कालेबुङ, 9 जुलाईः टिस्टामा दुईजना मिस्त्रीको हत्या भएको घटना प्रकाशमा आएको छ।
पुलिस सूत्रमार्फत् प्राप्त जानकारीका अनुसार हिजो (बिहीबार) राति करिब 9. 30 बजे गेल खोलानिवासी राजकुमार सुब्बाले छुरी प्रहार गरी सिलगढ़ी आसीघर थानाअन्तर्गत हात्तीडाँगीनिवासी छोटन सरकार (26) र रञ्जीत विश्वास (31)-को हत्या गरेका हुन्।
हत्याका आरोपित सुब्बा पुलिसले पक्राउ गरेको छ।
जानकारीका अनुसार दुवै मिस्त्री टिस्टा भसुवानिवासी प्रबल प्रधान (34)-को घरमा बस्दै आएका थिए।
हिजो राति घरमालिक प्रबल प्रधान तथा मिस्त्रीत्रय रञ्जीत विश्वास, सञ्जय र छोटन सरकार बसिरहेका गफ गरिरहेका थिए। त्यहाँ गेल खोलानिवासी राजकुमार सुब्बा पनि थिए। यस्तैमा सुब्बाले उनीहरूमाथि एक्कासी छुरी प्रहार गरे।
पुलिसका अनुसार राजकुमार सुब्बा पनि प्रबल प्रधानकै घरमा बस्नेगर्थे। सुब्बाले गरेको छुरी प्रहारमा छोटन सरकार र रञ्जीत विश्वासको मृत्यु भएको छ भने प्रबल प्रधान पनि घाइते भएका छन्। उनको कालेबुङ जिल्ला अस्पतालमा उपचार चलिरहेको छ।
अर्कोतिर सञ्जयले भने भागेर ज्यान जोगाएको बताइएको छ। यद्यपि उनको पनि खुट्टामा चोट लागेको बताइएको छ।
पुलिसले आरोपित राजकुमार सुब्बासँग केरकार गर्नका साथै घटनाको छानबिन गरिरहेको छ। हत्या आरोपित राज कुमार सुब्बामाथि भारतीय दण्ड संहिताका धारा 326, 307 र 302 अन्तर्गत मुद्दा लगाइएको पनि पुलिसले बताएको छ।