दार्जीलिङ, 10 मार्च : दार्जीलिङ संसदीय चुनाउमा पहाड़बाट सहमतीय उम्मेदवार उठाउनुपर्ने राजनीतिक पार्टीहरूबीच चर्चा भइरहेकै बेला संयुक्त गठबन्धनको वकालती गर्ने एउटा प्रमुख पार्टी क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले आफ्ना अध्यक्ष तथा पूर्व सांसद आरबी राईलाई उम्मेद्वार बनाउने आकस्मिक घोषणा गरेको छ।
साझा सहमतिका उम्मेदवारका लागि पहल गर्नेहरूमा क्रामाकपा पनि एउटा हो र उ अहिले पनि विभिन्न राजनीतिक पार्टीले यस सम्बन्धमा आयोजन गरेको बैठकहरूमा भाग लिइरहेको छ। आइतबार क्रामाकपा केन्द्रिय समितिको बैठकपछि यो निर्णय सार्वजनिक गरिएको छ।
क्रामाकपा प्रवक्ता गोविन्द छेत्रीले भने, “चुनाउ हुन अब केही समयमात्र बाँकी रहेको छ। तर, अहिले पनि सहमतीय उम्मेद्वारको नाम चूड़ान्त हुनसकेको छैन। उम्मेदवारको चयन र चुनाउ प्रचार गर्नका लागि अब समय एकदमै कम छ। त्यसैले हामीले हाम्रो पार्टीको उम्मेदवारको नाम घोषणा गरेका हौं।”
छेत्रीले पार्टीको लचकता सुनाउँदै भने, “साझा सहमतिका उम्मेद्वारका लागि पहिलो पहलकर्ता नै हामी हौं। अझै पनि हामी त्यसैको पक्षमा छौं। त्यस्ता उम्मेदवार अघि आए हामी आफ्नो उम्मेद्वारिता फिर्ता लिनेछौं। हामीसँग यो विकल्प छ। उम्मेद्वारिता फिर्ता लिने अन्तिम दिनसम्म हामी हेर्नेछौं।”
क्रामाकपाले बताएअनुसार, उसको मुख्य एजेण्डा टीएमसीको कथित अगणतान्त्रिक कार्यपद्धति र गोर्खा समुदायको संवैधानिक प्रत्याभूति गर्ने निकायको आवश्यकता हुनेछ। भाजपा वा गोर्खा जनमुक्ति मोर्चा (विनय समूह)-सँग कुनै चुनावी साझेदारी नगर्ने तर अन्य राजनीतिक पार्टीहरूसँग भने कुराकानी जारी राख्ने क्रामाकपा नेताले बताए।
क्रामाकपाको नारी प्रकोष्ठले अघिबाटै आगामी उम्मेद्वारको रूपमा आरबी राईलाई प्रस्तुत गरिसकेको छ। पार्टी कार्यालयमा अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा राईलाई नारी प्रकोष्ठले सम्मान पनि जनाएको थियो।
क्रामाकपा अध्यक्ष आरबी राई दुईपटक 1989-90 र 1990-96 मा राज्यसभा सांसद अनि 1996-97 मा लोकसभा सांसद बनेका थिए। उनी त्यससमय सीपीआईएममा आबद्ध थिए। सिलगढ़ीमा आज सहमतीय उम्मेदवारको निम्ति बैठक भइरहेकै समय क्रामाकपाको यो आकस्मिक घोषणालाई सहमतीय उम्मेदवारका लागि दबाउ सिर्जना गर्ने रणनीतिको रूपमा हेरिएको छ।