सिङ्ला चियाकमान बन्द, ६०० श्रमिक बिचल्लीमा

0
1885

दार्जीलिङ, १० जनवरीः दार्जीलिङ शहरदेखि करिब १७ किलोमिटर किलोमिटर टाढ़ास्थित सिङ्ला चियाकमान बन्द भएको कारण करिब ६०० चियाश्रमिक बिचल्ली बनेका छन्।

जानकारीका अनुसार यस चियाबारीका एक श्रमिकले सहप्रबन्धकलाई हँसियाले प्रहार गरी घाइते बनाएको घटनालाई केन्द्र गरी सिङ्ला चियाकमान बन्द भएको हो।

यसै घटनालाई लिएर प्रबन्धकपक्षले हिजै कमानमा सस्पेशन अफ् वर्कको नोटिस टाँसेर अन्यत्र गएको छ भने जसको कारण आजदेखि यस चियाकमान सुनसान बनेको छ। श्रमिकहरू चिन्तित बनेका छन्।

जानकारीका अनुसार हिजो बिहान यसै कमानका श्रमिक दिपेश लिम्बूले सहप्रबन्धक ओमप्रकाश चोटियामाथि हँसिया प्रहार गरेका थिए। लिम्बूले चोटियाको शिरमा हँसियाले प्रहार गरेका छन्।

हँसियाको प्रहारले घाइते भएका सहप्रबन्धक ओमप्रकाश चोटियालाई उपचारका लागि हिजै सिलगढ़ी लगिएको बताइएको छ भने दिपेश लिम्बूलाई पुलिसले पक्राउ गरेको छ।

पुलिस सूत्रका बिहानै मातेर काम गर्न पुगेका दिपेश लिम्बूलाई सहप्रबन्धक ओमप्रकाश चोटियाले काममा जान अनुमति दिएनन्। यसैको रिसमा दिपेशले हँसियाले चोटियाको शिरमा प्रहार गरेको बताइएको छ।

अर्कोतिर, सिङ्ला चियाकमानका श्रमिकहरूले प्रबन्धकपक्षले चाँड़ोभन्दा चाँड़ो कमान खोल्नुपर्ने माग गरेका छन्। एकजना श्रमिकको कारण कमानका अन्य श्रमिकहरूलाई दुःख दिन उचित नहुने उनीहरूको भनाइ छ।

यसका साथै ती श्रमिकहरूले आफ्ना कमानका कुनै पनि सम्पत्तिलाई क्षति नपुगोस् भन्ने सोच राखेर यसलाई जोगाउने निर्णय गरेका छन्।

यो चियाकमान हाम्रो हो। र यसको प्रत्येक सामग्री, सम्पत्तिको रक्षा गर्ने दायित्व पनि हाम्रो हो। यसैले यसका सबै सम्पत्ति चियाश्रमिक-कर्मचारी मिलेर रक्षा गर्नुपर्छ, ती श्रमिकहरूले भनेका छन्।

साथै उनीहरूले चियाकमानका सम्पत्तिहरूलाई नोक्सान पुऱ्याउने खालका कुनै पनि कार्य कसैले नगरियोस् भन्ने अपीलसमेत गरेका छन्।उल्लेखनीय छ, दुई सय हेक्टरमा फैलिएको सिङ्ला चियाकमान जयश्री ग्रुप अफ् कम्पनीको अधीनमा छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here