दार्जीलिङ 10 जनवरी : गोर्खा समुदायका 11 जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्नबारे अध्ययन गर्न गठन गरिएको मन्त्रालयको नयाँ कमिटी बिहीवार दार्जीलिङ आइपुग्यो भने आजै यो टोलीले लालकोठीमा जीटीएसँग बैठक गऱ्यो, जुन बैठकमा जीटीएको बोर्ड अव् एड्मिनिस्टेटर (बीओए) -का अध्यक्ष विनय तामाङले कमिटीले आगामी दुई साताभित्र आफ्नो रिपोर्ट बुझाउनुपर्ने माग गरे।
गत 8 जनवरीको दिन सिक्किम आएको तीन सदस्यीय टोलीका एक सदस्य प्रा. सौमेन्द्र मोहन पटनायक आज बिहानसम्म सिक्किममा नै रहेकोले टोलीकी अध्यक्ष मीना रञ्जन छिरिङ (जनजाति मामिला मन्त्रालयकी सहसचिव) र गोपाल सध्वानी (जनजाति मामिला मन्त्रालयका निर्देशक) मात्र जीटीएसँग बैठकमा उपस्थित थिए। उनीहरूले जीटीएसँग बैठक गरेपछि दार्जीलिङको युनाइटेड गोर्खा कम्युनिटी फोरम र गोर्खा जनजाति कल्याण समितिका पदाधिकारीहरूसँग पनि छुट्टै बैठक गरे। यो बैठकपछि उनीहरू बिजनबारी गएका छन्।
यता, जनजाति मन्त्रालयको कमिटीसँग बैठकपछि विनय तामाङले बैठकमा उठेका कुराहरूबारे जानकारी गराए। उनले भने, “हामीले आवश्यक सबै दस्तावेज बुझाएका छौं। कमिटीले आगामी दुई साताभित्र आफ्नो रिपोर्ट बुझाउनुपर्ने माग गरेका छौं। आगामी बजेट सत्रमा गोर्खा समुदायका 11 जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्ने बील पेश गरिनुपर्ने आफ्नो माग छ।”
पहिलाको कमिटीलाई बुझाइएका प्रतिलिपिसँग केही संशोधित प्रतिलिपि पनि आज यो नयाँ कमिटीलाई बुझाएको उनले जानकारी गराए।
“हामी धेरै खुशी छौं। उनीहरूलाई धन्यवाद दिन चाहन्छौं। उनीहरूसँग कुराकानी धेरै राम्रो भएको छ। हाम्रो माग गोर्खा समुदायका 11 जातगोष्ठीलाई चाँड़ोभन्दा चाँड़ो जनजातिको दर्जा दिनुपर्ने हो”, उनले थपे, “यसैबीच मैले उनीहरूलाई एउटा चिट्ठी पनि दिएको छु। चिट्ठीमा मैले हाम्रा कुरा कुरासँगै आगामी दुई साताभित्र रिपोर्ट बुझाउनुपर्ने कुरा उल्लेख गरेको छु।”
बैठकमा कमिटीका प्रतिनिधिहरूसँग पश्चिम बङ्गाल र सिक्किम सरकारले सबै कुरा बुझाइसक्दा पनि रेजिस्टर जेनेरल अव् इण्डिया (आरजीआई) र राष्ट्रिय जनजाति कमिटी (एनएसटीसी)-बाट अनुमोदन हुननसकेको विनय तामाङले बताए।
पत्रकार सम्मेलनअवधि उनले हिजो (बुधवार) केन्द्रिय जनजाति मामिला मन्त्री जोएल उराँवको भिडियोले केही अन्योल सिर्जना गरेको पनि बताए। “त्यो भिडियो सायद पोलिटिकल स्टन्ट हुनसक्छ। जसले मन्त्रीलाई प्रश्न गरे, मन्त्रीले उतिर फर्केर उत्तर दिनपर्थ्यो, तर क्यामेरातिर फर्केको कारण यो भिडियो पोलिटिकल स्टन्ट हुनसक्छ”, जीटीएका बीओए अध्यक्षले भने। उनले थप भने, “भिडियोमा मन्त्रीले सिक्किम र पश्चिम बङ्गालबाट जनजाति अनुमोदनको रिपोर्ट पठाइसकेको बताएका छन्। यदि सबै रिपोर्ट पठाइसकेको छ भने तेस्रो कमिटी यहाँ किन पठाउन पऱ्यो? रिपोर्ट नपठाएका राज्यतिर पठाउन पर्ने थियो। यो हाम्रो प्रश्न छ।”
विनयले यसअवधि भिडियोको प्रामणिकता र भाजपाको इमानदारितामाथि परोक्ष रूपले प्रश्न उठाएका छन्। साथै गोर्खाहरू भारतभरि छरिएर बसेका छन् भन्ने कुरा मन्त्री उराँवलाई हुनुपर्ने बताएका छन्। विनयले भने, “भाजपाले दुईपटक धोका दिँदा पनि विमल गुरुङ र रोशन गिरीहरूले ‘अझै हामीलाई विश्वास छ’ भन्नु बैली गाईले दूध दिन्छ भन्दै हिँड़्नु बराबर हो।”
उनले कमिटी दार्जीलिङमा आएकोमा खुशी पनि व्यक्त गरेका छन्। “आज हामीले उनीहरूलाई धेरै कुरा बुझाउन सक्यौं। उनीहरूले पनि सुनिदिनु भयो। आशा साँच्छौं। जीटीए अधिकारीलाई उनीहरूले भेट्नु भनेको दार्जीलिङ पहाड़का सबै जनतालाई भेट्नु हो। हामीले जे गऱ्यो, त्यो प्रशासनिक तहमा भयो। यसैले हामी धेरै खुशी छौं।”
अर्कोतिर उनले 11 वटा जातगोष्ठीलाई जनजातिको मर्यादा दिलाउन आफू कुनै पनि हदसम्म जाने बताएका छन्। यसका लागि आफू भोक हड्तालमा बस्न परे तापनि बस्ने दाबी गरेका छन्। यसका साथै विनयले यो मुद्दालाई आगामी लोकसभा चुनाउमा पार्टीको प्रमुख दोस्रो मुद्दा बनाउने बताए।
“आगामी लोकसभा चुनाउमा पार्टीले मन मिल्ने कुनै पनि पार्टीसित मिलेर चुनाउ लड्न परे पनि गोर्खा जातिको राष्ट्रिय परिचय र सुरक्षाको मुद्दालाई प्राथमिक मुद्दा बनाउने अनि जनजातिको मुद्दालाई दोस्रो मुद्दा बनाउनेछौँ। यसबारे गठबन्धन गरिने पार्टीसित पनि कुराकानी गरिनेछ” उनले भने।