हामीलाई कसैसँग राजनीतिक सम्झौता गर्ने आवश्यकता छैन : चामलिङ

0
1393
मिन्तोकगाङमा पत्रकारहरूसँग कुराकानी गर्दै चामलिङ।

गान्तोक, 9 जनवरी :  एसडीएफ पार्टीलाई अहिलेसम्म कोहीसँग चुनावी सम्झौता गरेर चुनाउ लड्न नपरेको एसडीएफका अध्यक्ष एवं राज्यका मुख्यमन्त्री पवन चामलिङले बताएका छन्। हालमा केन्द्र सरकारसित राज्य सरकारको चिसिएको सम्बन्धमाथि बोल्दै उनले यस्तो बयान दिएका हुन्।

चामलिङले भने, “हामी आफै सक्षम छौं। हामीलाई आगामी चुनाउमा पनि कसैको राजनीतिक सम्झौताको आवश्यकता छैन। केन्द्र सरकारसँग हाम्रो गठबन्धन भनेको चुनाउपछिको गठबन्धन हो। हामीले आफ्नो गठबन्धनको धर्मलाई निभाएका छौं। केन्द्रले निभाउँदैन भने त्यो उनीहरूको विषय हो। हाम्रा दुईजना सांसदले राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)-का सदस्यका रूपमा काम गरिरहेका छन्।”

उनले राज्यमा राज्यमा सिक्किमका छुटेका 11 समुदायलाई जनजातिको मान्यता प्रदान गर्ने विषयमा अध्ययन गर्न आएको टोली सम्बन्धी आफ्नो तीखो विचार पोखे। एक प्रश्नको उत्तरमा चामलिङले भने “त्यो टोलीसित म भेट गर्दिनँ। भेटेर कुनै फाइदा छैन। 11 जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्थ्यो भने पहिला नै गरिसक्ने थियो। चुनाउको समय यो नाटकमात्र हो। अफिसरहरू सिक्किम भ्रमण गरेर रूटिन काम गर्दैछन्। पहिलाको कमिटीको रिपोर्ट के भयो, त्यो अहिलेसम्म सार्वजनिक भएको छैन। यो चुनावी स्टन्टमात्र हो।” 

सोमवार दिल्लीको जन्तर-मन्तरमा भएको हाम्रो सिक्किम पार्टीको धरनामा सिक्किमको जल विद्युत् परियोजनामा 50 हजार करोड़ रुपियाँको घोटाला भएको छ भनी भाइचुङ भोटियाले लगाएको आरोपमाथि उनले बोले।

मुख्यमन्त्री भाइचुङको आरोपलाई सोझै खण्डन गर्दै भने,  “भाइचुङ भोटियाको आरोप नै निराधार छ। सिक्किममा जति पनि जल विद्युत् परियोजनाको काम भएका छन्, ती सबै सरकारले नगरेर निजी विकासकहरूले पीपीपी मोडमा गरेका छन्। त्यसैले यहाँ राज्य सरकारलाई मुछ्नु उचित हुँदैन। सिक्किममा जति पनि जल विद्युत् परियोजनाको विकास भएको छ, ती सबै भारत सरकारको विद्युत् विकास नीति-2003 अन्तर्गत भइरहेको छ। त्यो नीतिले के भन्छ, ती सबै स्पष्ट छन्। त्यसैले भाइचुङ भोटियाले कसैको इशारामा आधारहीन कुरा गरिरहेका छन्।”

मुख्यमन्त्री चामलिङले एसकेएम पार्टीलाई ‘गुण्डा पार्टी’-को संज्ञा दिएपछि सोमवार एसकेएम अध्यक्ष पीएस गोलेले एसकेएम होइन, एसडीएफ नै गुण्डा पार्टी हो भनी दिएको मन्तव्यमाथि मुख्यमन्त्रीलाई प्रश्न गर्दा उनले भने “एसडीएफ पार्टीमा कोही गुण्डा थिए भने ती सबै 2013 मै अहिलेको गुण्डा पार्टीका अध्यक्षसँग गइसकेका छन्। अहिले हाम्रो पार्टी स्वच्छ भएको छ। गुण्डा पार्टीको नाइकेले सबै गुण्डाहरूलाई लिएर पार्टी खोलिसकेका छन्।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here