सिलगढ़ी, 10 मार्च : दार्जीलिङ सीटमा भाजपाको पराजयको लागि टीएमसी नेतृ ममता ब्यानर्जीले सबै प्रयास सुनिश्चित गरिरहेकै बेला पहाड़ र समतलका विपक्षी पार्टीहरू टीएमसी र भाजपा उम्मेद्वारहरूलाई हराउन संयुक्त रूपमा अघि बढ्ने प्रयास गरिरहेका छन्।
पहाड़ तथा समतलमा विपक्षी पार्टीहरूबीच साझा सहमतिका उम्मेदवारका लागि मतैक्यता निर्माण गर्न बाघडुग्राको एउटा होटलमा आइतबार अपरान्ह एक बैठक सम्पन्न भएको छ।
बैठकमा सबै पार्टीका साझा उम्मेद्वारका विषयमा गहन चर्चा भएको छ। बैठकमा छलफल भएअनुसार, विपक्षीहरूको संयुक्त कमिटीले एक हप्ताभित्र साझा सहमतिका उम्मेदवारको निर्क्यौल गर्ने निर्णय लिएको छ। यदि सहमतीय उम्मेद्वारको नाम चयन भएमा प्रतिद्वन्द्वीसँग यी पार्टीहरू संयुक्त रूपमा मिलेर चुनाउ लड्नेछन्।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-द्वारा डाकिएको बैठकमा माकपाका हेभिवेट नेता तथा सिलगढ़ीका मेयर अशोक भट्टाचार्य, जीवेश सरकार, पूर्व सांसद समन पाठक, कालेबुङका माकपा नेता तारा सुन्दास, कङ्ग्रेसबाट मतिगड़ाका विधायक शङ्कर मालाकर, जन आन्दोलन पार्टी (जाप)-बाट डा. हर्कबहादुर छेत्री, क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-बाट अरुण घतानी, अखिल भारतीय गोर्खा लीग (अभागोली)-की महासचिव भारती तामाङ, गोरामुमो प्रमुख मन घिसिङ, नीरज जिम्बा, अजय एडवर्ड र अन्य उपस्थित थिए।
बैठकमा माकपाले आगामी 15 मार्चसम्मको समय दिएको छ। यदि यो समयसम्म कुनै सहमति नभएको खण्डमा माकपाले आफ्नै उम्मेद्वार खड़ा गर्नेछ। अशोक भट्टाचार्यको नेतृत्वमा बैठकमा उपस्थित माकपा नेताहरूले बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्न अस्वीकार गरे।
“म सोमबार मीडियासँग कुराकानी गर्नेछु। आजको बैठकबारे आयोजकले नै केही भन्नेछ”, अशोक भट्टाचार्यले भने।
गोरामुमो प्रवक्ता नीरज जिम्बाले पत्रकार सम्मेलनमा निर्दिष्ट रूपले नै भने पार्टी कुनै नाम सुझाउने पक्षमा छैन। “हामी हाम्रो झोला फैलाएर पार्टीका उम्मेद्वारको नाम घोषणा गर्दैनौं। यसो हुँदा स्वार्थी, राजनीतिक उद्देश्यप्रेरित देखिनेछ। हामी गणतन्त्र बहालीका लागि यसो गर्न चाहँदैनौं”, जिम्बाले भने।
दार्जीलिङका जनताको हितमा चुनाउ लड्न चाहेको गोजमुमो विमल गुरुङ समूहलाई पनि उनले संयुक्त मञ्चको प्रयासमा स्वागत जनाए।
“हामीले पहल अघि बढ़ाएका छौं। उनीहरू पार्टीमा आउन सक्छन्। भूमिगत नभएका कर्णेल रमेश आले, आरबीवाइबा जस्ता नेताहरू हाम्रो शक्तिमा सामेल हुनसक्छन्”, उनले भने। जिम्बाका अनुसार, पूर्व सांसद आरबी राईको नाम उम्मेद्वारका रूपमा बैठकमा प्रस्तावित गरिएको छ। यो प्रस्तावमा उनीहरूले छलफल गर्नेछन्।
आगामी 15 मार्चभन्दा अघि साझा सहमतिका उम्मेद्वारमा एकमत हुनका लागि प्रत्येक राजनीतिक पार्टीबाट कम्तीमा दुईजना गरेर दशजना सदस्य बसेर मात्र निर्णय लिन सकिनेछ। यद्यपि बाघडुग्रामा बैठक शुरु हुनअघि नै दार्जीलिङमा क्रामाकपाले आरबी राईको नाम पार्टी उम्मेदवारका रूपमा घोषणा गरिसकेको छ।
साझा सहमतिका उम्मेदवारको रूपमा राईको नामलाई अघि बढ़ाउने क्रामाकपाले जनाएको छ। क्रामाकपा नेता अरुण घतानीले भने, “बैठक जारी छ। केही हुन्छ भन्नेमा आशावादी बनौं।”
जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भने, “सबै पार्टीका प्रतिनिधिहरूबीच बैठकमा छलफल भएको छ। आगामी तीन दिनभित्रमा सहमतीय उम्मेद्वारमाथि निष्कर्षमा पुगिनेछ। यदि सबै कुरा ठीकठाक चल्यो भने हामी पत्रकार सम्मेलन गरेर उम्मेद्वारको नाम घोषणा गर्नेछौं।”