कालेबुङमा आईटी पार्कको उद्घाटन : विनय तामाङले भने -शान्ति र सद्भावनाका कारण पहाड़मा विकास भइरहेको छ

0
1090
आईटी पार्कको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विनय तामाङ।

कालेबुङ, 9 मार्च : गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-को बोर्ड अव् एड्मिनिस्टेटर (बीओए) -का अध्यक्ष विनय तामाङले शनिबार कालेबुङमा पहाड़को पहिलो सूचना तथा प्रौद्योगिकी पार्कको उद्घाटन गरे। पहाड़मा शान्ति र सद्भावना विद्यमान रहेकोले अहिले विकास भइरहेको उनले बताएका छन्।

आईटी पार्कले 6 हजारभन्दा अधिक मानिसलाई प्रत्यक्ष/परोक्ष  रोजगार दिने जनाउँदै तामाङले उद्घाटनपछि भने, “यदि हामी एकाअर्कामाझ झगड़ा मात्र गरिरह्यौं भने यसले हामीलाई नकारात्मक बाटोमा लैजान्छ। विकास गर्नका लागि हाम्रो विचार सकारात्मक हुनुपर्छ। अहिले पहाड़मा शान्ति र सद्भावना कायम रहेकोले विकास पनि भइरहेको छ।”

पहाड़मा आईटी हब स्थापित गर्ने परिकल्पना मुख्यमन्त्री ममता ब्यानर्जीको रहेको बताउँदै उनले यसका लागि मुख्यमन्त्रीप्रति आभार जताए।

“आईटी हब पहाड़का जनताका लागि उपहार हो। यसका लागि हामीले मुख्यमन्त्रीलाई धन्यवाद दिनुपर्छ। अब हाम्रा युवाहरूले यस क्षेत्रमा काम गर्नका लागि घर छोड़ेर बाहिर जान पर्नेछैन। यसले हाम्रा 6 हजारभन्दा अधिक युवालाई प्रत्यक्ष वा अप्रत्यक्ष रोजगार प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ”, तामाङले भने।

कालेबुङ आईटी पार्क भूटान हाउसनजिक 11 माइलमा अवस्थित छ। पहिलो चरणमा 8600 वर्गफीटमा भवन निर्माण गरिनेछ, जसमा सबै अत्याधुनिक सुविधा हुनेछन्। यहाँ आईटी कम्पनीहरू पनि रहनेछन्।

दोस्रो चरणमा बङ्गाल सरकारले आईटी पार्क निर्माण गर्नेछ, जसका लागि कालेबुङको हिल टप टुरिस्ट लजनजिक अप्पर कार्ट रोडमा 35.10 करोड़को लागतमा पूर्वाधार बनिनेछ।

“राज्यमा अघिबाटै 17 वटा आईटी पार्क स्थापित छन्। यस पार्कसँगै अब हामी भन्नसक्छौं, पहाड़ पनि आईटी अन्तरराष्ट्रिय म्यापमा समावेश भएको छ। आईटीका लागि हाम्रो क्षेत्रको मौसम र जलवायु अनुकूल छ। यो समृद्ध हुनेछ भन्ने हाम्रो विश्वास छ”, जीटीए अध्यक्षले भने।

दार्जीलिङमा अर्को एउटा आईटी हब बनिने अनि त्यसको निम्ति राज्य सरकारले टेण्डर पनि गरिसकेको तामाङ जानकारी दिए।

यसअवसरमा जीटीएका बीओए उपाध्यक्ष अनित थापा, तृणमूल कङ्ग्रेस नेतृ एवं राज्यसभा सांसद शान्ता छेत्री, दार्जीलिङका विधायक अमरसिंह राई, कालेबुङका जिल्लापाल डा. विश्वनाथ, कालेबुङ नगरपालिका अध्यक्ष रवि प्रधान र वेबलका एमडी अनिन्द्य च्याटर्जीलगायत अन्य अधिकारीहरूको उपस्थिति थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here