दार्जीलिङ, 9 जूनः कोविडले हत्तपत्त मान्छेको मृत्यु हुँदैन। तर यसका लागि सही समयमा, सही उपचार पाउन आवश्यक छ। यदि कोविडको लक्षण देखा परेर पनि आफै डाक्टर, आफै विशेषज्ञ भई आफ्नै घरमा नै बसिरहे, त्यस्ता मानिसहरूको मृत्यु हुने सम्भावना धेरै बढ़ेर जानेछ।
यसैले सही समयमा, सही उपचारका लागि सही स्थान नै सेफ होम वा आइसोलेशन सेन्टर हो, जहाँ डाक्टर, नर्सहरूको देखरेख भइरहन्छ र कसैलाई अस्पताल नै लानुपर्ने स्थिति आए, त्यसै स्थानबाट अस्पताल लान पनि सजिलो पर्छ।
यसै उद्देश्य पूर्तिलाई ध्यानमा राखेर नै आजदेखि भा-तकभर चियाकमानको मालीधुरामा पनि कञ्चनजङ्घा आइसोलेशन सेन्टरको सञ्चालन शुरू भएको छ।
सिंहलीला सोशल वेलफेयर सोसाइटीको पहलमा आजदेखि सञ्चालनमा आएको यस आइसोलेशन सेन्टरमा 40 बेडको व्यवस्था गरिएको छ, जसमध्ये 20 वटा पुरुष अनि 20 वटा महिला कोविड रोगीका लागि छुट्याइएको छ।
आउँदा दिनमा स्थिति हेरेर बेड अझै बढ़ाउने योजना बनाइएको पनि आयोजक समितिले बताएको छ।
यस आइसोलेशन सेन्टरको आज कलकत्ताबाट राज्यका पीडब्ल्यूडी मन्त्री मलय घटकले उद्घाटन गरे।
स्मरण गराइन्छ, दार्जीलिङको मालीधुरास्थित कञ्चनजङ्घा पब्लिक स्कूललाई आइसोलेशन सेन्टर बनाउनका लागि गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पहिलो खेमाका अध्यक्ष विमल गुरुङले नै विशेष पहल गरेका हुन्।
उनका अनुसार यस आइसोलेशन सेन्टरमा बस्ने कोविड रोगीहरूका लागि सम्पूर्णरूपले निःशुल्क सेवा प्रदान गरिनेछ।
यस सेन्टरमा 3 देखि 4 वटा एम्बुलेन्स पनि राख्ने र ती एम्बुलेन्सहरूले पनि निःशुल्क सेवा प्रदान गर्ने पनि गुरुङले जानकारी गराए।
उनले भने, “कोविड रोगीहरूलाई हतोत्साह होइन, उत्साहको खाँचो पर्छ। यसैले यस रोगबाट बाँच्नका लागि सबै नै सतर्क रहनुपर्छ, तर रोगीबाट अलग बसेर होइन। रोगीलाई सबैको सहयोगको खाँचो पर्छ, टाढ़ा बसेर उनीहरूलाई कदापि सहयोग गर्न सकिँदैन” उनले थपे, “यसैकारण हाल मैले प्रत्येक गाउँ-घरतिर जाँदै सेनिटाइजेशन गर्ने कार्य गरिरहेको छु। कोविड रोगीहरूका परिवारसित भेट गरी उनीहरूको हौसला बढ़ाउने पनि कदम चालिरहेको छु। त्यसैलाई एक कदम अघि बढ़ाउँदै आज यहाँ यो आइसोलेशन सेन्टरको उद्घाटन गरिएको हो।”
गुरुङले यो आइसोलेशन सेन्टरको वरिपरि रूख-पातका बिरुवाहरू रोपेर चारैतिर हरियाली बनाउने योजना बनाएको पनि बताए।
उल्लेखनीय छ, दार्जीलिङमा अब तीनवटा आइसोलेशन सेन्टर भएका छन्, जसमध्ये सन्त जोसेफ कलेजमा अघिबाटै 50 वटा बेडको आइसोलेशन सेन्टर सञ्चालन भइरहेको छ भने हिमालयन पर्वतारोहण संस्थानमा पनि 48 वटा बेडको सेन्टर चलिरहेको छ।
आजदेखि मालीधुरामा पनि 40 बेडको आइसोलेशन सेन्टर शुरू भएपछि यहाँका जनतालाई धेरै सुविधा पुग्ने निश्चित भएको छ।