-केवलचन्द्र लामा
छर्ल्याम्छुर्लुम भएपछि मान्छेका अहङ्कार –
घरभित्र थुनामा छन् मान्छेका विनम्रता ।
मरौ घरजस्तो छ यतिखेर संसार
र
स-साना बारीमा उम्रेका छन् भय,
घरघर बारीका स-साना रूखमा फलेका छन् आशङ्का।
कच्याककुचुक भएपछि मान्छेको घमण्ड,
सबैका घर भत्काउने मान्छेका घरभित्र छन् अहिले छताछुल्ल
मान्छेका प्रेम र अहिंसा।
घरभित्र बन्द भएपछि मान्छेले बुझेका छन् –
जात-पात र धर्म हुँदैनन्;
ठूला -साना र उँच-नीच हुँदैनन्;
धनी हुँदैनन् , निर्धन हुँदैनन्
किनभने किटाणुको घर हुँदैन
र ती जहाँ पनि जानसक्छन्;
मनपरि गर्नसक्छन् , जतासुकै घुम्नसक्छन्।
ती सोच्छन् – मान्छे हार्छ अब।
व्यस्त छे छोरी होमवर्कमा – नहारेरै।
सपनाको सुइटर बुनिरहन्छिन् आमा – नहारेरै।
भर्खरै धान रोपिसके – नहारेरै खेताला।
पचाकपिचिक भइसकेपछि मान्छेको सेखी
चाम मारेर बन्द छन् झ्याल-ढोका
र
बन्द घरभित्र छ
मान्छेका झुकेका टाउका।
होइन!
मान्छेको फेरि बौरिउठेका नरम मुटु
घरभित्रै मान्छेले फेरि बनाउँदैछन्
ढुकढुकीका सेतु।
औषधिभन्दा आत्मबल र मनोबल श्रेष्ठ र उत्तम –
बुझ्दैछन्।
आत्मबलले मान्छेभित्रका मान्छे जोगाउँदछ,
मनोबलले मान्छेबाहिरका मान्छेबाट जोगाउँदछ।
मृत्यु सधैँ छेउछाउमै हुन्छ भन्ने पुराना कुरा नवीन पद्धतिमा
स्पष्ट बुझेर यतिखेर
निर्णय तत्पर छ
घरभित्र र बाहिरका युद्ध जित्न…।