कालेबुङमा परिवर्तन पदयात्रा र जनसभा सम्पन्नः अनितले भने- गोर्खाल्याण्ड भनेर भोट माग्ने छुइनँ

0
1222

दार्जीलिङ, 9 जनवरीः विनय तामाङपन्थी गोजमुमो महासचिव एवं जीटीए बीओएका अध्यक्ष अनित थापाले आफू स्वयं उम्मेदवार बनेर   विधानसभा चुनाउ नउठ्ने घोषणा गरे। बङ्गाल विधानसभा चुनाउ यसै वर्ष हुँदैछ।

साथै आफ्नो पार्टीको नारा ‘हाम्रो घर-हाम्रै भर’ हुने पनि उनले जनाए।

आज कालेबुङ मोटर स्ट्याण्डमा विनय तामाङपन्थी गोजमुमोको एक जनसभा भएको थियो, जुन जनसभाअघि पार्टी महासचिव अनित थापाको नेतृत्वमा 7 माइलदेखि एक परिवर्तन पदयात्रा पनि निकालिएको थियो।

यो पदयात्रा कालेबुङ मोटर स्ट्याण्डमा आएपछि जनसभामा परिणत भएको थियो, यसै जनसभालाई सम्बोधन गर्दै उनले कालेबुङका जनतालाई पनि आफ्नै भरमा वा आफ्नै खुट्टामा उभिने आह्वान गरे।

“म भोटका लागि आएको होइन अनि आउँदो विधानसभा चुनाउमा म खड़ा पनि हुने छुइनँ। किनभने, हालसम्म धेरैवटा पार्टीले गोर्खाल्याण्ड भनेर आन्दोलन गरे। अनि हाम्रा युवाहरूलाई केवल शहीद बनाए’’, अनितले थपे, “सन् 1986-मा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले गोर्खाल्याण्डको आन्दोलन गरेको थियो अनि 12 सय जनालाई शहीद बनाएको थियो। 2007-मा पनि गोर्खाल्याण्ड भनेर नै विमल गुरुङको नेतृत्वमा आन्दोलन शुरू गरियो, त्यसमा पनि धेरैले आफ्नो ज्यान गुमाउन परेको थियो। तर उपलब्धि केही भएन। केही नेताहरूलाई केवल क्षेत्रीय व्यवस्थाको चौकीमा बसाउने माध्यम मात्रै भए ती आन्दोलनहरू।’’

यसैले कुनै पनि पार्टीले गोर्खाल्याण्ड माग्नु भनेको युवाहरूलाई शहीद बनाउनु मात्रै रहेको पनि उनले बताए।

थापाका अनुसार गोर्खाल्याण्डको मागलाई हाम्रा दिग्गज बुद्धिजीवीहरूले अघि बढ़ाउनुपर्छ।

उनले अझै अघि भने, “दार्जीलिङ पहाड़मा कुनै पनि राजनैतिक पार्टीले गोर्खाल्याण्ड भनेन भने त्यो पार्टीले भोट पाउनै सक्तैन। तर, म गोर्खाल्याण्ड भनेर भोट माग्ने छुइनँ। अनि गोर्खाल्याण्डको नाममा दार्जीलिङ पहाड़का आम जनसाधारणलाई दुःख पनि दिने छुइनँ।’’

अनितले कालेबुङका जनतालाई सम्बोधन गर्दै थप भने, “हामी धेरै ठगियौं, अब जनता ठगिनु हुँदैन। कालेबुङमा स्वाभिमानी मानिसहरू बस्छन्, यहाँको स्वाभिमान बँचाउनुपर्छ। यहाँका व्यापारीहरूले आफ्नो खुशीले व्यापार गर्न पाउनुपर्छ। आफ्नो खुशीले जनता नाच्न पाउनुपर्छ। कलाकारहरूले आफ्नो कला खुल्ला रूपले देखाउन पाउनुपर्छ। कालेबुङमा कालो छायाँ पसेको छ, अब यो कालो छायाँलाई खुर्सानी डड़ाएर भगाउनुपर्छ।’’

उनले आफूलाई पहाड़वासीको भविष्यको चिन्ता छ रहेको तर  सत्ताको भने पटक्कै चिन्ता नरहेको दावी पनि गरे।

“बेरोजगार युवाहरूलाई रोजगार दिने चिन्ता छ। भोट जित्नै कुनै चिन्ता छैन। भाजपाले गोर्खालाई काँटी पनि दिँदैन भन्ने कुरा बुझेर नै हामीले 2017-मा नै त्यस पार्टीको साथ छोड़ेका हौँ। तर 3 वर्ष बितेर विमल गुरुङले बुझे’’, अनितले थपे, “म स्पष्ट कुरा गर्छु, ढाँट छलको कुरा गर्दिनँ, त्यसैले जनताअघि खुल्ला कुरा राख्दै आएको छु। यसैले वर्ष 2017-देखि हामीले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसित मिलेर काम गर्दैछौं, आगामी दिनमा पनि उनीसितै मिलेर काम गर्नेछौं।’’

उनले विमल गुरुङको नाम नलिए पनि उनीमाथि नै कटाक्ष प्रहार गर्दै भने, “अहिले 3 वर्षपछि दार्जीलिङ पहाड़ आएका नेताले सत्ता लिने ढिप्पी गरिरहेका छन्, तर सत्ता जनताले दिन्छन् भन्ने कुरा पनि उनले भुलिसकेछन्। यसैले अब कालेबुङका जनताले जलाउने, तोड़फोड़ गर्ने राजनीतिको सट्टा निर्माण गर्ने राजनीतिलाई साथ दिनुपर्छ।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here