कोलकाता, ९ जूनः माकपाका पूर्व लोकसभा सांसद ज्योतिर्मयी सिकदर भारतीय जनता पार्टीमा सामेल भएकी छन्।
आज केन्द्रिय गृहमन्त्री अमित शाहको भर्चुअल बङ्गाल जनसंवाद ऱ्यालीअवधि माकपाका यी पूर्व सांसदले प्रदेश मुख्यालयमा भाजपाको झण्डा समाएकी हुन्। भाजपा प्रदेश अध्यक्ष दिलीप घोषले उनलाई पार्टीको झण्डा थमाएर स्वागत जनाए।
दुई दिनअघि मात्र घोषले सल्टलेकस्थित ज्योतिर्मय सिकदरको घरमा पुगेर उनीसँग भेटवार्ता गरेका थिए। दुवैको भेटवार्ताको तस्वीर पनि प्रकाशमा आएको थियो। यसपछि नै उनी भाजपामा सामेल हुने अड़कल चुलिएको थियो।
ज्योतिर्मय सिकदर ब्याङ्कक एशियाडमा स्वर्ण पदक विजेता एथलिट हुन्। २००४ मा उनले नदिया जिल्लाको कृष्णनगर लोकसभा सीटबाट माकपाको टिकटबाट चुनाउ जितेर सांसद बनेकी थिइन्।
यद्यपि २००९ को लोकसभामा चुनाउ ज्योतिर्मय तृणमूल उम्मेदवार अभिनेता तापस पालसँग पराजित भइन्। त्यसपछि केही दिन राजनीतिमा सक्रिय रहेपछि बिस्तारै उनले आफैलाई राजनीतिबाट टाढ़ा राखेकी थिइन्।