सिलगढ़ी, 9 दिसम्बर: सोमवार अपराह्न नक्सलबारीनजिक बस पल्टिँदा एक यात्रुको मृत्यु हुनका साथै धेरै यात्रु घाइते भएका छन्। यो दुर्घटना आज अपराह्न करिब 2 बजे नक्सलबारीनजिक सथभया टोल प्लाजानजिक भएको हो। दुर्घटनामा परी ज्यान गुमाउने यात्रुको नाम रामनन्द शील बताइएको छ। पुलिसका अनुसार मृतक शील कोचबिहारनिवासी हुन्।
दुर्घटनामा परी घाइते भएकाहरूलाई नक्सलबारी अस्पतालमा भर्ती गरिएको थियो, जसमध्ये गम्भीर घाइते भएका 6 जनालाई त्यहाँबाट उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा रेफर गरिएको छ।
पानीट्याङ्की-सिलगढ़ी चल्ने डब्ल्यूबी 76, 7183 नम्बरको उक्त बसले अर्को बसलाई ओभरटेक गर्ने हुँदा सड़क बीचमै पल्टेको बताइएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार अर्कोलाई जितेर यात्रु उठाउने हतारोमै उक्त बस पल्टेको हो।
पुलिसका अनुसार उक्त बस पानीट्याङ्कीबाट सिलगढ़ीतर्फ गइरहेको थियो। ओभरटेक गरेर यात्रु उठाउने हतारोमा अत्यधिक तीव्र गतिमा गुड़ेकै कारण उक्त बस दुर्घटनामा परेको पुलिसले बताएको छ।