-खुसेन्द्र राई
बर्खाको झरीको एकनासे झरर आवाज कति मीठो हुन्छ! राति ओछ्यान पसेको बेला झरीका थोपाहरूले टिनको छानालाई एकनासले थपथपाएको आवाज सुन्दै सुत्दा निदाएको पत्तै हुँदैन। बाल्यकालमा झरीको थोपाको आवाजसँग मि..लि…लि.. निदाएको मेरो स्मृतिपटलमा धमिलो भए पनि छ। तर, नोकरीमा लागेर शहर शहर भड़्किँदै कङ्क्रिटको जङ्गलमा बस्न थालेदेखि यता त्यो आवाज विस्मृतिको धुलोले पुरेको थिएछ। यसपालि कोरोनाको महामारीमा लामो समयसम्म गाउँको घरमा बस्नु पर्दा ती सम्झनाहरू फेरि आलो भएर आए। तर खास मजा त त्यतिबेला आउँछ, जब झरीको आवाज सुन्दै भुसुक्क निदाएको बिहान आँखा खुलिँदा तपाईंलाई कल्चुँड़ाले उसको सबभन्दा मीठो धुन सुनाएर शुभ प्रभात भन्छ।
आजकल बिहान म ओछ्यानमा पल्टिरहेको बेला त्यो एक्लो कल्चुँड़ाले तु… तु…गरेर एकपल्ट रिहर्सल गर्छ अनि मलाई सुनाउनलाई नै जस्तो सुरिलो स्वरमा दुई-तीनपल्ट मीठोसँग धुन सुसाउने गर्छ। प्रायः एक्लैले सुसाउने धुन कोहीबेला आफ्नो जोड़ीसँग केही फरक अन्तरालमा पनि सुसाउने गर्छ, जो झन सुरिलो र बिहानको शीतलताले सरोवर भएको महसुस गर्छु म। तर, दिनमा बारीतिर गाएको चैँ लटरपटर हुन्छ, सुसेलीभन्दा हावाको फु फु-को मात्रा बेसी हुन्छ।
जे होस् अहिले लकडाउनको एकान्तिक क्षणमा मलाई कल्चुँड़ाको मीठो धुनले बगिसकेको जीवनको धुन खोजेर सुन्न अभिप्रेरित गर्दो छ। कहिलेकाहीँ वेगले दौड़ेको जीवन थामिनु पनि जरुरी हुँदो रहेछ। ‘इन्ट्रोस्पेक्सन’ त यस्तै बेलामा त हुने रहेछ।
म आफ्नो ओछ्यानमै लड़ीलड़ी बताइदिनु सक्छु, यतिको बिहान कहाँनेर बसेर त्यसले आफ्नो छोटो नीलो पुच्छर पिर्लिक पिर्लिक हल्लाउँदै सुसेली मार्दैछ। हाम्रो घरको उत्तरमा जङ्गल शुरू हुनुअघि भार्लाको लहराले बेरेको एउटा ठूलो चप्लेटी ढुङ्गा छ, जसको बिचमा काँसोको थालजस्तो हल्का कोप्रो कुवा छ, जहाँ हिउँदमा पनि अलिकति पानी जमिरहेको हुन्छ। हामी सानोमा बारी वरिपरि खेलिरहँदा त्यही चप्लेटी ढुङ्गामाथि एक जोड़ी कल्चुँड़ा फुत्रुक-फुत्रुक उफ्रिरहेका हुन्थे। कोहीबेला नुहाउँदै गरेका पनि हुन्थे। तिनीहरूको गुँड़ त्यहीं कहीँ ढडेनमा ढुङ्गाको चेपचापतिर हुन्थ्यो होला तर हामीले कहिल्यै याद गरेनौँ। हामी छेउमा जाँदा अलिकति उड़ेर भार्लाको लहरामा बस्थे।
पहिला पहिला कल्चुँड़ा एउटा कालो अनाकर्षक चरा भनेर मलाई चासो नै थिएन। तर, जब मैले कल्चुँड़ालाई छेउबाट हेरेँ, त्यसको टल्किने गहिरो बैजनी रङ्गले मलाई खुब आकर्षण गऱ्यो। तर, मलाई यसको नेपाली नामसँग आपत्ति छ। यति सुन्दर गाउने चराको नाम- कल्चुँड़ा! यसको अङ्ग्रेजीमा नाम कति प्यारो छ – whistling thrush. तिनीहरूले पहेँलो चुच्चोमा कहिलेकाहीँ किरा बोकिरहेको पनि देख्थ्यौँ। त्यो किरा बच्चाका लागि हुन्थ्यो होला। तर, त्यसको पाखुरामुनि ढाँड़मा मसिना गोलो गोलो सेता धब्बाहरू देख्न भने मलाई धेरै समय लागेको थियो।
आजकल म बस्तीमा नित्य कर्मबाट निवृत्त भएर ‘मर्निङ वाक’ निस्किन लाग्दा त्यो कल्चुँड़ा पनि माथि चप्लेटी ढुङ्गाबाट तिखो क्रिरर गरेर कराउँदै उड़ेर आई घरमुनिको लिचीको रूखमा बस्छ। मलाई लाग्छ, त्यसका बाबु-बाजेले मेरोबारे राम्रै भनिराखेको होला र त मसँग मित्रवत व्यवहार गर्दै मेरो छेउछाउ निष्फिक्री उड़िहिँड्छ।
तर आजको ‘वाक’-मा त्यही सधैँको सड़कको बाटो नहिँड्ने मनसुबा गरेको छु मैले । उहिले च्याखुङ स्कूलमा पाँच क्लासदेखि माध्यमिक पढ्दासम्म ६ वर्ष अविराम हिँड़ेको उकालो बाटो घरदेखि गोलफेका जङ्गल हुँदै माने डाँड़ा, दुर्पिने डाँडा, अँगाने ढुङ्गा एक फन्को मारेर अतीतलाई कोट्याने मनले इच्छा गरेको छ। त्यसैले, दिनको खाना खाएर पछाड़ि भिर्ने झोलामा पानीको बोतल, बिस्कुटको प्याकेट बोकेर अनि लौरो टेक्दै अतीतको सफरमा निस्किन्छु।
म उकालो हिँड्दै गर्दा देख्छु, केही क्षण देखापरेको घाममा जुरेलीहरू बाझबाझ गर्दै किम्बु, कुदमेरो, शिरिषका रूख रूख खेदाखेद गरिरहेका छन्। चिचिन्कोटे, बल्सेले नेभाराको बाक्लो रूखमा बाहिर भित्रगर्दै एकाग्रताका साथ के खोजेका हुन् बुझ्दिनँ। अग्लो लाबरको रूखको टुप्पोमा बसेर कुथुर्काहरू कुथुरुरु गरिहेको हुन्छन्। एउटा कुथुर्का उड़ेर काब्राको रूखमा जान्छ। तिनीहरूले हाम्रो घरमुनि हावाघर छेउ कुदमेरोको रूख छेड़ेर गुँड़ बनाएको छ। तिनीहरूको बचेराहरू पनि होलान् कारण कहिलेकाहीँ दुलोमा पस्दा चुच्चामा किरा च्यापेको देख्छु। कुथुर्काको टाउको शरीरको अनुपातमा ठुलो बेढङ्गको भए पनि शरीरको हरियो र शिरको रातो रङ्गले सम्पूर्णमा सुन्दर चरा हुनुमा सहयोग गरेको छ।
म जूम फाटकमा आइपुग्छु जहाँदेखि उहिले च्याखुङ जाने चोर बाटो शुरू हुन्थ्यो। राजाको समयमा त्यो घोड़ा हिँड्ने उकालो बाटोमा एक समयमा लेफ्ट हेण्ड ड्राइभ पेट्रोल जिप पनि कुद्ने गर्थ्यो, तर हामी च्याखुङ स्कुल पढ्दाताका विकल्प बाटो बनिसकेकोले गाड़ी नकुदे पनि मान्छे हिँड्ने चोर बाटो चाहिँ थियो, जो औसत चोर बाटोको अनुपातमा चौड़ादार थियो। तर, अहिले गोलफेका जङ्गल भएर चुम्बुङ जाने पिएमजिएसवाईको रोड बनेपछि त्यो पुरानो चोर बाटो विलिन भइसकेको थियो। उहिले त्यो चोर बाटो शुरू भएपछि एउटा घुम्ती काटेपछि गोलफेका जङ्गल शुरू हुन्थ्यो। अहिले भर्खर बनेको तारकोलको सड़कमा हिँड्दै त्यो घुम्ती काट्नुअघि बर्खामा चिपचिप पानी पलाउने साउने डाँड़ामा लहरै उभ्भेका ठूल्ठूला लाबर अनि फलेदोका रूखहरू सम्झन्छु, जो अब छैनन्, सड़क बनाउँदा काटिए। त्यहाँ फलेदो रातैरातो भएर फुलेका बेला तैं छाड़ मै छाड़ गर्दै झुत्तिने रङ्गीबिरङ्गी असङ्ख्य चराहरू आँखामा झल्झली आउँछ। सम्झना आएकोमा अङ्ग्रेजीको ‘भि’ आकारको पुच्छर भएको कालो चिभे चराहरू हावामा कावा खाँदै फूलमा झुत्तिरहेका हुन्थे। फलेदोको फूलमा ज्यादा आउने ती राता र पहेँला चराहरू पनि थिए, जसलाई हामी राजा र रानी चरा भन्थ्यौँ । साँच्चै ती चराहरूका नाम के होलान्? म आफैलाई प्रश्न गर्छु। नाम थाह नभएकोमा त्यो भेँड़ाको बच्चाजस्तो मे..मे.. गरेर कराउने चरा पनि हो, जसको टाउको र पुच्छर कालो अनि चुच्चो रातो हुन्छ। हामीले रूखको फेदबाटै असङ्ख्य मौरीहरू पनि भुनभुनाइरेको सुन्थ्यौँ।
यतिबेला मलाई अनायसै हाम्रो जूम गाउँले जन्माएको एउटा उत्कृष्ट कथाकार देवकुमार राई जुमेलीको सम्झना हुन्छ। उनले ‘फलेदो फूल्छैफूल्छ’ भन्ने नारीवादी कथा ती साउने डाँड़ाका फलेदोका रूखहरू हेरेरै लेखेका होलान् जस्तो लाग्छ। कथा आमा बन्न नसकेपछि परित्यक्त भएकी एउटी पीड़ित नारीबारे छ, जो अर्को बिहे गरेपछि आमा बन्छिन्। कथाकार राईले त्यो कथामा एउटी नारीलाई फलेदोको रूखसँग तुलना गरेका छन्, जुन रूख हिउँदमा मरेको जीवनहीनजस्तो देखिए पनि हेमन्त ऋतुमा जीवन्त भएर अच्चाकाली सुन्दर रातैरातो फूल फुल्ने गर्छ।
चिल्लो सड़कका दुई गोलाई काटेपछि लसुनेको रूखनेर आइपुग्छु। धन्य, सड़क बनिन्दा यो रूख काटिएनछ। यसको चर्को लसुनको गन्धले मलाई विगत विरही बनाउँछ। स्कूल जाँदैगर्दा यही लसुने रूखको बाक्लो हरियो छहारीमा उभेर आफूभन्दा अगाड़ि को को गयो माथि माने डाँडासम्म हेरिपठाउँथ्यौँ। माथि पुगेका साथीहरूले सुसेली मार्थे, हाईहाई र हुईहुई गरेर नौनाडी गलाउँथे। प्रायःजसो म ढिलै भएको हुन्थेँ, साथीहरूलाई पर्खी है भन्दै असिनपसिन हुँदै उकालो दौड़ेको हिजैजस्तो लाग्छ।
यो लसुनेको रूखदेखि उभो उल्टो त्रिकोणको आकारमा गोलफेका जङ्गल फैलेको छ। बज्यूले जवानीमा अँगाने ढुङ्गामा बाघको बथान सुतेको देखेको किस्सा सुनाए पनि अहिले गोलफेका जङ्गलमा हिस्रक जनावरहरू छैनन्। मृग, दुम्सी, कालिज, खरायोहरू उहिलेदेखि थियो, अझै छन् होला। माने डाँड़ामा राति भेटिने सालक छ छैन थाह छैन, कारण जताततै गाड़ीको बाटो बनेपछि मान्छे पैदल हिँड्न छोडेकोले निशाचर प्राणी भेटेको कथा पनि सुन्न छोड़ेको छ। जङ्गलभित्रबाट न्याहुलको बथान बासेको विरक्तलाग्दो आवाज आउँदैछ। यो नेहुलबारे धेरै किंवदन्ती सुने पनि यो चैँ विश्वासिलो लागेको छ। त्यो के भने, परापूर्वकालमा एउटा अत्याचारी जमिनदारले एउटा गरीब किसानले धितोमा राखेको जमिन जालसाजी गरेर आफ्नो बनाएछ। त्यो अन्यायको विरुद्धमा किसान कोर्ट कचहरी कति धाउँदा पनि न्याय पाएनछ। त्यही पीरले त्यो गरीब किसान पागल भएर अन्याय…अन्याय चिच्चाउँदै मरेछ अनि न्याहुली चरीको रूपमा अर्को जन्म लिएपछि पनि अन्याय-अन्याय भन्दै कराइहिडेको भन्ने जनश्रुति छ। तपाईंहरूले पनि कान थापेर सुन्नुहोस्, न्याहुलले पिल्लो-पिल्लो हैन अन्याय-अन्याय भनेर नै कराउँछ। म त्यही अन्याय-अन्याय सुन्दै अघि बढ़्छु।
जङ्गलको अर्को पाटामा कोलकोलेको बथान गाउँका अल्लारे केटाहरूजस्तो हल्ला गर्दैछ। बाटोको छेवैका अग्ला रूखहरूभित्रबाट थिब्युमा चरी पनि थिब्यु-थिब्यु गर्दै कराउँदैछ। यो चरीको पनि आफ्नै व्यथा-कथा छ। परापूर्वकालमा साथीको लहैलहैमा लागेर आफ्नो रुन्ची छोरी थिब्यू बर्खाको खोलामा बगाएकी हतभागी आमाले चरीको रूपमा पुनर्जन्म लिएपछि बर्खा लागेपछि थिब्यु-थिब्यु भनेर बोलाउँदै छोरी खोज्छे भन्ने जनश्रुति मलाई साँचोजस्तो लाग्छ। तर यो थिब्युमा चरा कस्तो हुन्छ अझै मैले देखेको छैन। ठूलो स्वरमा हुतुतू गरेर कहीँ टाढ़ामा हुतुतू चरा कराउँदैछ। यो चराको नाम हाम्रो गाउँमा हुतुतू भने पनि अर्कै हुनुपर्छ जस्तो लाग्छ। सानैदेखि गाउँमा हुतुतू आवाज सुने पनि यसपालि पहिलोपटक इभिनिङ वाकमा जाँदा मैले पात्ताले खोल्सामा यो चरा देख्ने सौभाग्य पाएँ। छाती सेतो, लामो पुच्छर भएको हल्का खरानी रङ्गको ठूलो चरा हँदो रहेछ। हुतुतूसँगै मलाई हलेसो चराको याद आउँछ। यसपालि हलेसो कराएको सुनिएन। सानोमा हाम्रा दाजुहरूले मुखले हात फुकेर हलेसोको जस्तै तु…तु.. तुतइ तुरू तुरू… आवाज निकाल्थे।
चराको कुरा गर्दा पहिले गाउँका घरहरू माटोले लिपेका हुँदा घरको सिकुवामा गुँड़ लाउन आउने गौँथलीको बथान कता गए होलान् सम्झन पुग्छु। भँगेरा गाउँबाट हराएको धेरै भयो। बारीमा अक्कल झुक्कल देखिने शिरमा ‘ब्यूटी क्विन्-ले जस्तो मुकुट लगाउने फापरे चरा पनि देखिन छोड़ेको छ। चरचरे चराको बथानको चरचर आवाज सुन्तलाबारीमा सुनिन छोड़ेको छ अहिले। हुन त सुन्तला बगान नै कहाँ रह्यो र ! तर सानोमा सुन्तला टिपेपछि धरापमा असङ्ख्य चरचरे र जुरेली चराहरू मारेको सम्झना आलै छ।
म हिँड्दै जङ्गलका रूखहरू पनि चिन्ने कोशिश गर्छु। जङ्गलमा पहिलाभन्दा ज्यादा चिलाउनेका रूखहरू फैलेका छन्। सड़कका छेउछेउ लहर लागेर उभेका किम्बु, टुनीका रूखहरू लोप भएछन्। बेकामका मालताका रूखहरू सड़कका छेउछाउ पटेर उम्रेका छन्। माने डाँड़ाको फेदतिर चेकरासी, लामपाते, पानी साज हौसेर बढ़ेका छन्। सायद वृक्षारोपण कार्यक्रमअन्तर्गत ती रूखहरू रोपिएका होलान्। नुन ढुङ्गामुनि उत्तिसका रूखहरू बाक्लै देख्छु। ती रूखहरू पनि मान्छेले नै रोपेका होलान्, कारण उहिले गोलफेका जङ्गलमा एउटै पनि उत्तिसको रूख भएको सम्झना छैन। हाड़ेका बोटहरू दुई-चार ठाउँमा मात्र देख्छु। बाटोको कुनामा डल्लो परेर ठाउँ ठाउँ बसेका रूद्रेका झाड़ीहरू एउटै देख्दिनँ। गोलफेका जङ्गललाई चिरेर गाड़ीको बाटो खन्दा ती झाड़ीहरू उखालेर फ्याँकिए होलान्। सड़कको चिसो भित्तामा वरपर केही ठूला, केही मसिना जङ्गली फूलहरू अनगन्ती फुलेका छन्। एउटा फूलमा चारवटा पत्रदल भएका झ्याङ लागेर फुल्ने ती बैजनी रङ्गका फूलहरू कति सुन्दर! त्यो स्वच्छ आकाशजस्तो नीलो रङ्गको फूलले पहिलोपल्ट पात्ताले खोल्सा छेउ देख्दै मेरो हृदय चोरेको थियो। त्यो मसिनो हल्का बैजनी झुप्प फुल्ने शनैजस्तो फूलको नाम के होला म बताउन सक्दिनँ। सड़कतिर फुल्ने त्यो टुप्पोमा रातो गाँठो भएको फूलको नाम थाह थियो, अहिले सम्झन सक्दिनँ। त्यो भित्तामा मालाजस्तो झुण्डेर दुईतिर फुल्ने हल्का पहेँलो फूलको नाम के होला? त्यो तीनवटा पत्रदल भएको गुलाफी फूलको नाम पनि चिन्दिनँ। जिन्दगीमा धेरै जान्दछु भनेर धाक दिने मैले वास्तवमा केही पनि जान्दिन रहेछु। ठूलाठूला कुरामा सुन्दरता हुन्छ भन्ने धारणा राख्ने म साना, नगण्य वस्तुमा अद्भूत सुन्दरता देखेर अवाक बन्छु। हेर्छु, भित्ताभरि नाम नचिनेका अनगन्ती फूलहरू लछेप्रै छन्। जिन्दगीमा यस्ता दिनहरू नआएका भए म यी अनाम फूलहरू नहेरी मर्ने थिएछु लाग्छ। अझै मैले देख्नु नसकेका कति होलान्! म कल्पना मात्र गर्न सक्छु।
यसो हेर्छु, मैले चिनेको भनेका त सड़क छेउ असरल्ल पलाएका कुरोका बोटहरू, इलामेका फूलहरू, जङ्गली अदुवाका फूलहरू मात्र रहेछन्। तर, यी कुरोका कालो काँड़ा देख्दा मात्रै बाल्यकालका साथीहरूका अनुहार झल्झली आँखाअघि आउँछन्, जोहरूसँग स्कूल जाँदा कुरोको काँड़ा हानाहान गरेर लुगाभरि कुरो बोकेर गएको बेला आमाको कुटाइ खान्थ्यौँ।
उहिले तल लसुनेको रूखदेखि माथि शिरमा मानेडाँड़ा पुग्दा दुइटा मोड़ जेड़ आकारका थिए। अहिले जुन बाटो खनिएको छ, त्यो बाटो मानेडाँड़ा नपुगी तलतलैबाट एक सय अस्सी डिग्रीको कोणमा लेकडम, सुकपन हुँदै घुमेर च्याखुङ जान्छ। दुइटा मोड काटेपछिबाट तल फलेदोको रूख ठिङ्ग उभेको देख्छु। उहिले मान्छे हिँड्ने चोर बाटो हुँदा लसुनेको रूखबाट सीधा हिँड़ेपछि यहाँ प्रथम मोड़ थियो। यसैको भित्तामा रूद्रेका झ्याङहरू अनि बेपारीका रूखहरू डम्मै थिए। सानोमा बज्यूसँग हिउँदमा रूद्रे र बेपारीको बोटको कचेट काट्दा बज्यूले भन्थिन्-“यहाँ उहिले मान्छे बस्ने गर्थे तर कालो ज्वरोले सखाप भएका थिए अरे।”
अझै सम्झना छ, त्यहाँ जङ्गलघारीभित्र लामा चिटिक्कका कान्लाहरू थिए। अर्को सम्झना पनि आउँछ, यो गोलाइ ठूलो थियो; जसको कुनापट्टि हमेसा बनमाराले ढाकिएको हुन्थ्यो। एकदिन स्कूलबाट घर फर्किँदा कान्ता र म लाप्पा खेलेर त्यो बनमारा घारी लिप्पन बनाएका थियौँ। हामीभन्दा एक क्लास सानो कर्नेलाई अघिल्लो दिन कान्ताले बित्थामा कुटेको थियो, त्यही निहुमा कर्नेको नाक थापेर मैले कान्तालाई कुटेको थिएँ। त्यो घटना सम्झेर नियास्रो लाग्छ। माफी माँगू भने पनि अब कान्ता यो दुनियाँमा छैन। स्कूल पढ्दा ताकाका लामो समयसम्म प्रेमिका रहेकी रेखा भन्ने केटीले धोका दिएपछि कान्ता सम्हालिन सकेको थिएन। समय कति तेज दौड़ेको! त्यो कान्ताले अत्यधिक मद्यपानका कारण अल्पउमेरमै यो संसार छोड़ेर गएको पनि दुई दशक भइसकेछ। समयले हाम्रो हातमा अव्यक्त रिक्तता मात्र छोड़ेर जाँदो रहेछ। यहाँदेखि एक घुम्ती काटेपछि सड़क खन्दा उम्रेको पानीको कुवा भेटिन्छ। अहिले यो पानी ढाँड़ गाउँका दुई-चार घरले हिउँदमा पनि खान्छन्। मेरो दिवङ्गत आमा भन्थिन्, “उनको बाजेको कथन अनुसार यहाँ उहिले सानो खोली बग्थ्यो अरे।” पैह्रोले पुरेर भासिएको त्यो अनन्तको खोली अहिले सड़क खन्दा आंशिक उत्खनन् भएर हाम्रोजस्तो सुक्खा ठाउँमा दुई-चार घरलाई भए पनि राहतको कारण भएको छ। सोच्छु, जिन्दगीको जद्धोजहदले हामीभित्रको खोली पनि दबिँदो जाँदो हो अनि अन्तमा हामी इलियटको कविताजस्तो wasteland बन्छौँ। तर हामीले अवकाशमा सुन्ने कोशिश गरे त्यो सानो खोली हामीभित्र कुलुलु बगिरेको हुन्छ।
यहाँ फेरि हाम्रो गाउँले जन्माएका अर्का कथाकार-उपन्यासकार बीएस राईको सम्झना आउँछ। नोकरीबाट स्वेच्छाले अवकाश ग्रहण गरेका अविवाहित उनी स्वर्गवास हुनअघि एक्लै गोलफेका जङ्गल चहारिहिँड्थे। अहिले सोच्छु, बाल्यकाल जूममा बिताएका उनले पनि आफूभित्र बग्ने खोलीको आवाज सुनेर गाउँ फर्केर जङ्गल चहारिहिँड्थे कि! उहिले हामी यो कुवादेखि तेर्सो लामो बाटो नहिँड़ेर ‘सर्टकट’ उकालो ठाड़ो बाटो हिँड्थ्यौँ। तेर्सोबाट हामी शनिबारको दिन आधा छुट्टी भएको बेला हिँड्थ्यौँ, जुन बाटोमा ऐँसेलुघारीहरू थिए। ऐंसेलु पाकेको बेला हामीले खोसामार गरेर खान्थ्यौँ। यो तेर्सो बाटोदेखि भित्र जङ्गलमा मान्छेको खुट्टाको छाप भएको चप्लेटी ढुङ्गा छ भनेर आमाले भनेकी थिइन्। तर, आमाले बाख्रा चराउँदा बस्ने गरेकी त्यो ढुङ्गा मैले कति खोज्दा पनि पाउन सकिनँ।
कथाकार देवकुमार राई जुमेलीले पनि त्यतैतिर दुर्पिने डाँड़ाको फेदमा भीरमा झुण्डेर फुल्ने सप्तरङ्गी फूल देखेको कुरा गर्थे। त्यो ढुङ्गा र त्यो फूल अब मेरो स्मृतिमा मात्र छ। तर, अहिले त्यो ठाड़ो बाटोको सट्टामा तीन घुम्तीको बाटो थपिएको छ, जुन अलकत्रे बाटो काटेपछि मात्रै मानेडाँड़ा जाने चोर बाटो भेटिन्छ। यहाँ आएपछि थाह हुन्छ, कम मान्छे हिँड्ने भएपछि झारपात बढ़ेर ठूलै बाटो पनि सँघुरो हुन्छ। बाटो तलमाथि रूखहरू पट्टेर बढ़ेर दिउँसै अँध्यारो पनि छ। अब यहाँ पनि एउटा पुरानो ठूलो लसुनेको बोट छ। बाटो मुनि माथि भलायोका रूखहरू अत्यधिक मात्रामा छन्। सोच्छु, यहाँका बेपारीका रूखहरू कता गए? गाढ़ा हरियो पात हुने होचो कदका ती बेपारी रूखको कचेट काट्न बज्यूसँग हिउँदमा हामी यहाँसम्म आउँथ्यौँ। अब सम्झनामा मात्र रहेका बोज्यू र आमालाई सम्झन्छु। म सम्झनाका गह्रौं थैली बोकेर नुन ढङ्गा काटेपछि मानेडाँड़ामा बिसाउन पुग्छु।
मानेडाँड़ाको चप्लेटी ढुङ्गामा बसेर उँधो हेर्दा अर्को सम्झना आलो भएर आउँछ।
ऊ सफा चिटिक्क परेर स्कूल आउँथी। प्रेस गरेको सफा सेतो कमिज र नीलो जामा, पालिस लगाएको नटी ब्वाई जुत्ता, सेतो सलक्क परेको हातमा घड़ी अनि अगाड़ि नाइटोको ठिक मुनि जामाभित्र पट्टाएर आधा घुसारेको सेतो रूमाल। समयले कति छलाङ मारिसके पनि मेरो स्मृतिपटलमा उसको त्यही एउटै छवि मात्र रहेछ। म अगाड़ि हुँदा उसलाई यहीँ माने डाँडामा पर्खेर बस्थेँ, ऊ अगाड़ि हुँदा यहीँ मलाई पर्खेर बस्थी। सम्झन्छु, यो मानेडाँड़ाका ढुङ्गामा हाम्रो अव्यक्त प्रेमको शिलालेख कुँदिएको हुनुपर्ने!
मेरो पहिलो प्रेम, ऊ कहाँ होली?
xxxxxxxxxxxxxxxxxxxxxxxxx
प….र चिलाउने घारीभित्र एकहुल न्याहुल चिच्चाइरहेको हुन्छ। एक्लो कोलकोले शिरिषको हाँगामा बसेर ठूलो स्वरमा हल्ला गरिरहेको हुन्छ। चराहरूको चिरबिरमाझमा त्यो मे..मे.. गरेर चराउने कराउने चरा आज पनि हेर्ने कोशिश गर्छु तर देख्दिनँ।
यसबिच लामो ट्रेकमा जाने सुर चढ़ेको छ। घरदेखि च्याखुङ जाने पैदल बाटो हिँड़ेर मानेडाँड़ा भएर दुर्पिने डाँड़ा जाने। दश किलोमिटर छ होला। धेरै दिन पानी परेपछि केही खुलेको दिन छ। मौसमको मिजास हेर्दा बेलुकीतिर पानी पर्ने सम्भावना छ। पछाड़ि भिर्ने झोलामा एक बोतल पानी, एक प्याकेट बिस्कुट बोकेर लौरो टेक्दै उकालो लाग्छु।
बिहान बेलुकी हिँड्न थालेदेखि सुस्तरी सुस्तरी पुराना यादहरू जम्मा हुन थालेका छन्, बर्खामा खाल्डाखुल्डी पानीले भरिएजस्तो। हिँड्दाहिँड्दै बिर्सिसकेका मसिना घटनाहरू टक्क याद भएर रोमाञ्चित हुन्छु म। बाल्यकालका साथीहरूका नाम अनुहार झलक्क आँखाअघि आउँदा तिनीहरू कहाँ, कता होलान् जान्ने इच्छा जागेर आउँछ। प्रेम परेको तर भन्न नसकेका ती केटीहरू छवि पनि आँखाअघि तैरिन्छन्। दिवङ्गत बनेका साथीभाइहरू सम्झेर दुखी पनि त्यतिकै हुन्छु।
घरमाथिदेखि तेर्सो घोरोले भीर भएर नामरिकतिर हिँड्न थालेपछि लगालग चारवटा संस्मरण लेखेछु। तीहरू दुईवटा अनलाइन पेपर खबरम्यागजिन र दुईवटा जनसंवादमा छापिए। अब यसरी अरू थोकमा अल्झिरहेँ भने मेरो उपन्यास लेख्ने सपना सायदै पूरा होला भनेर त्यता लागेको मात्रै के थिएँ; उपन्यासमा घटना क्रम मिलेकै छैन रहेछ। त्यसपछि यता न उता भएर मेरा दिनहरू बित्दै थियो। उपन्यास लेखेपछि मात्र अरू थोक लेखुँला भनेको थालनी गर्दा कति वर्षपछि मैले कल्चुँड़ाको गीत सुनेँ। वास्तवमा, म निद्राबाट ब्युँझेर लड़िरहेको अवस्थामा टाढ़ा बारीबाट मीठो धुन तैरिँदै मेरो कानमा पसेको थियो।