दार्जीलिङ, ९ जूनः दार्जीलिङका सांसद राजु विष्टले बङ्गालमा म्युकोरमाइकोसिस अर्थात् ब्ल्याक फङ्गसको उपचार निःशुल्क हुनुपर्ने अनुरोध राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग गरेका छन्।
यस्तो अनुरोध गर्दै उनले मुख्यमन्त्रीलाई पत्राचार पनि गरेका छन्। ब्ल्याक फङ्गसको उपचारमा अत्यधिक खर्च लाग्ने गर्छ, त्यसैले बङ्गालमा यसको उपचार निःशुल्क हुनुपर्ने विष्टको अनुरोध हो। अहिलेसम्म उत्तर बङ्गालमा मात्र ब्ल्याक फङ्गसका कारण ६ जनाले ज्यान गुमाइसकेको र अन्य सिकित्स बिरामी रहेको पनि पत्रमा आफूले उल्लेख गरेको उनले बताएका छन्।
‘मैले अहिलेसम्म डाक्टरहरूसँग चर्चा गरेअनुसार ब्ल्याक फङ्गसका मामिलाका कारणहरूमा मधुमेह, लामो समयसम्म अस्पताल बसाइ, फोहोर वातावरण तथा र एन्टिबायोटिक र स्टेरोइडहरूको जथाभाबी प्रयोग सामेल छन्’, विष्टले एक विज्ञप्ति जारी गरी थप भनेका छन्, ‘कोविडको पहिलो लहरको बेलामा कोविड सेवाका मानक स्थापित गरेर तिनलाई व्यवहारमा ल्याइएको थियो। थुप्रै कोविड उपचार केन्द्रहरूको नियामन गरेर कड़ा निगरानी राखिएको थियो। तर, अहिलेको स्थितिमा कोविड बिरामीहरूको उपचार र सेवा गरिँदा त्यस्तो प्रकारको निगरानीको स्तर र विधि अनि कुनै नियन्त्रणको व्यवस्था छैन। परिणामस्वरूप, एन्टिबायोटिक र स्टेरोइडहरूको अत्यधिक दुरुपयोग अनि जथाभाबी प्रयोग भइरहेको कुरो सर्वविदितै छ।‘
यसका साथै उनले उत्तर बङ्गालमा सरकारी स्वास्थ्य सेवा केन्द्रहरूको दुरवस्था पुनः उठान गर्दै सरकारी स्वास्थ्य केन्द्रहरूको अवस्था दयनीय रहेकै कारण अहिले मानिसहरू उनीहरूले खर्च वहन गर्नसक्ने अस्पतालहरूमा कोविड उपचारका लागि दौड़धुप गरिरहेको बताएका छन्।
विज्ञप्तिमा उनले थप भनेका छन्-‘उनीहरूले पाइरहेको उपचारको न त कुनै निगरानी भइरहेको छ न त त्यसमाथि कुनै नियन्त्रण वा सन्तुलन राखिएको छ, जसबाट यथोचित उपचार नियमहरूको पालन हुनसकोस्। मलाई डर छ, यस्तो स्थिति उत्तर बङ्गालमा मात्रै नभएर, समग्र पश्चिम बङ्गालभर व्याप्त छ।‘
राजु विष्टले थप भनेका छन्- ‘यसका अतिरिक्त, ब्ल्याक फङ्गसको उपचारमा प्रयोग गरिने AMPHO B औषधिको दैनिक लागत प्रतिखुराक करिब १० हजार रुपियाँ छ र उपचारको जम्मा अवधि ४ देखि ६ साताको छ। यस उपचारपछि ओरल पोसाकोनाजोल (Oral Posaconazole) औषधि चाहिन्छ, जसको मूल्य प्रतिपत्ता ६ हजार रुपियाँ जति पर्दछ, अनि यसमा १२ देखि १६ साताको उपचार चल्दछ। यसले गर्दा बिरामीले हरेक करिब ३ लाख रुपियाँको खर्च यस उपचारका लागि बेहोर्नु पर्दछ।‘
यसैले यो प्राणघायक रोगको महँगो उपचार खर्च बेहोर्ने आर्थिक सामर्थ्य क्षेत्रका बहुसङ्ख्यक जनतासँग नरहेकै कारण आफूले राज्यमा ब्ल्याक फङ्गस रोगको उपचार राज्यमा निःशुल्क गर्नार्थ आफू मुख्यमन्त्रीलाई पत्राचार गरेको उनले जनाएका छन्।
यसो गरिएको खण्डमा कोविडको उपचारको अत्यधिक खर्चका कारण पहिलाबाटै आर्थिक मर्कामा परेका बिरामीहरूलाई यथोचित स्वास्थ्योपचार उपलब्ध गराउन र मानिसहरूका जीवन बचाउन सकियोस् भन्ने विष्टको भनाइ छ।
‘मैले उनलाई राज्यका सबै सरकारी तथा निजी अस्पतालहरूका लागि कोविड र ब्ल्याक फङ्गसको उपचारका लगि कड़ा नियमहरू बनाउन र यी नियमहरू लागू गर्न पनि अनुरोध गरेको छु, ताकि एन्टिबायोटिक र स्टेरोइड औषधिहरूको जथाभाबी प्रयोग र दुरुपयोग रोक्न सकियोस्’, उनले थप भनेका छन्, ‘मैले सरकारी एवं निजी दुवै प्रकारका सबै स्वास्थ्योपचार प्रदाताहरूद्वारा दिइनुपर्ने सेवाको स्तर र प्रकारमाथि कड़ा निगरानी एवं रिपोर्टिङको प्रणाली विकसित गर्न र कोविड र अन्य रोगहरूका लागि राज्यमा विशेषज्ञहरूद्वारा विकसित उपचार नियमहरूको कड़ा अनुपालन सुनिश्चित गर्न छड्के जाँच तथा भौतिक पुष्टिकरणलगायत जाँच एवं सन्तुलनको प्रणाली विकसित गर्न पनि अनुरोध गरेको छु।‘
तत्कालै यी पदक्षेप उठाइएको खण्डमा मानिसहरूको जीवन बचाउन सकिनेछ भन्ने कुरामा आफू विश्वस्त रहेको पनि सांसदले बताएका छन्।
अर्कोतिर राज्य सरकारले पश्चिम बङ्गालमा आयुष्मान भारत लागू नगरेको र स्वास्थ्य साथी योजना पनि कार्यान्वयन न भएको खण्डमा पश्चिम बङ्गाल सरकारले कम्तीमा ब्ल्याक फङ्गसका रोगीहरूलाई निःशुल्क उपचार त प्रदान गर्न सक्ने उनले बताएका छन्।
‘मलाई आशा छ, मुख्यमन्त्री ममता ब्यानर्जीले मेरो अनुरोधमाथि विचार गर्नेछिन् तथा मैले दिएका सुझाउहरूलाई यथाशीघ्र लागू गर्छिन्’, दार्जीलिङका सांसद एवं भाजपाका राष्ट्रिय प्रवक्ता राजु विष्टले भनेका छन्।