सिलगढ़ी, ९ जुलाईः सिलगढ़ीमा कोरोना सङ्क्रमित थप एकजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति सिलगढ़ी नगरनिगमको ३७ नम्बरवार्ड निवासी हुन्।
जानकारीका अनुसार ७ जुलाईका दिन कोरोना पोजिटिभ रहेको पुष्टि भएपछि त्यसै दिनदेखि यी व्यक्ति हिमाचल विहारस्थित कोभिड अस्पताल डा. च्याङ सुपर स्पेशिअलिटी अस्पतालमा उपचाराधीन थिए भने बिहानै उनको मृत्यु भएको हो।
अर्कोतिर, आज सिलगढ़ी नगरनिगमका विभिन्न वार्डमा गरी कुल २६ जना कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ। त्यसैगरी सिलगढ़ीका दुईवटा कोभिड अस्पताल डा. च्याङ सुपर स्पेशिअलिटी अस्पताल र दिसन अस्पतालमा उपचाराधीन १४ जना कोरोनाबाट पूर्ण रूपले स्वस्थ भई आ-आफ्नो घर फर्केका छन्।
यसैबीच केही दिनअघि कोरोना भाइरसका कारण मृत्यु भएका शिक्षकका दुइ छोरी पनि कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ। यद्यपि शिक्षककी पत्नीको कोरोना टेस्ट भने नेगिटिभ आएको बताइएको छ।
प्रधाननगरस्थित निवेदिता रोडनिवासी ती शिक्षकको कोरोना भाइरसका कारण मृत्यु भएपछि विक्षिप्त बनेकी पत्नीले आफ्ना दुई अबोध छोरीलाई लिएर आत्महत्याको कोशिश गरेकी थिइन्।
एनजेपी पुगेर त्यहाँको फूटओभर ब्रीजबाट हाम फालेर आत्महत्या गर्ने कोशिश गर्दा गम्भीर घाइते भएका ती महिलासँगै उनका दुइ छोरी अहिले उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा उपचाराधीन छन्।
उनीहरूको समुचित उपचारका लागि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले निर्देश दिएकी छन्।
आज उनीहरूको स्वास्थ्योपचारबारे जानकारी लिनका लागि राज्यका पर्यटन मन्त्री गौतम देव उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल पुगेका थिए।जानकारीका अनुसार उनीहरूको उपचारका लागि एक मेडिकल टीम गठन गरिएको छ।