सालबारीनिवासी साहित्यकार ज्ञानेन्द्र खतिवडा क्वान्टिटीमा थोरै, तर क्वालिटीका लेख्छन् उनी। लेख्नभन्दा बढी अध्ययन/साहित्यिक छलफल र बहसलाई महत्त्व दिने उनी स्पष्ट र खरो वक्ताका रूपमा चिनिने साहित्यकारमा पर्छन्। जे बोल्छन्, खरो तर जायज बोल्छन्। जे लेख्छन् पढ़्नै पर्ने लेख्छन्।
दुई दशकभन्दा अघि कविता सङ्ग्रह खस्नै लागेको उज्यालोमा प्रकाशित गराइसकेका यी साहित्यकारले अहिलेसम्म दोस्रो पुस्तक भने प्रकाशन गरेका छैनन्। यद्यपि उनी साहित्यिक कर्ममा भने उत्तिकै सक्रिय रहेकै छन्।
यिनै साहित्यकार ज्ञानेन्द्र खतिवडालाई जनसंवादका सम्पादक शैलेन्द्र छेत्रीले सोधेका पाँच प्रश्न र ती प्रश्नहरूका उत्तर हाम्रा पाठकहरूका लागि यहाँ राखेका छौँ-
अहिलेघरी के लेख्नु/पढ़्नु हुँदैछ?
-अहिलेघरी विशालकाय महाप्रलय नामको उपन्यास पढ्दैछु। उपन्यासकार गगनसिँह थापाको उपन्यास। तर विशाल बनाउनलाई मात्र लेखकको ध्यान गएको जस्तो लाग्दैछ। सुन्दर बनाउनमा लागेका भए उत्तम हुन्थ्यो भन्ने लागेको छ। अन्य पुस्तकहरू पनि पढिरहेको छु। लकडाउनले पुस्तक पढ्ने समय त दियो तर राम्रा राम्रा पुस्तक उपलब्ध हुने औसर दिएन। केही कविता लेख्ने र च्यात्ने काम नै ज्यादाजसो भइरहेको छ यस घडी।
-तपाईंको कविता सङ्ग्रह खस्नै लागेको उज्यालोमा प्रकाशित भएको दुई दशकभन्दा बढ़ी भइसकेछ। यो समयावधि तपाईंले अर्को पुस्तक प्रकाशन गर्नु भएको छैन। के यो पुस्तक प्रकाशनप्रतिको वितृष्णा हो?
-मेरो पुस्तक प्रकाशनमा आएको थियो भन्ने सम्झना पनि शैलेन्द्रजस्ता साहित्यकार/ पत्रकारहरूले सम्झाइदिँदा झल्यास्स हुने स्थिति बन्यो। म थोरै लेख्ने भित्र पर्छु। कविता संग्रह निकाल्ने/ननिकाल्ने बिच लिङ्गे पिङ मच्चिरहेको छ। त्यो पुस्तक प्रकाशनतिरको वितृष्णा नै हो कि….आत्म-विश्वास गुमेको हो – यसै भन्न सकिएन।
-तपाईं साहित्य लेखन/अध्ययनमा मात्र होइन तर शब्द समयमार्फत् यसको विकासमा पनि लागिपर्नु भएको छ। भारतेली नेपाली साहित्यको वर्तमान स्थिति र अवस्थालाई कसरी हेरिरहनु भएको छ?
-साहित्य लेखनका साथसाथै अध्ययनमा रमाउने मानिस परें म। लेखनलाई म साह्रै सिरियस विषय मान्छु। मेरा साहित्यिक गुरु दान खालिङले भन्नुहुन्थ्यो- हेर ज्ञानेन, परफेक्सनमा नउत्री छापामा नजाऊ। म दान गुरुले देख्नुभएको सपनामा पुग्नसक्ने ल्याकत भएको मानिस भने परिनँ। पर्फेक्ससनिष्टहरूमध्ये डा. कुमार प्रधान पनि यसै भन्नुहुन्थ्यो। साहित्यलाई संस्थागत गर्ने कुरो सोधिएको पाएँ। संस्था भनेकै एकजनाबाट हुने कुरो होइन। सालबारी मेरो जन्मस्थान। साँझ पर्दा सानामा म डराउँथें। चोर डाकुहरूको रगरगी हुन्थ्यो। मध्यरातमा कुकुर भुक्दा चोर डाकु नै आयो भने झैं स्थिति हुन्थ्यो। भनौं, सालबारी दुर्नामको भारी बोकेर मदेश र पहाडको साँधमा ठिङ्ग उभिएको थियो। त्यही ठाउँ आज आएर सुनामको सिउर ठाडो पारेर उभिएको पाउँदा आनन्द लाग्छ। भाषा-साहित्य, कला- संगीत र खेलकुद आदिमा चासो राख्नेहरूकै गाउँ ठाउँको नाम मानिसहरू गर्वसित लिन्छन् भने आफ्नो जन्मस्थान सालबारी त नाम उच्चारण गर्न पनि लाज लाग्थ्यो एक समय। केही वर्ष यता सालबारीले कायापलट फेरेको छ। यसै बिच अघिल्लो शताब्दीको अस्सी र नब्बेका दशकतिर जाति,भाषा र साहित्य संस्कृतिमा चासो भएकाहरू सालबारीलाई रुचाएर स्थायी बसोबासो गर्न आए। ती प्राय भाषा-साहित्य र संस्कृति बुझेकैहरू ज्यादा थिए। एकचोटि स्व. गोपाल भण्डारीको घरमा उनका परिवारका सदस्यहरूलगायत कर्णेल प्रकाशसिँह गहतराज, रञ्जुनारायण प्रधान र म आफैं अग्रसर भएर एउटा साहित्यिक कार्यक्रमको आयोजना गरेका थियौं। यसको श्रेय नारी स्रष्टा मातृका गजमेर(सुकुना) लाई पनि जान्छ। डा. कुमार प्रधानले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रममा कवि नरबहादुर दाहाल मुख्य अतिथि हुनुहुन्थ्यो। त्यही र त्यसैलाई निरन्तरता दिन धेरै पछि शब्द समय जन्मिएको हो। जो आज सय प्रकरणको दैलोको ठेलोमा उभिएको छ। शब्द समय धेरैजना स्रष्टा र श्रोताहरूको बलमा अघि बढ्दैछ। भारतेली नेपाली साहित्य केही सुस्त गतिमा अघि बढेको हो कि हो कि जस्तो अवस्थामा देख्दैछु। नयाँ हाँचका युवा जमातले बलियो काँध थाम्नसक्छन् भन्ने आशा छ। द्रोह पछि २ वटा सुन्दर उपन्यास आए यसै बिच। हुने विरुवाको चिल्ला पात देखियो- फात्सुङ र फुलाङ्गे। आख्यान साहित्य रूपनारायण सिन्हा र इन्द्रबहादुर राई मत्छेन्द्र प्रधान र भीम दाहालको परिपाटीबाट माटाको हरक बोकेर युवाहरू आएको पाइयो। जनघनत्वलाई आधार मान्ने हो भने भारतेली नेपाली साहित्य सन्तोषप्रद स्थितिमा नै अघि बढ्दैछ।
-समय समयमा तपाईंले साहित्य अकादमी नेपाली भाषा परामर्श समितिको कार्यप्रणालीलाई खरो रूपमा आलोचना गर्दै आउनुभएको छ, त्यस्तो किन नि?
-आशानुरूप काम नभएको कारण नै हो। रिले रेस कति दिन चलिबस्छ। अकादेमी त सरकारी बजेटमा चल्छ। जनताको ट्याक्सद्वारा चल्ने संस्थालाई योग्य र उदार व्यक्तिहरूले सुचारूरूपमा चलाउन् भन्ने हार्दिकता मात्र हो मेरो। परामर्श समितिले व्याकरणको ठेका लिनु उचित होइन। थोप्ले र पाङ्ग्रेको विवाद किन उठाउनुपऱ्यो। भाषा गतिशील छ। भाषामा प्रतिभाशाली स्रष्टाहरूले आफ्ना प्रतिभाको जोडमा के के वैज्ञानिकता खोज्छन्। खोजुन् न। किन अकादेमीको नियम हो भनेर हाउगुजी देखाउनु। जनसाधारणलाई लठुवा सम्झनु उचित होइन। कतिसम्म भने परामर्श समितिका ठुलाठालुहरू भन्ने गर्थे- दार्जिलिङबाहेक अन्यत्र योग्य व्यक्ति छैन। यसरी भन्नु उचित होइन। दायित्वहीन मनोभाव हो। दार्जिलिङमा पनि डा. गोकुल सिन्हा। कवि मनप्रसाद सुब्बा। कवि राजेन्द्र भण्डारीहरूजस्ता योग्य व्यक्तिहरू छैनन् र…। सिक्किम र असमतिर परामर्श समितिको हेड हुनुसक्ने मानिस छैनन् भन्ने आशयको वक्तव्य सुन्दा दुख लाग्छ।
-आख्यान लेख्दै हुनुहुन्थ्यो; पूर्ण गरिसक्नु भयो कि लेखिरहनु भएको छ अझै?
-अहिले पनि अभ्यासै चल्दैछ। त्यो भन्दा ज्यादा भन्नु छैन मलाई।