कालेबुङ, ९ अगस्तः राष्ट्रिय राजमार्ग १० अन्तर्गत कालीझोड़ानजिक सेती पुलमा यात्रीवाहक वाहन दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु हुनका साथै ६ जना यात्री घाइते भएका छन्।
सेवक पुलिसका अनुसार सिलगढ़ीबाट सिक्किमतर्फ गइरहेको डब्ल्यूबी ७६ ९८४० नम्बरको बोलेरो वाहन अनियन्त्रित भई सेती पुलको मुखबाट सोझै सय फुट मुनि खोलामा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटना आज अपराह्न करिब २ बजी भएको हो।
त्यसैगरी दुर्घटनामा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। ती महिलालाई उपचारका लागि रम्बी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ।
मृतक दुवैको परिचय खुलिएको छैन।
दुर्घटनाको खबर पाएलगत्तै रियाङ र सेवक पुलिस दुर्घटनास्थलमा स्थानीय मानिसहरूका सहयोगमा घाइते यात्रीहरूलाई उद्धार गरी उपचारका लागि रम्बी अस्पताल पठाएका थिए। त्यहाँबाट ५ जना घाइतेलाई सिलगढ़ी रेफर गरिएको जानकारी पाइएको छ।