दार्जीलिङ, ९ जून : दार्जीलिङ नगरपालिकाका १७ नगरपार्षद् भारतीय पार्टीमा सामेल हुँदा आफ्नो पार्टीलाई कुनै असर नपर्ने तर विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चाकै अस्तित्व सङ्कट पर्ने गोर्खा जनमुक्ति मोर्चा (दोस्रो खेमा)-का अध्यक्ष विनय तामाङले दाबी गरेका छन्।
दिल्लीस्थित भाजपा मुख्यालयमा दार्जीलिङका १७ नगरपार्षद्हरूले भाजपाको झण्डा समाएको केही समयबाट प्रेस विज्ञप्ति जारी गर्दै तामाङले यस्तो दाबी गरेका हुन्। उनले यी १७ नगरपार्षद् भाजपामा सामेल हुँदा आफ्नो पार्टी (गोजमुमो दोस्रो खेमा) –को कुनै आपत्ति रहेको पनि बताएका छन्।
“यो घटनाक्रमले गोर्खा जनमुक्ति मोर्चा (विमल गुरुङपन्थी)-लाई ठूलो असर पर्नेछ। र विमलपन्थी गोर्खा जनमुक्ति मोर्चाको अस्तित्व नै सङ्कटमा परेको छ। अब प्रत्यक्ष रूपमा विमल गुरुङ र रोशन गिरी पनि भाजपामा सामेल हुने मन बनाएको प्रमाणित भएको छ’’, उनले भनेका छन्।
शनिबारको घटनाले आजपर्यन्त रहेको क्षेत्रीय दलहरूको वर्चस्वमा अपमान भएको पनि विनयले बताएका छन्। साथै गोर्खाल्याण्ड आन्दोलनमा एक शब्द नबोल्ने र राजनीतिक दलहरूका एकजना नेतालाई पनि गोर्खाल्याण्डको विषयमा नबोलाउने भाजपाले सत्ताका लागि नेपालको मार्ग भएर यी नगरपार्षद्हरूलाई दिल्ली लिएर जानु भाजपा केवल सत्ताभोगी प्रतीत भएको तामाङको दाबी छ।
अर्कोतिर विनयले भारतीय जनता पार्टी र राजु विष्टमाथि दार्जीलिङ पहाड़को शान्ति शृङ्खला भङ्ग गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। साथै दार्जीलिङ पहाड़मा अशान्ति सिर्जना भए यसको जिम्मेवारी राजु विष्ट र भाजपा हुने बताएका छन्।
यसैबीच तामाङले सांसद राजु विष्ट, विधायक नीरज जिम्बा अनि यी १७ नगरपार्षद्हरूले गोर्खा जातिको उन्मुक्ति र गोर्खाल्याण्ड राज्य गठनका लागि यथाशीघ्र पहल गर्नुपर्ने बताएका छन्।
विनयले जानकारी गराएअनुसार दार्जीलिङ नगरपालिकाको वर्तमान बोर्डविरुद्ध अविश्वास प्रस्तावसम्बन्धी विषयमा दार्जीलिङ नगरपालिकाले चाँड़ै पश्चिम बङ्गाल नगरपालिका कानून १९९३ –को आधारमा पहल गर्नेछ।