विनयपन्थी गोजमुमोद्वारा उच्च न्यायालयमा याचिका दर्ता : विमल गुरुङहरूलाई गोजमुमोको चुनाउ चिह्न प्रयोग गर्नमा रोक लगाइनुपर्ने माग

0
1750
गोजमुमोको झण्डा (फोटो साभार : फेसबुक)।

दार्जीलिङ, ९ मार्च : गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाले शुक्रबार कोलकाता उच्च न्यायालयमा विमल गुरुङ र रोशन गिरीलाई गोजमुमोको चुनाउ चिन्ह प्रयोग गरी चुनाउ लड़्नमा रोक लगाउने निर्देश चुनाउ आयोगलाई दिने माग गर्दै याचिका दर्ता गरेको छ।

चुनाउ आयोगलाई पटक पटक अनुरोध गर्दा पनि आयोगले विमल गुरुङ र रोशन गिरीको नामलाई क्रमैले अध्यक्ष र महासचिवको स्थानबाट नहटाएको विनयपन्थी गोजमुमोको आरोप छ।

प्राप्त जानकारीका अनुसार न्यायाधीश देवान्शु बसाकले आगामी ११ मार्चको दिन यो याचिकामाथि सुनवाइ गर्नेछन्।

स्मरणरहोस्, चुनाउ आयोगले १७ मार्च २००८ मा गोजमुमोलाई राजनीतिक पार्टीको रूपमा पञ्जीकृत गरिएको याचिकामा बताइएको छ। त्यसबेला नै गुरुङ र गिरी गोजमुमोका अध्यक्ष र महासचिव पदमा चुनिएका थिए।

याचिकामा दाबी गरिएको छ, ‘नियमका अनुसार गोजमुमोको कार्यकारी समितिले प्रत्येक पाँच वर्षमा पदाधिकारीहरूको चुनाउ गर्छ। यद्यपि सन् २०१२-मा पदाधिकारीको चुनाउ हुनुपर्थ्यो, तर गुरुङ र गिरीले कुनै चुनाउ नै नगरी चुनाउ आयोगलाई आफूहरू पुनः अध्यक्ष र महासचिव चुनिएको सूचित गरेका थिए।”

याचिकामा थप भनिएअनुसार सन् २०१७-मा पहाड़मा छुट्टै राज्यको आन्दोलन भयो। र २३ दिसम्बर २०१७ –को दिन मोर्चाको केन्द्रिय समितिले विनय तामाङ र अनिल थापालाई क्रमैले अध्यक्ष र महासचिव चयन गऱ्यो।

“तर त्यसअघि नोभेम्बर २०१७ –मा चुनाउ आयोगलाई एउटा पत्रमार्फत् विमल गुरुङले पार्टीका सदस्यहरूले आफूलाई अध्यक्ष र रोशन गिरीलाई महासचिव चयन गरेको जानकारी गराएका थिए। अनित थापाले महासचिव चयन भएपछि चुनाउ आयोगलाई एउटा पत्र लेखेर विमल गुरुङले झूटो सूचना दिएको बताएका थिए”, याचिकामा थप बताइएको छ, “१ अप्रेल २०१८ –को दिन गोजमुमोको आम चुनाउ सम्पन्न भयो, जुन आम चुनाउले विनय तामाङ र अनित थापालाई पुनः अध्यक्ष र महासचिव चयन गऱ्यो। पार्टीको उक्त  निर्णय लगत्तै चुनाउ आयोगलाई जनाइएको थियो।”

स्रोतले बताएअनुसार विमल गुरुङ र रोशन गिरीहरूले लगातार प्रेस विज्ञप्ति र सोशल मीडियामा पोस्ट गरी आफूहरूलाई अझै पनि उक्त पदमा रहेका दाबी गरिरहेका छन्।

यता, जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै विनयपन्थी गोजमुमोका प्रवक्ता सुरज शर्माले भने, “विमल गुरुङ र रोशन गिरीले गोजमुमोको लेटर प्याड गैरकानुनी ढङ्गमा प्रयोग गरिरहेका छन्। उनीहरू गोजमुमोका अध्यक्ष र महासचिव होइनन्। गुरुङ र गिरीसँग केन्द्रिय समिति पनि छैन।’’

शर्माका अनुसार पार्टीका पूर्व केन्द्रिय सदस्यहरू अहिले धेरजसो विनय तामाङ र अनित थापासँग छन्। पार्टीले विनय तामाङ र अनित थापालाई क्रमैले अध्यक्ष र महासचिव चयन गरिसकेको छ। “विमल र रोशनसँग न त केन्द्रिय समिति छ, नत पार्टी कार्यालय नै’’, उनले थपे, “यसैले चुनाउ आयोगले उनीहरूको नाम गोजमुमोका अध्यक्ष र महासचिव पदबाट हटाइनु पर्छ। साथै गोजमुमोको चुनाउ चिह्न प्रयोगमाथि रोक लगाइनुपर्छ।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here