
तीनधारे, 10 जनवरीः राष्ट्रिय राजमार्ग 55 स्थित रङटङदेखि महलदिरामसम्म 17.10 किलोमिटर लामो सड़क 22 करोड़ 85 लाख रुपियाँको लागतमा निर्माण हुने भएको छ।
बिहीवार गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) अध्यक्ष अनित थापा र गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले संयुक्त रूपले शिलान्यास गरे।
तीनधारेदेखि केही टाढ़ास्थित सिमरिङको शिवखोलामा हिजो शिलान्यास कार्यक्रम गरिएको थियो।
जानकारीका अनुसार यो सड़कको निर्माण राज्यको पीडब्ल्यूडीले गर्नेछ। यसअवसरमा उनीहरूबाहेक जीटीएका मुख्य सचिव सुरेन्द्र गुप्ता, पीडब्ल्यूडीका मुख्य अभियन्ता भाष्कर घोषलगायत अन्य उपस्थित थिए।
उक्त बाटोको निर्माणकार्य पूरा रङटङ, सिपाहीधुरा, नरबुङ, शिवखोला, सिमरिङ, मालुटार, महलदिरामका मानिसहरू लाभान्वित बन्नेछन्। शिलान्यास कार्यक्रममै अवसरमा स्थानीय गायक कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिएका थिए।