दार्जीलिङ, 10 मार्च : गोर्खा जनमुक्ति युवा मोर्चाका उपाध्यक्ष अनिल लोप्चनको कालेबुङस्थित भाड़ाको घरबाट बङ्गाल सरकारले सम्पत्ति कुड्की गरेर फेरि एकपटक गणतन्त्र र नागरिकहरूको मौलिक अधिकारको हनन् गरेको विमल गुरुङले बताएका छन्।
शनिबार एक प्रेस विज्ञप्ति जारी गरी गुरुङले यस्तो बताएका छन्। केवल गोर्खाल्याण्ड माग्ने साँचो जातिप्रेमी गोर्खाको घर कुड्की गर्नु भनेको पहाड़मा गोर्खा जातिलाई निमिट्यान्नै पार्ने बङ्गाल सरकारको चाल रहेको दाबी गरेका छन्। उनका अनुसार यो चाललाई बुझेर जनताले आगामी चुनाउमा मतदान गर्ने निर्णय गर्नेछन्।
“एकातिर बङ्गाल सरकारले पहाड़मा गणतन्त्र फर्काइ ल्याएको दाबी गर्छ। अर्कोतिर गणतन्त्रको हत्या गर्दै गोर्खाल्याण्डपन्थीको घर कुड्की गर्छ। यसरी भोट नजिक आउँदा साधारण जनतालाई नाङ्गो ठटाएर हात्ती तर्साउने काम अर्थात् जननेताको घर कुड्की गरेर जनता तेर्साउने काम बङ्गाल सरकारको घृणित, कुत्सित र घटिया चाल हो। यसको जवाब जनताले मौन रहेर भोटमार्फत् दिनेछन् भनी गोर्खा जनमुक्ति मोर्चा बताउन चाहन्छ”, गुरुङले विज्ञप्तिमा भनेका छन्।
गोर्खाल्याण्डको आवाजलाई सताएर, जेल हालेर, घर कुड्की गरेर, षड़यन्त्रपूर्वक आरोपी बनाएर जङ्गल पस्न बाध्य गराएर बङ्गालकी मुख्यमन्त्रीले गोर्खा समस्याको स्थायी समाधान गर्छु भन्नु मुसालाई तीर्थ घुमाउनु बिरालोले नेतृत्व गरेकोजस्तो हो भनेर पहाड़का जनताले बुझिसकेको उनको भनाइ छ।
गुरुङले विज्ञप्तिमा भनेका छन्, “केवल आरोप लागेका मान्छेको घर कुड्की गर्नु हो भने आज बङ्गालमा कति हजार/लाख मानिस पुलिसको एफआईआर र अदालतका फाइलहरूमा आरोपी छन्? के कानूनमा एउटा मान्थे अपराधको आरोपी भयो भने आरोप प्रमाणित नभई उसका परिवार, बालक-बालिका सबैलाई बेघर बनाउन पाउने प्रावधान छ? सम्बन्धित राज्य र राष्ट्रिय निकायहरूले यस कुरालाई किन देख्दैनन्?”
विमलले पहाड़का अधिवक्ताहरू यस्तो जातीय सङ्कटको घड़ीमा स्वेच्छाले अघि आउनका लागि विज्ञप्तिमार्फत अपील पनि गरेका छन्।
“यसरी नै मानव अधिकारवादी संस्थाहरू पनि पहाड़मा मौलिक अधिकार र मानव अधिकार उल्लङ्घन भएको अवस्थामा अघि आएर स्वेच्छाले मानवताको अनि मानव अधिकारका लागि कार्य गरून् भनी आग्रह गर्न चाहन्छु’’, उनले थप भनेका छन्, “जातिलाई धोका दिएर र आन्दोलनलाई सौदाबाजी गरेर पहाड़मा अहिले नेता भएकाहरूले जुन संस्कार पहाड़मा शुरु गरेका छन्। भविष्यमा यो उनीहरूले आफ्नै लागि खनेको खाड़ल नबनोस् भनी म चेताउनी दिन चाहन्छु।’’