साहित्यकार डा. शान्ति थापाको निधन

0
1495

गुवाहाटी, 9 जनवरीः साहित्यकार डा. शान्ति थापा अब रहिनन्। आज बिहान करिब 11 बजी गोवाहाटीस्थित निजी वासस्थानमा 59 वर्षको उमेरमा उनको निधन भयो।

जानकारीका अनुसार उनी केही समययता बिरामी थिइन्। कथा लेखनसँग सँगै अनुवाद र सम्पादनमा पनि कुशल डा. शान्ति थापाको निधनले नेपाली साहित्य जगतमा ठूलो क्षति पुगेको छ।

उनका आवर्तन, यो शहर ढल्दैछ अष्टराग (कथासङ्ग्रह) र मोहनी डट कम (उपन्यास) प्रकाशित छन्।

डा. थापाले असमियाबाट अनुवाद गरेको उपन्यास नामघरेका लागि 2002 मा साहित्य अकादमी अनुवाद पुरस्कार प्राप्त गरेकी थिइन्।

त्यस्तै उनले नेपाली कथा यात्रा, नव सापकोटाको अभिनन्दन ग्रन्थ नव सापकोटाको व्यक्ति र कृतित्वजस्ता ग्रन्थको पनि कुशल सम्पादन गरेकी थिइन्।

9 जनवरी 1961- मा गुवाहाटीमा जन्मेकी  डा. शान्ति थापाले नेपाली र हिन्दी भाषामा समान्तर कलम चलाउने गर्थिन्।

यसैबीच, असम नेपाली साहित्य सभाले साहित्यकार डा. शान्ति थापाको निधनमा गहिरो शोक प्रकट गरेको छ। अनेसास सचिव रुद्र बरालले उनको निधनले असमेली नेपाली साहित्यमा ठूलो क्षति पुगेको बताएका छन्।

“डा. थापा नेपाली साहित्य परिषद् तथा असम नेपाली साहित्य सभासँग पनि संलग्न थिइन्। उनको असामयिक निधनमा असम नेपाली साहित्य सभा गहिरो शोक प्रकट गर्दछ”, अनेसासको पक्षमा बरालले शोक समवेदना प्रकट गर्दै भनेका छन्, ”उनीप्रति अनेसास हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। साथै शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दछ।”

डा. शान्ति थापाको निधन असमेली नेपाली साहित्य मात्र नभएर सिङ्गो नेपाली साहित्यकै लागि अपुरणीय क्षति रहेको वरिष्ठ साहित्यकार मातृका गजमेरले बताएकी छन्।

“असमकी वरिष्ठ विदुषी साहित्यकार डा. शान्ति थापको निधन हाम्रो साहित्यका लागि ठूलो क्षति हो। उनी हामीबीच अब सशरीर नरहे तापनि कृतिहरू सधैँ बाँचिरहनेछन्”, साहित्यकार मातृका गजमेरले थपिन्, “बसुधाको पक्षमा हामी उनको असामयिक निधनमा शोक प्रकट गर्दछौँ।”

साहित्यकार मातृका गजमेरले भारतेली नारी स्रष्टाहरूलाई अन्तर्वार्तामा समेटेर महत् कृति नारी स्रष्टा अन्तर्वार्ताहरूमा प्रकाशित गरेकी छन्। यस कृतिमा डा. शान्ति थापाको पनि अन्तर्वार्ता छ।

यसैले पनि उनको सानिध्य डा. शान्ति थापासँग धेरै थियो। “यसपटक नारी स्रष्टा अन्तर्वार्ताहरूको तेस्रो संस्करणमा डा. शान्ति थापाजीका अहिलेसम्म प्रकाशित सबै कृति उल्लेख गरेको छु। तर, आज उनको निधनले धेरै दुःखित बनेको छु। उनीसम्म नारी स्रष्टा अन्तर्वार्ताहरूमा पुऱ्याउनै नसक्ने भए।” 

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here