शारीरिक रूपले दुर्बलहरूका लागि प्रेरणा दार्जीलिङका अङ्कित प्रधान

0
1553
अङ्कित प्रधान।

दार्जीलिङ, 8 नोभेम्बरः दार्जीलिङ निवासी 23 वर्षे अङ्कित प्रधान शारीरिक रूपमा दुर्बलहरूका लागि एक प्रेरणाका उदाहरण बनेका छन्।

अङ्कित प्रधान 3 अप्रेल 2015-को दिन सिलगढ़ीमा एक सड़क दुर्घटनामा परेका थिए। उनी सवार बाइकलाई ट्रकले हिर्काएको कारण उनको मेरुदण्ड (स्पाइनल कर्ड) भाँचिएको थियो। जसको कारण अझैसम्म पनि उनी ह्वील चियरमा हिँड़डुल गर्न बाध्य बनिरहेका छन्। तरै पनि उनको आँट र जोशको कारण उनलाई आफ्नो मेरुदण्डको रोगले लाचार बनाउन सकेको छैन।

हाल अङ्कितले इण्डियन स्पाइनल इन्जुरी सेन्टर बास्केट बल टीमबाट बास्केट बल प्रतियोगिताहरूमा भाग लिइरहेका छन् भने आउँदो 8 दिसम्बरको दिन दिल्लीमा आयोजना हुने 5 र 10 किलोमिटरको म्याराथनमा पनि भाग लिने तय गरेको बताएका छन्।

यसैबीच, उनले आगामी 16 वा 17 नोभेम्बरको दिन स्थानीय गोर्खा दुःख निवारक सम्मेलन भवनमा मेरूदण्ड रोगीहरूका लागि एक सचेतना कार्यक्रमको आयोजना गर्ने पनि योजना बनाएका छन्।

गोर्खा वुमन्स वेलफेयर फोरमको सहयोगमा आयोजना गरिने यस सचेतना कार्यक्रममा अङ्कितले आफूजस्तै मेरुदण्ड रोगीहरूलाई मेरुदण्ड रोगको सही उपचार कहाँ गराउनुपर्ने, यसको देखरेख कसरी गर्नुपर्ने आदि विषयबारे जानकारी गराउने भएका छन्। ताकि दार्जीलिङ पहाड़का कुनै पनि मेरुदण्ड रोगी गलत मार्गदर्शनको शिकार हुन नपरोस् अनि उनीहरूले सही उपचारको सुविधा पाउन सकोस्।

“मेरुदण्ड रोगी मात्रै होइन, अन्य विभिन्न रोगीहरूले पनि धेरै समय गलत मार्गदर्शन पाउने गरेका छन्, जसको कारण रोगीहरूले दुःखसँगै अधिक आर्थिक खर्चको पनि सामना गर्न परिरहेका छन्”, अङ्कितले थपे, “यसै विषयमा यस्ता रोगी वा रोगीका परिवारहरूलाई सुझाउ दिने उद्देश्य छ।”

उनले दार्जीलिङ पहाड़मा पनि धेरै ह्विल चियर रोगी रहेको बताउँदै उनीहरूलाई आँट गरेर बाहिर निस्किने अनि विभिन्न खेलकुदमा भाग लिने पनि आह्वान गरेका छन्।

उनले भने, “दिल्लीको इण्डियन स्पाइनल इन्जुरी सेन्टरमा बङ्गालबाट धेरैजना मेरुदण्ड रोगी छन्, तर बास्केट बल तथा अन्य खेलकुद कार्यक्रमहरूमा मबाहेक अन्य कसैले पनि भाग लिएका छैनन्। यस सेन्टरको बास्केट बल टीममा बङ्गालबाट म एकलै छु, अन्य सबै अरूरू राज्यकाहरू छन्।”

यसैले यदि दार्जीलिङ पहाड़बाट यस्तै खेलकुदका लागि मेरुदण्ड रोगीहरू अघि आए उनले उनीहरूलाई उचित मार्गदर्शन गर्ने सोच बनाएको पनि बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here