कालेबुङ, 9 अगस्तः विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-को एक टोलीले आज अलगढ़ा बजारका अग्नि पीड़ित दोकानदारहरूलाई भेटघाट गरी उनीहरूलाई क्रमैले 10 हजार गरी आर्थिक सहयोग प्रदान गरेको छ।
यसका साथै टोलीले सांसद राजु बिष्टसँग सम्पर्क गरी सांसदको तर्फबाट पनि सहयोग जुटाउने बताएको छ भने आजै उनीहरूको ब्याङ्कको खाता नम्बर मागेर सांसद बिष्टलाई पठाउने कार्य गरिएको पनि जानकारी गराइएको छ।
विमल गुरुङको निर्देशनमा गएको टोलीले पीड़ित दोकानदारहरूबाट अग्निकाण्डबाट भएका क्षयक्षतिबारे पनि जानकारी लिएको थियो।
केन्द्रिय समिति उपाध्यक्ष आर.पी. वाइबाको नेतृत्वमा गएको यस टोलीमा केन्द्रिय समिति सदस्य कर्नल रमेश आले, केन्द्रिय समिति सदस्यद्वय विजय सुन्दास र मणि गुरुङ, नारी मोर्चा केन्द्रिय समिति अध्यक्ष उर्मिला रुम्बा, नारी मोर्चा कालेबुङ जिल्ला समिति संयोजिका ननिता गौतम, युवा मोर्चा केन्द्रिय समिति कार्यकारी अध्यक्ष नोमन राई, युवा मोर्चा कालेबुङ जिल्ला समिति मुख्य संयोजक तोप्देन भुटिया, कालेबुङकी विधायिका श्रीमती सरिता राईलगायत अन्य थिए।
उल्लेखनीय छ, बिहीबार मध्यराति अलगढ़ा बजारमा भएको आगलागीले कुल 8 वटा दोकानलाई ठूलो क्षति पुऱ्याएको थियो।