आरपी वाइबा पक्राउ, १७ नगरपार्षद्को घरमा पुलिसद्वारा लगातार छापामारी

0
1121
विमलपन्थी मोर्चा नेता आरपी वाइबा (फाइल फोटो)।

दार्जीलिङ, ९ जून : शनिबार भारतीय जनता पार्टीमा सामेल भएका दार्जीलिङका १७ नगरपार्षद्को घरमा पुलिसले लगातार खानतलाशी गरिरहेको जानकारी पाइएको छ। हिजो उनीहरू भाजपामा सामेल भएको खबर छापामा आएलगत्तै पुलिसले यी नगरपार्षद्हरूको घरमा खानतलाशी शुरु गरेको बताइएको छ।

यी नगरपार्षद्हरूले जानकारी गराएअनुसार शनिबार नमन राई (वार्ड-६), गणेश सार्की (वार्ड-१८), नीलम मुखिया (वार्ड-१३), महिमा राणा (वार्ड-१४) र अनुपहाङ सुब्बा (वार्ड-९) –को घरमा पुलिसले रेड गरेको थियो भने आज राधा न्यौपाने (वार्ड-२६) र अम्बिका शर्मा (वार्ड-३०)-को घरमा खानतलाशी गरेको हो।

यसभन्दा अघि पनि यी नगरपार्षदहरूध्ये धेरै घरमा पुलिसले खानतलाशी गर्दै आएको थियो। दार्जीलिङ नगरपालिकामा यी नगरपार्षद्हरू बहुमतमा भएपछि अहिले पुलिस उनीहरूको पछि घुँड़ा धसेर लागिपरेको छ।

अर्कोतिर आजै बिहान पार्षद्द्वय नमन राई र मिञ्जुर यल्मोले एक भिडियो जारी गरी आफूहरू भाजपामा सामेल हुनेको कारण खुलाएका थिए।

यसैबीच विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चाका शीर्ष नेता आरपी वाइबालाई पुलिसले पक्राउ गरेको छ। हिजो गाड़ी मरम्मतीका लागि सिलगढ़ी झरेका वाइबालाई त्यहाँबाटै पक्राउ गरिएको सूत्रले बताएको छ। पुलिस सूत्रका अनुसार वाइबामाथि धेरै पुराना मुद्दा छ, त्यसै मुद्दामा उनलाई पक्राउ गरिएको हो। अर्कोतिर मोर्चा नेता कर्नल रमेश आलेले पनि आरपी वाइबालाई पुलिसले पक्राउ गरेको जनाएका छन्।

उल्लेखनीय छ, चुनाउ अघि विमलपन्थी गोजमुमोको श्रमिक सङ्गठनका नेता सुरज सुब्बा र चुनाउको परिणामपछि २९ मईको दिन प्रवक्ता बीपी बजगाइँलाई पक्राउ गरेयता पुलिसले लगातार विमलपन्थी मोर्चाका नेताहरूलाई पक्राउ गरिरहेको छ। केही दिन रजनी गुरुङलाई पक्राउ गरेको थियो। त्यसअघि विमलपन्थी गोजमुमो दार्जीलिङ महकुमा समितिका महासचिव तिलक चन्द्र रोकालाई पुलिसले पक्राउ गरेको थियो।

यसैबीच दार्जीलिङमा पुलिसले १७ नगरपार्षद्को घरमा खानतलाशी शुरु गरेपछि सांसद राजु विष्टले दार्जीलिङका मिडियाकर्मीहरूलाई पुलिसको गैरकानुनी र अप्रजातान्त्रिक कारबाही दृष्टि राखिदिने अपील गरेका छन्।

उनले राज्य प्रयोजित आतङ्क र गैरकानुनी कारबाहीको कारण दार्जीलिङका जनताले आफ्नो गणतान्त्रिक हक अधिकार गुमाइरहेको पनि बताएका छन्। तृणमूल कङ्ग्रेसले चलाइरहेको अन्याय-अत्याचारविरुद्ध सम्पूर्ण राष्ट्र नै जाग्नुपर्ने समय आएको पनि सांसद विष्टले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here