गान्तोक, 9 अगस्तः सिक्किमलाई 6 वटा राष्ट्रियस्तरको पुरस्कार प्राप्त भएको छ।
हालै भिडियो कन्फरेन्समार्फत् आयोजित अनलाइन पुरस्कार समारोहमा यी पुरस्कारहरूको घोषणा गरिएको हो।
भारत सरकारको पञ्चायतीराज एवम् कृषि मन्त्रालयका केन्द्रिय मन्त्री नरेन्द्रसिंह तोमरको अध्यक्षतामा सम्पन्न समारोहमा सिक्किम राज्यको प्रतिनिधित्व ग्रामीण विकास विभागका प्रधान सचिव सी.एस. रावद्वारा गरिएको थियो भने पञ्चायतीराज निर्देशक प्रभाकर राई र अन्य अधिकारीहरूले पनि भाग लिएका थिए।
राज्यका तीन जिल्ला दक्षिण जिल्ला पञ्चायत, पूर्व जिल्लाको राङ्का ग्राम पञ्चायत एकाइ र पश्चिमको याङतेन ग्राम पञ्चायत एकाइलाई दीनदयाल उपाध्याय पञ्चायत सशक्तिकरण पुरस्कार प्राप्त भएको छ।
यसैगरी पूर्व सिक्किमको पाचे-सामसिङ ग्राम पञ्चायत युनिटलाई चाइल्ड फ्रेन्ड्ली ग्राम पञ्चायत अवार्ड प्राप्त भएको छ।
पश्चिम सिक्किमको साङ्खु रादु-खाण्डु ग्राम पञ्चायत युनिटलाई ग्राम पञ्चायत डेवलपमेन्ट अवार्ड प्राप्त भएको छ।
अर्कोतिर, पूर्व सिक्किमको प्रेमलाखा-सुबानेडाँड़ा ग्राम पञ्चायत युनिटलाई नानाजी देशमुख राष्ट्रिय गौरव ग्रामसभा पुरस्कार प्राप्त भएको छ।
केन्द्रिय मन्त्रीले सबै पुरस्कार प्रापक पञ्चायती संस्थानलाई बधाई दिएका छन्।
राङ्का जीपीयूका पञ्चायत सभापति गोविन्द भट्टराईले पुरस्कृत पञ्चायतहरूलाई प्रतिनिधित्व गर्दै राज्यमा विभिन्न जिल्ला र ग्राम पञ्चायत युनिटहरूले गरेका विभिन्न पहलबारे जानकारी गराएका थिए।
यसरी राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेकोमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ र विभागीय मन्त्री सोनाम लामाले सबैलाई बधाई दिएका छन्।