-योगिता राई
कति सहन्छ यो धरती पनि
कहिले प्रेमको वर्षाले चुट्नुसम्म चुटेपछि
भत्किँदै , सम्हालिँदै
र फेरि आफै बनिन्छ।
जहाँनेर उम्रने गर्दछन्
समयका सृजनाहरू।
कहिले खङ्ग्रङ सुक्छ
साँघुरो प्रेमको रापले
जहाँ अँटाउनै सक्दैन
कुनै विश्वासका फैलावटहरू
र बेस्सरी डाम्ने गर्दछ
मुटुसँगै हरेक अङ्गलाई।
कहिलेकाहीँ,
भन्न सकिन्न कुन बेला
कुनै बेइमान हुरी चल्छ।
जसले मुस्कान/रहर/सपना/प्रेम/विश्वास।
यी सबैका इमानदारीसँग
सामुहिक हत्या गरिराखेर जान्छ।
जसरी अहिले भर्खरै गरेर गयो।
युद्ध पछिको मैदान
बनेको छ छाती।
आशाको बैसाखी टेकेर
उभ्भेको छ लाशको थुप्रोमाथि
एउटा आधापिल्ठो भाग्य।
यसैबीच आफ्नो अनुहार खोज्दै
आइपुगेको छ
एउटा बौलाहा समय।