दार्जीलिङ, 9 जनवरीः राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको आउँदो पहाड़ भ्रमणलाई लिएर बिहीवार हिल तृणमूल कङ्ग्रेसले दार्जीलिङमा सभा गर्यो।
तृणमूल नेता राजेन मुखियाले हिमालीबेलासँग टेलिफोनिक कुराकानीअवधि बताएअनुसार आजको सभामा मुख्यमन्त्रीलाई स्वागत र 22 जनवरीको दिन दार्जीलिङमा नागरिकता संशोधन अधिनियम (सीएए) र राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) विरुद्ध निकालिइने र्यालीमा धेरैभन्दा धेरै सहभागी बन्नुपर्ने विषयमा छलफल गरिएको थियो।
मुखियाका अनुसार आउँदो 21 जनवरीको दिन मुख्यमन्त्री पहाड़ आउँदा तृणमूल कार्यकर्ताहरूले दार्जीलिङ रेलवे स्टेशनअघि स्वागत जनाउनेछन्।
यसपछि भोलिपल्ट अर्थात् 22 जनवरीको दिन सीएए र एनआरसीविरुद्ध मुख्यमन्त्रीको अगुवाइमा दार्जीलिङमा विराट प्रतिवाद र्यालीमा निकालिइनेछ।
जसमा बढ़ीभन्दा बढ़ी सङ्ख्यामा हिल तृणमूल कार्यकर्ताहरूले सहभागी हुनेछन्। उक्त दिन र्यालीलाई मुख्यमन्त्रीले सम्बोधन गर्ने/नगर्ने भन्नेबारे अहिले नै तय भइनहालेको राजेन मुखियाको भनाइ छ।
उल्लेखनीय छ, 21 को अपराह्न ममता दार्जीलिङ आउनेछिन्। 22 जनवरीको दिन सीएए र एनआरसीविरुद्ध दार्जीलिङमा निकालिइने र्यालीको उनले अगुवाइ गर्नेछिन् भने भोलिपल्ट चौरस्तामा मनाइने नेताजी जयन्ती कार्यक्रममा सहभागी हुनेछिन्।
अर्कोतिर, उनले आज दार्जीलिङमा पत्रकारहरूलाई सम्बोधनमा गर्दै सीएए र एनआरसीविरुद्ध पार्टीले राज्यभरि विरोध प्रदर्शन गरिरहेको र आगत दिनमा पनि यो विरोध र्याली जारी रहने बताएका छन्।
“यसबारे हाम्रो पार्टी नेतृ ममता ब्यानर्जीले ठोस निर्णय लिनेछन्”, उनले भने।
यसका साथै उनले केही दिनपछि पार्टीले गाउँ घर पुगेर आफ्नो गतिविधिसँगै सीएए र एनआरसीबारे जनतालाई सचेत गराउने कार्य गर्ने पनि जनाएका छन्।