तृणमूल कङ्ग्रेस सामेल हुनु जनताका सपना र आकाँक्षालाई तिलाञ्जलि दिनु हो

0
1057

राजु बिष्ट

सांसद, दार्जीलिङ।

दार्जीलिङ लोकसभा निर्वाचन क्षेत्रका जनताका आकाँक्षाहरू पूरा गर्न म सक्षम हुनेछु भन्ने विश्वास गरेर नै उनीहरूले आफ्नो प्रतिनिधिको रूपमा मलाई संसद पठाएका हुन्।

निर्वाचित भएको दिनदेखि नै त्यो लक्ष्य हासिल गर्ने दिशामा मैले पूरा इमानदारी र सङ्कल्पका साथ काम गर्दै आएको छु। दार्जीलिङ लोकसभा सिटबाट लोकसभा सांसदको हैसियतले छोटो समयावधिभित्र हाम्रा मुद्दाहरूका समाधानका लागि मैले हरेक मञ्च र सम्बन्धित  ढोका ढकढकाएको छु।

हाम्रा मागहरू संवैधानिक तरिका र संसदद्वारा मात्र पूरा हुन सक्दछन् भनी हाम्रा जनताले बुझ्नु अत्यन्तै महत्त्वपूर्ण छ। हाम्रा सबै मुद्दा र समस्याको समाधान संविधानमा निहित छ।

जनता साक्षी छन्, अत्यन्तै छोटोअवधिमा हाम्रो सरकारले अनुच्छेद 370 रद्द गर्ने, बोडोल्याण्ड समस्याको समाधान गर्ने, तीन तलाकलाई समाप्त गर्ने, अल्पसङ्ख्यक शरणार्थीहरूलाई न्याय र सम्मान दिलाउन नागरिकता संशोधन कानून (सीएए) लागू गर्ने, श्रम सुधारहरू लागू गर्ने तथा आजसम्मका कुनै पनि सरकारले समाधान गर्ने प्रयास नै नगरेका विवादित मुद्दाहरूको समाधान गर्ने काम गरेर देखाएको छ। आगामी दिनहरूमा, दार्जीलिङ पहाड़, तराई र डुवर्ससम्बन्धी मुद्दाहरूको पनि यसैप्रकार अवश्य नै समाधान हुनेछ भन्ने कुरामा म विश्वस्त छु।

म स्वयं गोर्खे सन्तान भएको हुँदा, म पूर्ण जिम्मेवारीका साथ भन्दछु, अहिलेसम्म  भाजपा एक मात्र यस्तो पार्टी हो, जसले हाम्रो क्षेत्रका जनताका आकाँक्षाहरूलाई सम्मान गरेको छ र तिनलाई साकार पार्ने दिशामा अग्रसर छ।

दार्जीलिङ पहाड़, तराई र डुवर्सका जनताका दीर्घकालीन मागहरूका स्थायी राजनीतिक समाधान तथा छोड़िएका 11 गोर्खा जातगोष्ठीलाई जनजातिको दर्जा प्रदान गर्न वचनबद्ध भाजपा एक मात्र पार्टी हो, र पार्टीले हामीसित गरेको वाचा अवश्य पूरा गर्नेछ भन्ने आश्वासन म दिन सक्दछु।

गोजमुमोका नेताहरूको पश्चिम बङ्गालमा सुरक्षित फर्काइको बाटो निकाल्न उनीहरूका आफ्नै बाध्यताहरू छन् भनी म बुझ्दछु। म उनीहरूले रोज्नुभएको बाटोमा शुभेच्छा दिँदछु तर, तृणमूल कङ्ग्रेसले गोर्खाहरूसित कहिल्यै न्याय गर्ने छैन भन्ने कुरा पक्का छ, र तृणमूल कङ्ग्रेसमा सामेल हुनुको अर्थ प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जनताका साझा सपना तथा आकाँक्षाहरूलाई तिलाञ्जलि दिनु हो।

यसै कारणले, तृणमूल कङ्ग्रेसको तानाशाहीमा पीड़ित साधारण गोर्खाहरूले ममता ब्यानर्जीलाई फेरि मुख्यमन्त्रीको रूपमा कहिल्यै पनि भोट दिने छैनन् भनी म आश्वस्त छु।  तानाशाहीपूर्ण तृणमूल कङ्ग्रेस तथा ममता ब्यानर्जीप्रति गोर्खाहरूको मनमा पटक्कै सम्मान छैन, र लोकतन्त्रमा कसैले पनि जन-भावनालाई हलुङ्गो रूपमा लिन सक्दैन।

हाम्रा जनता एकबद्ध रहुञ्जेल, धरतीमा कुनै पनि तागतले गोर्खा जातिलाई झुकाउन वा फुटाउन सक्दैन। हामी एकबद्ध हुनु पर्दछ अनि मात्रै हामीमाथि निर्मम तृणमूल कङ्ग्रेस सत्ताद्वारा गरिएको भेदभाव, यन्त्रणा, तानाशाही र अपमानविरुद्ध हामी मिलेर लड़्न सक्नेछौँ।

लामो समयदेखि तृणमूल कङ्ग्रेस सरकारको चिह्नारी नै बनिसकेको ‘विभाजन गर र राज गर’-को (Divide and Rule) रणनीति अब सफल नहोस् भनी हामीले सुनिश्चित गर्नु पर्दछ। जसरी 2019-मा तृणमूल कङ्ग्रेसलाई पराजित गर्न जनता एकबद्ध भएका थिए, त्यसरीनै यो तानाशाही सरकारलाई सधैँका लागि निर्मूल गर्न हामी एकबद्ध रहनु पर्दछ, अनि मात्रै हामीले हाम्रो क्षेत्र र जनताका लागि नयाँ बिहानी र सुनौलो भविष्यलाई स्वागत गर्न पाउनेछौँ। भाजपाले आफ्ना वाचाहरू पूरा गर्नेछ भनी म वचन दिँदछु तथा तपाईंहरूको मुस्कान र एकताको कारण म बन्नेछु।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here