिल लोप्चनले लेखेका छन्, “उनीहरूले (दिल्लीवासी गोर्खाहरूले) हिजो विनय तामाङको कार्यक्रमस्थल र बङ्ग भवन अघि विरोध गरेको सोशल मीडियामा लछेप्रै भिडियो र फोटोहरू आएका छन्। विनय तामाङ कार्यक्रम गर्ने अनुमति नपाएर होइन, तर दिल्लीको आक्रोशित जनतालाई सामना गर्ने साहस नभएको कार्यक्रम नगएका हुन्।’’  
विमलपन्थी युवा मोर्चाका उपाध्यक्ष अनिल लोप्चन।
विनय तामाङलाई अनिल लोप्चनको प्रश्न
विज्ञप्तिमा विमलपन्थी युवा नेताले गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-का बोर्ड अव् एड्मिनिस्टेटर (बीओए) अध्यक्ष एवं गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो गुटका अध्यक्ष विनय तामाङलाई केही प्रश्न गरेका छन्। उनले विज्ञप्तिमा लेखेका छन्, “विनय तामाङले कुमानीस्थित नयाँ बस्तीको जनसभामा भनेझैं उनको कार्यक्रममा गाउने भनिएका घोषित गायकहरू दिल्ली आएका थिए। उनीहरूलाई घोषित स्थानमा कार्यक्रम गर्न नलगाएर दिल्लीको आरके पुरमको तमिल सङ्गम भवनमा कार्यक्रम गरायो। त्यहाँ विनयले झण्डा पनि पठाएका थिए। यदि उनले भनेझैं दिल्लीमा गएर जवाफ दिने भए उनले त्यहाँ त्यस मञ्चबाट किन जवाफ दिएनन्? हामी त्यहाँ गाउने कलाकारहरूलाई केही भन्दैनौं।  कसैले बोलाए पनि उनीहरूले कार्यक्रम गर्नुपर्छ। किनभने उनीहरू प्रोफेशनल गायक गायिका हुन्, तर अनुमति पाएको थिएन अर्थात् दिल्लीले अनुमति नदिएको भए विनय गुटले झण्डा बोकेर कार्यक्रम कसरी गऱ्यो? झण्डाले उक्त कार्यक्रम विनय गुटको भएको प्रमाणित गर्छ कि गर्दैन? कार्यक्रमचाहिँ गर्ने तर दिल्लीवासी गोर्खाहरूको डरले एक कुनामा बसेर अनुमति दिएन भन्दै भाजपालाई गाली गर्नु, पुत्ला जलाउनु केवल गोर्खाको भाग्य मेट्ने विनय तामाङको पोलिटिकल स्टन्ट मात्र हो।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here