लेन्डुप खोज्दै भाजपा

0
531
  • रमेश किराँत

सिङ्गो देशसँगै सिक्किम चुनाउको मुखैमा छ। सिक्किममा लोकसभासँगै विधानसभाको चुनाउ हुँदैछ।

पछिल्ला राजनीतिक स्थिति र परिणामहरूलाई हेर्दा आजका दिनसम्म यस हिमाली राज्यमा केन्द्रीय राजनीतिक दलले जनताको मन जित्न सकेको छैन। यद्यपि केन्द्रीय सत्ताले सिक्किमको राजनीति बिथोल्ने कोसिस भने नगरेको होइन। विगतमा पनि गरेको थियो। वर्तमानमा पनि गरिरहेको छ। र, भविष्यमा पनि गर्दैन भन्ने छैन।

सिक्किम सङ्ग्राम परिषद्का अध्यक्ष एवं सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारी राष्ट्रिय दल कङ्ग्रेसबाटै नै थला परेका हुन्।

तत्कालीन समयमा भण्डारी साहब र राज्यपालबिच चर्किएको विवाद सबैले देखेकै हो।

यसैबिच, डीटी लेप्चालाई संसदको माथिल्लो सदनमा पठाएर भाजपाले जीतको खाता अघिबाटै खोलिसकेको छ। अब डीटी लेप्चाबाट सिक्किम र सिक्किमेली जनताले केही पाउने होइनन्। उनी आफैँ पनि भाजपाको ‘रबरस्ट्याम्प’ बाहेक अर्थोक बढी केही हुनेछैनन्। सदनमा के बोल्ने/के नबोल्ने भन्ने भाजपालाई सोध्नैपर्नेछ। यसैले भाजपाले राज्यसभामा सिक्किमको प्रतिनिधित्व गर्नु, आउँदा दिनमा सिक्किमका लागि अवश्यै राम्रो हुनेछैन।

२०१९ को चुनाउले सिक्किममा सत्ता परिवर्तन गऱ्यो।  सत्ताको यो परिवर्तनमा भाजपाले गोप्य रूपमा ठुलो खेल खेल्यो। भाजपाकै भित्री सहयोगमा एसकेएमले सिक्किमको सत्ता पाएको हो। सिक्किममा एसकेएमले सरकार बनाउनसाथै पञ्चायत चुनाउ समेत जित्न नसक्ने भाजपा सिक्किमको विधानसभाभित्र दोस्रो ठुलो दल बन्यो।

भाजपा र सत्तारुढ एसकेएमको गठबन्धनलाई विधानसभाभित्र कसैले रोक्न नसक्ने भएपछि बिनाविमर्श, बिना सही चर्चा भटाभट केन्द्रीय कानुनहरू भित्रिन थाले, जुन सिक्किम र सिक्किमेली जनताकै सुरक्षा र चिह्नारीका लागि घातक हुनेछ कालान्तरमा। अहिले विधानसभा एकप्रकारले केन्द्रीय कानुनलाई सिक्किम छिराउने बाटो जस्तो, सीमित स्वार्थका लागि जनताका भविष्यको गला निमोठ्ने मञ्च जस्तो र ठुल्ठुला व्यवसायीहरूलाई सिक्किमको माटोमा  हुर्काउन मलजल गर्ने ठाउँ जस्तो मात्र बनेको छ।

उहारणकै लागि हेरौँ – सिङ्गो सिक्किमेली नेपाली समुदायमाथि विदेशीको कलङ्क लाग्दा पनि विधानसभाभित्र यस मुद्दालाई लिएर कुनै दह्रो बहस नै हुनसकेन। जनता जति नै सडकमा उफ्रे पनि केही हुने होइन। यस्ता कुराको समाधान र निराकरणका लागि काम गर्ने ठाउँ भनेकै विधानसभा हो।

आफैँले दिएको भोटका कारण जनता आफैँ अहिले ठुलो खाडलमा जाकिएको वर्तमान छ। यो घडी सिक्किम सङ्कटमा छ।

भाजपाले  सिक्किममा आफ्नो गोप्य योजना डोको बुने जस्तो मिहिनसँग अघि बढाइरहेको छ। अब बिट मार्ने तर्खरमा छ। जीवनभर सिक्किमकै लागि बाँच्छु भन्नेहरू पनि कमलकै फूल बोकेर हिँड्न थालेपछि भाजपाको बाटो अझ सहज भएको हो।

सिक्किममाथि भाजपाको अन्तिम योजना के हो, त्यो कसैलाई पनि थाहा छैन। राज्य भाजपाकै नेतृत्वहरूले पनि पार्टीका भित्री योजनाको छनकसम्म पाउँदैनन्, यति कुरा त सत्य हो।

भाजपा सिक्किमको सत्ता कब्जा हत्याउने पक्षमा नरहेको यसले अहिलेसम्म खेलिरहेको राजनीतिबाट अडकल काट्न सकिन्छ।  बरू विस्तारै दोस्रो लेन्डुप तयार गरी गान्तोकको सत्ता शक्ति टिस्टा पारि सार्ने अन्तिम गोप्य योजना तयार पारिसकेको अनुमान लगाउन सकिन्छ । यस्तो भएमा सिक्किम र सिक्किमेली जनताको अवस्था र स्थिति कस्तो बन्ला ? कल्पना गर्नुस्।

चियावालादेखि प्रधानमन्त्री बनेका नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री अटलबिहारी वाजपेयी जस्ता संवेदनशील कवि हृदयका चाहिँ हुँदै होइनन्। कवि हृदय विपरीत बरू उट्पट्याङ निर्णय लिनमा मोदीजी माहिर छन्।

यता बङ्गालमा मुख्यमन्त्री ममता ब्यानर्जी, प्रधानमन्त्री मोदीको टाउको दुखाइ र सत्ता प्राप्तिका लागि ठुलै बाधा बनिरहेकी छन्। मतले पराजित गर्न नसकेको खण्डमा विभाजनको गोटी चलाएर लङ्डो बनाउन चाहन्छन्। यसका लागि सबैभन्दा उत्तम योजना सिक्किममा दोस्रो लेन्डुप काजी जन्माउनु हो, जसले सिक्किम र टिस्टा पारिको मिलनको रथ हाँक्न सकोस्।

दोस्रो लेन्डुप जन्माउन सकेमा टिस्टा पारिका गोर्खालाई गरेका वाचा पनि पूरा हुने, लिम्बू-तामाङ समुदायले पनि आसन आरक्षण पाउने र ममतालाई पनि थला पार्न सकिने। २०२६ नजिकै छ। अर्थात देशले परिसीमन पर्खेर बसेको छ। भाजपाले यसैको साइत पारेर सिक्किममा दोस्रो लेन्डुप तयार पारिरहेको त छैन? यदि यस्तो भए सिक्किमको के होला? बुझेर राजनीति गरौँ। दोस्रो लेन्डुप जन्मलाई रोकौँ। सिक्किम र सिक्किमेली जनताका सुरक्षा र अस्तित्वका लागि अग्रगामी सोचौँ। सिक्किम बचाउने राजनीति गरौँ।

(रमेश किराँत सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ)-को समष्टिस्तरीय समितिका अध्यक्ष हुन्।)

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here