- डा. सञ्जय बान्तवा
कवि नोर्जाङ स्याङदेन : परिचय
नेपाली साहित्यको सन्दर्भमा अलङ्घ्य ‘तेस्रो आयाम’-ले विकासको क्रमिकतालाई आजसम्म पोषण गरिरहेको छ। कीर्तिमानस्वरूप लर्किएका छन् – नेपाली साहित्याकाशमा कविताका असङ्ख्य समकालीन वैशेषिक-तारामण्डल। इ.स. १९७० दशक तथा प्रयोगकालको चुडान्तमा नेपाली कविताका दुईवटा स्वरूप देखापर्दछन्।
पहिलो : ‘तेस्रो आयाम’ प्रजनित सिद्धान्तलाई अनुसरण गर्ने कविता-पङ्क्ति अनि दोस्रो : त्यस दिशातिर नहेरी ‘तेस्रो आयाम’ पूर्वका परम्परालाई पनि त्याग्न खोजेर मौलिक परिपाटीमा विकासशील कविता-लेखन ताक्ने लहर। ‘तेस्रो आयाम’-लाई अनुसरण गर्ने कविताले त्यस अभियानको अभीष्टमा उभिन पाएन । यसर्थ, दोस्रो लहरका कवितालाई विकासको अघिल्लो चरणतिर अग्रसर हुने मौलिक धारा मान्न सकिन्छ ।
मोहन ठकुरी, असीत राई, बी. योञ्जन, शरद् छेत्री, विकास गोतामे, केदार गुरुङ, गिर्मी शेर्पा, भविलाल लामिछाने, जस योञ्जन ‘प्यासी’, राजेन्द्र भण्डारी, ज्ञानेन्द्र खतिवडा, मनप्रसाद सुब्बा, नरेशचन्द्र खाती आदि कविहरूले कविता लेखनमा नयाँ दिशा खोजेर लेख्न सुरु गरे । विषय- विविधता, अभिव्यक्तिमा स्वतन्त्रता र प्रयोगधर्मिता जस्ता विस्तार लिएर नेपाली कविताको फाँट फैलियो।
इ.स. १९७५-देखि आरम्भ भएको उत्तरप्रयोगकालीन काव्याभासमा नोर्जाङ स्याङ्देन विषय-गम्भीरता, अभिव्यक्तिगत प्राञ्जलता, सूक्ष्मताकेन्द्री प्रयोगवादिताका कविका रूपमा उदाएका छन्। कविता लेखनलाई परिमाणात्मक भन्दा गुणात्मक तहमा उभ्याउन चाहने कवि नोर्जाङ स्याङ्देनको काव्य साधना अनन्य छ।
आफ्ना समकालीन अन्य कविका शैली र काव्य संरचनामा प्रयुक्त भाषिक क्षमताभन्दा भिन्न अधिग्रहण-शृङ्खला, नयाँ वाग्धाराको खोजी, बिम्बको विघटन, काव्यिक तानको वैविध्य आदिले नोर्जाङ स्याङ्देनलाई अधिक रूपमा सम्प्रेषणीय कविताका अतुलनीय सर्जक बनाएको छ। उत्तरसंरचनावादी अभ्यासले विनिर्माणको पद्धतिलाई साहित्य लेखनमा आनुसङ्गिक आग्रहसँग उपस्थित गराएको छ । कवि नोर्जाङ स्याङ्देनले बिम्बस्तरमा अवपरिचितिकरणद्वारा विनिर्माणलाई कविताभित्र स्वाभाविक रूपले उभ्याएका छन्। ‘तेस्रो आयाम’ र परवर्त्ती साहित्य लेखनले प्रयोग गरेको बिम्बआदि जटिल, रूढ, अस्पष्ट भएकाले तिनलाई समवेदना र सङ्ज्ञानद्वारा पुनर्जीवन दिन नोर्जाङ स्याङदेनले बिम्बलाई शब्द साथै काव्यका तहमा विबिन्यास गरेका छन्।
कवि नोर्जाङ स्याङ्देनले मानवीय भाव-समवेदना र जीवन जगत्-का वैचारिक तथा दार्शनिकतालाई आफ्ना कविताका विषयवस्तु बनाएका छन् । समवेदनाका उद्याम प्रवाह र त्यसका जागतिक अवस्थान खोज्न उनका काव्यशैलीमा तर्क समेत सदा सक्रिय रहँदछ । उत्तरआधुनिककालमा अधिक मुखर रहेको विषय-भावगत यादृच्छिक-आलम्बन (इम्ब्रेस अव् र्यान्डमनेस)-ले नोर्जाङ स्याङ्देनको काव्यकेन्द्र निर्माण भएको छ। यसले उनको काव्य-साधनालाई स्वतन्त्र र प्राञ्जल बनाएको छ।
कवि नोर्जाङ स्याङदेनका मूर्च्छना (इ.स. १९८४), कविता जस्तै कविता (१९८९), रागरन्थरूमा (२००१ ) आदि कृति प्रकाशित छन् । उनले गजल शैली र परिपाटीमा विषय, भाव-गम्भीर, गेयात्मक काव्य-रचना तिमी छौ किन जिन्दगी (२०१७) लेखेका छन् । उनका एउटा अनुदित कृति अनुभवपोख्त बुढा मानिससित संवाद (२०१६) पनि प्रकाशित भएको छ।
नोर्जाङ स्याङ्देन ‘तेस्रो आयाम’ पछि अधिक सङ्गालिएर आएको उत्तरप्रयोगकालीन काव्यधारालाई अद्यावधि नयाँ र मौलिक दिशातिर आकर्षित गराउने एकजना प्रमुख तथा प्रतिनिधि कवि हुन्।
नोर्जाङ स्याङ्देनका तीनवटा कविता
(एक)
बन्डा
यो असीम चित्रकलाभित्र
चित्रका कलाकारिताभित्र
चलायमान छन् – बेस्सरी जीवन्त रङ्गहरू।
आँखामा पस्दा जुन
उर्लदाँरहेछन् मन प्रभावहरूमा ।
मन नपरेका थोकहरू बन्दा रहेछन्,
मन परेका गतिहरू हिँड्दा रहेछन् ।
यही चलायमानलाई मैले
आफ्नो जीवन / आफ्नो संसार
भन्दै, मान्दै आइरहेको रहेछु।
मैले एउटा नाममा स्थापना दिँदै आइरहेको रहेछु।
नजाने कहिलेदेखि हो स्वयम् सत्तालाई
थाहा छैन ।
मैले मेरा रगतका थोपाहरू
यी रङ्गहरूमा खोज्दारहेछु।
न रगत न जगत्,
न रङ्ग न पदार्थ
प्रारम्भविहीन निरन्तरतासित
अनित्यवान रङ्गहरूका भ्रमभित्र
के साह्रो मैले आफू खोजेँ,
आफ्नो हक आफ्नो बन्डा खोजेँ।
आइदेऊ न कोही यहाँ
मलाई बेस्मारी कराऊ
छात्ती पक्रेर झकझकाऊ अनि भन्देऊ कि –
तेरो बाउको कमाइ छ यहाँ ?
तैँले कमाइ राखेको छस् यहाँ ?
जे देख्यो त्यै माग्ने
जे भेट्यो त्यै चाहने।
म त शिशुबालक झैँ जुनी दर जुनी
जीवन खोज्दै आइरहेको रहेछु
अझ पनि आजैसम्म।
हो, म गम्भीर गाली योग्यको
म अन्तिम पिटाइ लायकको।
मलाई शून्यताको सिर्कनाले सक्दो सोड्काऊ न को…ई…छ ।
(दुई)
अभ्युत्थानम्
“Never judge people by their past. People learn, people change, people move on.”
- A quote.
तिमी मलाई यो भन/त्यो भन
कुनै पनि गालीनामले सम्बोधन गर ,
अक्षरहरू मक्किँदै जान्छ।
क्यालेन्डर भित्तामा फेरिँदै जान्छ।
ध्वनि विलुप्तिँदै जान्छ।
अनि तिम्रो सम्बोधनको अन्तिम सास
तिमी स्वयंलाई खबर हुँदैन पनि।
कुनै पनि गालीशब्दले
भर्खरै डाँडा काटिगएको
अथवा वर्षौं अघि घुम्ती घुम्तीबाट
ओझेल भएको
जिन्दगीका एक एक चरणलाई
मेरा आँखासामु ल्याइदिन्छ।
हो त , म त्यसबेला त्यस्तो थिएछु
त्यस्तो त्यस्तो मन पराउँथेछु।
त्यसरी त्यसरी जीवन भोग्थेछु।
सम्झँदा अहिले
रमाइलो लाग्छ/हाँसिपठाउँछु।
सम्झँदा कहिले बेरमाइलो पनि लाग्छ,
आश्चर्य पोखाउँछु।
लाग्छ, यी गालीहरू गालीहरू होइनन्।
बरु सौगातहरू हुन्,
सालै पछि हर सालले
हर चरणलाई छोडिराखेका ।
चराहरू, बादल अनि फूलहरू
कहिले सोध्छन् र-
कहाँबाट आए यी रङ्गहरू/सेडिङ्गहरू।
ती दिनहरू सम्झेर
यी गालीनामहरू सुनेर
म मात्र कहाँ हाँस्छु,
यो बिजुली खम्बा हाँस्छ,
यो बाटो खित्का छोड्छ
यी पानदोकानहरू मुसुमुसु हाँस्छ।
सेतो चुना दलेको
नगरपालिकाको शौचालयका सपाट साधा भित्ता, होइन नि
जीवनको क्यानभास ।
महर्षि पनि कुनै समय डाका थिए।
पूज्य तपस्वी कुनै ताक बिलासी थिए
वीर धनुर्धारी अर्जुन समेत
कुनै बेला बृहन्नला बने ।
अब पत्रा पत्रा वस्त्रहरू खोलेर
तिमी पनि अन्तिम नग्नतामा पुग्न
दैनिक वर्क आउट गर।
चिरन्तन आत्मा तृष्णा उतारेर
विनिर्माणमा बिलिन जाऊ
अनि शरीर छँदै दोस्रो अवतारमा आऊ।
(तीन)
भेन्ची जोत: छोटो झरी/छोटो रिट्रिट
बाहिर मात्र निस्कन रुचाउने असाध्य चञ्चल मन ।
अविरल बर्सातको मौसमभित्र अहिले
छोटो झरी छ।
ऐना झैँ टल्किरहेको छ चौर मैदान/बारी/आँगन/गोरेटो
जमिएर यता-उता बगिरहेको पानी/आकासे पानी
जहाँ थुप्रेको छ ससाना माछा ।
बेला बेला देखिने सेता सुरिला चराहरू,
दुई चार गाउँले केटा,
रुङिरहेका छन् माछा पार्न,
माछा मार्न। आकाशबाट आएर
झोलिएको बादल , लाग्छ – आफैसित छ ।
यी सुनसान गाउँ घर,
यी घाँसपात, पोथ्रा पोथ्री, रुखघारी
आफैँसित छ।
चरा/दहदह पानी/ खेत/पगडन्डी पनि
आफैँसित आफैँभरि छ।
आफैँसित बस्न नचाहने वस्तु भने
यो मन मात्र छ।
पानी पर्ला पर्ला जस्तो छ।
दिन अनि पाखा धुम्म्याइलो छ ।
अनायास सम्झना हुन्छ
बौद्ध भिक्षुहरूको जो बर्खायामका
दीर्घ अवधिभरि
ध्यानस्थ रहन कुनै गुफातिर
एकान्तवासमा हुन्छन् । अकस्मात्
गर्जेको आकाश एक धर्का
बिजुली उज्यालो हानेर कतै हराउँछ।
यस्तैमा-
टोपी/गम्बुट थन्काएर
छाता/बरसाती अनि व्याकुलता समेत
कुनातिर राखेर
घरभित्र पनि घरमै नहुने मन
अहिले यी क्षणपलसित
यो परिवेशसित एकात्मा हुँदैछ।
मात्र गहन श्वास-प्रश्वासमा प्रतिमात् हुँदैछ ।
000
तिम्रो हाम्रो जस्तो
मनको पनि आफ्नै घर हुन्छ नि।
सायद यो मनलाई त्यसको
आफ्नै घरमा ल्याइपुऱ्याउन
क्षणभरलाई सही
म सफल भएँ कि!
पृष्ठाङ्कन
नेपाली साहित्यमा नोर्जाङ स्याङ्देन अधिक पाठकप्रिय एवम् समर्थ कवि हुन् । इ. स. १९७५ देखि १९८५ बिचको चरणलाई उनको कविको उत्कर्ष काल मान्न सकिन्छ । नोर्जाङ स्याङ्देनका कवितामा विषयवस्तुको नूतनता र भाषाशैलीको अवपरिचितिकृत प्रस्तुतिले आर्जित मौलिकताको उर्ध्वगामी विकास यस चरणपछि उल्लेखनीय रूपमा हुन नसकेको तथ्य सामयिक अध्ययनले उल्लेख गरेको पाइन्छ । तथापि यहाँ प्रस्तुत उनका तीनवटा कविता (बन्डा, अभ्युत्थानम्, भेन्ची जोत : छोटो झरी/छोटो रिट्रिट) -का पठनपछि कवि नोर्जाङ स्याङ्देनको काव्यिक सुष्ठता र उच्चताले फेरि नयाँ चोला फेरिसकेको अनुभव हुँदछ।
बन्डा : यादृच्छिक आलम्बन
बन्डा कवितामा तीनवटा सहचार छन् । यसले प्रस्तावित गरेको विषय जीवनको संज्ञानात्मकता र अनुभूति हो । मानिसले यथार्थमा आफ्नो ज्येथा मानेको परिवेश उसैका लागि भ्राम्यमान छ । परिवेश र पदार्थिक अनुभवलाई जीवनको अवलम्ब अथवा सत्य मानेर मानिसले जति व्यक्तिगत स्वको परिपोषण गर्दछ उति नै अनुभाव्य छ – सामूहिक आत्मसँगको द्वन्द्वात्मक साक्षात्कार।
पृथ्वीमा चेतनायुक्त जीवनको व्यतिति लिएर त्यसका अनुभव र अनुमानमा मात्र अस्तित्व छाम्ने मानिसले यदि हिसाब गर्नु हो भने अनुपातविहीन अयथार्थ्यबोध गर्दछ ।
आस्तित्विक जीवन र यसका अवलम्ब आदिमा निश्चिह्न बनेको मानव चेतनालाई जागरुक गराउने विधान, मार्ग अथवा तर्कको उपस्थिति पाउने आग्रह लेखिएको यस कवितामा जीवनको गाम्भीर्यलाई साक्षात्कार गराइएको छ ।
बन्डा कविताको पहिलो सहचारमा जीवनको आवर्तलाई कविले चिनाएका छन् –
यो असीम चित्रकलाभित्र
चित्रका कलाकारिताभित्र
चलायमान छन् बेस्सरी जीवन्त रङ्गहरू ।
आँखामा पस्दा जुन
उर्लंदारहेछन् मन प्रभावहरूमा ।
‘असीम चित्रकला’ हो संसार । ‘चित्रका कलाकारिताभित्र चलायमान छन्’ जीवितव्य मानिसका। रुढ, प्रकार्यात्मक र प्रकारात्मक छन् जीवनका अनुभव । कविले पाठकलाई बोध गराउन चाहेका छन् – जीवितताका आवश्यक दिशा (जिजीविषा)-द्वारा ती अनुभव प्रकाशमा आउँदछन् ‘मन प्रभावहरूमा परेर । कविले प्रयोग गरेका पदावली ‘उर्लदारहेछन् मन प्रभावहरूमा’-ले पाठकलाई जाग्रत जागतिकताका नयाँ बिम्ब अवबोध गराएको छ । यस चेतनाका रूपक अनेकौँ क्रममा आफ्नै शृङ्खला बनाएर अघि क्रियाशील बन्दछन्-
मन नपरेका थोकहरू बन्दा रहेछन्
मन परेका गतिहरू हिँड्दा रहेछन्।
जगत्-को अक्षमा चेतना, इच्छा र अस्तित्वका अनेकौँ रूप साथै पक्ष निर्माण हुने क्रमलाई मानिसले जीवनको चिह्न मानेको छ । मानिस सदा उत्सुक छ -जीवन ग्रहण गर्न :
यही चलायमानलाई मैले
आफ्नो जीवन आफ्नो संसार
भन्दै, मान्दै आइरहेको रहेछु।
मैले एउटा नाममा स्थापना दिँदै
आइरहेको रहेछु।
‘आइरहेको रहेछु’ मानेर स्वीकार छ यहाँ जिजीविषा, अहम् र सामूहिक चेतना माझका अन्तर्सङ्घर्ष अनि त्यस पछिका अनुभाव्य अनुक्रम – जीवनका विविध अवस्था, नियतिका रूपक ।
उत्तराधुनिकतावादी साहित्याभ्यासले हेरेको यादृच्छिक सम्बद्धताका आधारमा ‘बन्डा’ कविताभित्र विषयवस्तुगत, संरचनागत र काव्यिक प्रभावगत विशेषता सक्रिय रहेका छन्।
यादृच्छिकताका आन्तरिक दुईवटै तह – व्यक्तिक र सामूहिक स्थितिलाई यहाँ चित्रण गरिएको छ –
नजाने कहिलेदेखि हो स्वयम् सत्तालाई
थाहा छैन ।
कार्य र कारणका अनुभव नै जीवन हो । अन्तर्द्वन्द्व र सङ्घर्षमाझ चिनो लगाइएको जीवन । जगत्, जागतिकता, चिन्तन, भाव-समवेदना बोधसँगको जीवन। मानिस स्वयम्लाई थाहा छैन, जीवनको असम्बद्धता र अनुभूतिमध्ये कुन हो सत्ता –
मैले मेरा रगतका थोपाहरू यी रङ्गहरूमा
खोज्दा रहेछु।
न रगत न जगत्
न रङ्ग न पदार्थ
अप्राप्यताको अनुभूतिमा जीवनको खोजी नै व्यक्ति-अहम् परितोषको चित्रण हो जस्तो लाग्ने यी पङ्क्तिमा ‘न रगत र जगत्’ जस्ता अकरणमूलक स्वीकारोक्तिले यादृच्छिक रूपमा अप्राप्यलाई जीवनको शर्त नै स्वीकार गरेको छ।
‘न रङ्ग न पदार्थ’ पृथ्वीमा अथवा जागतिकतामा कविले के खोजेका रहेछन्, कविको आत्मचिन्तना अभिव्यक्त हुँदछ-
प्रारम्भिक निरन्तरतासित
अनित्यवान रङ्गहरूको भ्रमभित्र
के साह्रो मैले आफू खोजेँ
आफ्नो हक आफ्नो बन्डा खोजेँ।‘
नदेखिने रङ्ग र अनुभवशून्य पदार्थबिच कविले जीवनलाई खोज्दछन् । आफ्नो ‘हक’-भित्रको अस्तित्व ‘बन्डा’ (बोध, स्वामित्व) भाग माग्दछन् । ‘के साह्रो’ पदावलीले कविको अनुताप (मूढतामा होस्, अज्ञानताप्रति अथवा हठधर्मिताका विरुद्धमा)- लाई प्रकट गराउँदछ । अनुतापले संज्ञानको पथानुगमन गर्दछ । अनुभव, समवेदना, संज्ञान र जैविक आनुभूत्य यादृच्छिकताका नियमितताद्वारा जीवनक्रम चलायमान रहेको स्थितिलाई यस कविताले देखाएको छ।
यस कविताको अन्तिम तथा तेस्रो सहचार पदमा कविताका प्रस्तावित विषय र यसका गतिमान संरचनामा उपस्थित पात्र, अवस्था साथै द्वन्द्वात्मक स्थितिको आलोचना छ । कवितामा जागतिक अस्तित्वअन्तर्गत मानिसको जीवन पदार्थिक र वायवीय छ । ‘अनित्यवान रङ्गहरूको भ्रम’ निरन्तर रूपमा जीवनको नाम लिएर सक्रिय रहँदछ । मानिस अहम्-को परितुष्टि खोजेर न पदार्थ न तरङ्गभित्र सदा आफ्नो आकार (बन्डा) कोरिरहँदछ । यस स्थितिलाई नाटकीयतासँग प्रस्तुत गरिएको छ –
आइदेउ न कोही यहाँ
मलाई बेस्मारी कराऊ
मानिसका अज्ञानतालाई हटाउने आग्रह गर्दै सत्य उद्भासित छ –
तैँले कमाइराखेको छस् यहाँ
जे देख्यो त्यै माग्ने
जे भेट्यो त्यै चाहने ।
जीवनको आवर्त सहज छैन । यसको अर्को प्रसङ्गले स्पष्ट पार्दछ –
म त शिशुबालक झैँ जुनी दर जुनी
जीवन खोज्दै आइरहेको छु
अझ पनि आजैसम्म।
‘स्वयम् सत्तालाई थाहा छैन’ तर कवि (मानिस) आफ्ना अनेकौँ जन्म (जुनी दर जुनी) को अनुमान (सम्भाव्यता, अयथार्थ्यता) र विश्वासमा अडेसो लागेर ‘आजैसम्म’-को जीवनमा समेत खोजिरहेछ जीवनको आकार ।
जीवनका रूप, अनुभव; मानिसका जीवितिमा यादृच्छिक आलम्बन अन्तिम पथ हो । जीवनको पदार्थिक एवम् आनुभाव्य अस्तित्वका अन्तर्विरोधमाझ मानिसको ग्रहणले उकास्ने असम्बद्धतालाई सम्बोधन गरिएको छ –
हो, म गम्भीर गाली योग्यको
म अन्तिम पिटाइ लायकको
मलाई शून्यताको सिर्कनाले सक्दो सोड्काउ न को.. ई.. छ।
यस पद्यांशमा कविताको तानले चिच्याहट जस्तो अथवा अन्तिम सुस्केरा जस्तो भाव व्यक्त गर्दछ । व्याप्त काल- अवकासमा सत्ताको जैविक तथा आत्मिक अवस्थानले ओगट्ने परिधि र त्यसपछिका बृहत्तर परिधिले शून्यको प्राक्कल्पना निर्माण गर्दछ । ‘शून्यताको सिर्कनाले सक्दो सोड्काउ न, को… ई… छ’ पदावलीले कवितामा निष्कर्ष वाणी बनेर मानिसको बुद्धि र संज्ञानको रूढ अवस्थालाई चेतना दिने युक्ति देखाउँदछ । मानिसले खोज्ने क्रममा आफ्नो सत्त्वलाई अन्य धारणाअघि समर्पण गरिदिँदछ ।
सत्ता (जीवन) को यादृच्छिक स्वरूप साथै विविध आवृत्तिमा जीवनको खोजी सदा रहने औत्सुक्यको दिशा हो। जीवनको अकाट्य लक्ष्य र एकाङ्गी अभिप्राप्ति सम्भव छैन । मानिसले यति कुरा थाहा पाएकै भए तापनि जीवनको आनुसाङ्गिक ध्येय एकाङ्गी राखेर सधैँ भ्रमपूर्ण दुर्घटनामा पर्दछ । भ्रमको परिपूर्तिमा दन्ड माग्दछ मानिस- वाञ्छनीयता र असम्बद्धता (एलिएसन)-सँगको दन्ड।
कवि नोर्जाङ स्याङ्देनले वाङ्मयभन्दा पर काव्याभावमा पनि यादृच्छिक आलम्बनलाई स्थापित गरेका छन् । तिनमा अध्यात्म, दार्शनिकता, तार्किकता, भाषा, उक्ति-वैचित्र्यको शक्ति-संयुक्ति गतिशील रहेका छन् । प्रयोज्य भाषा र काव्याभाव दुवै अक्षीय एवम् तरङ्मा वैपरित्यसँग क्रियाशील देखिन्छन् । दुईवटै तत्त्वका प्रमात्रिक चेतनाले ‘बन्डा’ कवितालाई जैविक-जीविति र त्यसका अवधारणामा अङ्कित गरिदिएको छ ।
अभ्युत्थानम् : निर्वासनको दार्शनिकता
कवि नोर्जाङ स्याङ्देनको दोस्रो कविता ‘अभ्युत्थानम्’ मा विषयको विविध विस्तार छ । अवधारणात्मक वहिर्गमनको प्रयास भएको छ । यो पहिलो कविताको वैचारिक रूपायन हो । अभ्युत्थानम् संस्कृतको शब्द हो । यसको वाच्यार्थ ‘आविर्भाव’, ‘उदय’, ‘अभ्युदय’, ‘उन्नति’, ‘स्वागतका लागि उठ्ने काम’ आदि भनेर उल्लेख गरिएको पाइन्छ ।
‘अभ्युत्थानम्’-को विषयवस्तुले सांसारिक क्षरणबाट विमुक्त भई निर्वाणतिर बढ्ने दिशाबोध गराएको छ।
यसको संरचना, शैलीले आसक्ति, संयुक्ति, स्वीकरण आदि जस्ता मानवीय भाव र गुणलाई समेत कवितामा सम्मिलित गराएर काव्यात्मक स्वरूप निर्माण गरेको छ ।
कविताले विषय-मोहको वृत्तबाट व्यक्तिक व्यवहार्य्यलाई ‘निर्वाण’ को तहमा मात्र रहन नदिई ‘निर्वासन’-को काव्यस्तरीय अवस्थामा उठाएको पाइन्छ ।
यस कविताले आफ्नो प्रस्तावनामा सांसारिक तथा जैविक प्राप्ति-क्रियालाई मिथ्याबोध लेख्दछ –
तिमी मलाई यो भन, त्यो भन
कुनै पनि गालीनामले सम्बोधन गर
अक्षरहरू मक्किँदै जान्छ ।
‘यो भन’, र ‘त्यो भन’ ले लक्ष्यार्थ दिँदछ – अनेकौँ सांसारिक जाञ्जल्यको। यी दुईवटा पदको अर्थस्तरीय अन्तरालले भनिइएका सबै बृथा हुन् भन्ने सङ्केत गर्दछ । सदा चलायमान रहने अर्थविहीनताका सम्भाव्य अवस्थालाई ‘अक्षरहरू मक्किँदै जान्छ’-ले प्रष्ट पार्दछ । यही प्रस्तावक बीज-विचारले कविताको अन्त्य निर्मित छ-
चिरन्तन आत्मा तृष्णा उतारेर
विनिर्माणमा विलिन जाऊ
अनि शरीर छँदै दोस्रो अवतारमा आऊ ।
यी पङ्क्तिले कविताको निष्कर्ष निर्माण गरिदिएको छ । कविताको पाठमा प्रयुक्त अन्य सन्दर्भहरू यसका पूरक हुन् ।
जीवनका औपचारिक सीमाबाट विमुक्त भई विस्तार र विराट्तिर अघि जाने दिशा दर्शन गराउन काव्यकेन्द्रको निर्वाण लेख्ने उपक्रम छ –
अब पत्रा पत्रा वस्त्र खोलेर
तिमी पनि अन्तिम नग्नतामा पुग्न
…
शरीर छँदै दोस्रो अवतारमा आऊ ।
‘दोस्रो अवतार’ अस्तित्वको आन्तरिक तहमा सुसुप्त यादृच्छिक भावमण्डललाई प्रकट गराउने सोपान हो । ‘अन्तिम नग्नता’ जैविक अनुभव- रिक्तताको सम्भावित निम्नाङ्कद्वारा आर्जित भावशुन्यताको बिम्ब हो । यो शून्य केवल सामान्य रित्तो अवकास मात्र होइन । प्रमात्रिक शून्यमा उपलभ्य सूक्ष्म तरङ्ग र कणको आभासीय अवस्थाले सिर्जित अनिर्धार्यता जस्तै जैविक अनुभवविहिनताको अवकासमा पनि आउने अर्को स्वरूप ‘दोस्रो अवतार’ को प्रजनक हो ।
बौद्ध दर्शनले व्याख्या गरेको ‘निर्वाण’ यस कवितामा साकार नभए तापनि त्यसको प्रतीकात्मकता र स्पर्शलाई अनुभव गर्नसकिन्छ । मानिसले अकारण साथै उद्देश्यप्रेरित भएर पनि कुनै भुल गर्दा त्यसको प्रतिक्रियामा प्राप्त अनुभवबाट पथ निर्माण गर्दछ –
कुनै पनि गालीशब्दले
भर्खरै डाँडा काटिगएको
अथवा वर्षौँ अधि घुम्ती घुम्तीबाट
ओझेल भएको
जिन्दगीका एक एक चरणलाई
मेरा आँखासामु ल्याइदिन्छ ।
असम्बद्धता (एलिएनेसन), अतीत मोह (नोस्ट्यालजिया) स्वीकरण (रियलाइजेसन) जस्ता भावावस्थाले व्यक्ति र समूह दुवै तहबाट मानिसलाई ‘निर्वासन’ अनुभव गराउँदछ । स्वच्छन्दतावादमा विद्रोह र पलायनले पनि सुनिश्चित स्थितिबाट विकास र चारित्रिक विमुक्ति (निर्वाण)-लाई लेख्नखोजेको पाइन्छ ।
नोर्जाङ स्याङ्देनले निर्वाण र निर्वासनको अवस्थालाई विलयन अथवा वाष्पीकृत हुने क्रियासँग समकक्षीय हेरेका छन्-
… तिम्रो सम्बोधनको अन्तिम सास
तिमी स्वयम्लाई खबर हुँदैन पनि ।
मानव अस्तित्वको अन्तिम लक्ष्य निर्वाण हो । जन्म, मृत्यु रागको चक्र (साइकल अव् सफरिङ्) बाट निस्किएर (पलायन, निर्वासन) आध्यात्मिक (जैविक केन्द्रीयता) यात्राको पराकाष्ठा हो निर्वाण ।
कविले जैविक र आत्मिक केन्द्रभावतिर अभ्युद्देशात्मक रागबाटको विमुक्तिलाई लेखेका छन् :-
लाग्छ, यी गालीहरू गालीहरू होइनन् ।
बरु सौगातहरू हुन्
चराहरू, बादल अनि फुलहरू
कहिले सोध्छन् र
कहाँबाट आए यी रङ्गहरु…
निरन्तरको आघात र मोहबाट ‘गालीहरू गालीहरू होइनन्’ स्वीकार गर्दै बोधिवाक्य (काव्य) उद्भासित छ । यस बिम्बले बौद्धदर्शनको अष्टमार्गलाई द्योतन गर्दछ । यसको सङ्केतले विमुक्त र शान्त अवस्थातिर सुनिश्चितता रहेको देखाउने लक्ष्य पनि राखेको देखिन्छ ।
कविले जैविक सीमाबद्धता, व्यक्तिक अहम्को वृत्तबाट निस्किएर विशुद्ध जीवनानुभवको बोधित्वमा पुग्ने सन्देश लेखेका छन् –
पूज्य तपस्वी कुनै ताक विलासी थिए
वीर धनुर्धारी अर्जुन समेत
कुनै बेला बृहन्नला बने।
निर्वाण भन्नाले अहम्को निर्वहण हो र यसको अनुभव विषयातीत साथै समयातीत हुँदछ । सामान्य अनुभवका क्षेत्र पछिल्तिर काल, अवकास र कारणबद्धताका सीमाभन्दा पृथक स्थिति हो – निर्वाण ।
यस कवितामा कविले निर्वाणको अवस्थाबाट टाढा बस्नुपर्दाको निर्वासन अनुभव गर्दछन् । जीवनका मूल भावबाट विच्छिन्न, विकेन्द्रीकृत, असम्बद्ध, असमानता र सीमावद्धता आदि यस कविताका विषयवृत्त हुन् ।
यिनै आवर्तकलाई ‘अभ्युत्थानम्’ -मा विकसित गराउनुपर्छ भन्ने सङ्केत रहेको छ । जैविक केन्द्रीयताबाट संसारले निर्वासन भोगिरहेको अवस्था अनुभूत गरी कवि नोर्जाङ स्याङ्देनले काव्यिक बोधित्व लेख्नखोजेका छन् ।
भेन्ची जोत : छोटो झरी/छोटो रिट्रिट/ प्रकृतिकेन्द्रिकता र तेस्रो अवकासको खोजी
उपलब्ध तेस्रो कविताको शीर्षकले नै पाठकलाई यसको विषयवस्तु, विषयवृत्त, धारणा र अवलम्बबारे धेरथोर जनाउँदछ । यस कवितामा कुनै निश्चित एउटा भौगोलिक वृत्तभित्र त्यसका प्राकृतिक परिवेशको चित्रात्मक आलेखन गर्दै कविले मानवीय चरित्रको विस्तारलाई समेत उत्कीर्ण गरेका छन् । यस कविताको विषयवृत्तमा ‘छोटो झरी’, ‘सुनसान गाउँघर’, र’छोटो रिट्रिट’ (स्थानावकास) आदि पदावली निर्देशिका बनेर उभिएका छन् –
बाहिर मात्र निस्कन रुचाउने असाध्य चञ्चल मन
अविरल वर्षात्को मौसमभित्र अहिले छोटो झरी छ ।
000
यी सुनसान गाउँ घर
यी घाँसपात, पोथ्रा पोथ्री, रुखघारी
आफैँसित छ ।
000
सायद यो मनलाई त्यसको
आफ्नै घरमा ल्याइपुऱ्याउन
क्षणभरलाई सही
म सफल भएँ कि !
यस कवितामा एउटा सुनिश्चित विन्यस्त क्रमले आख्यानको शृङ्खला बुनेको देखिन्छ । उत्तरसिद्धान्त कालमा भौगोलिक काव्यशास्त्र र समालोचनात्मक सिद्धान्तले साहित्य रचनालाई सम्पूर्ण जीवमण्डल, भौगोलिक मानचित्र, बहुउद्देश्यीय ज्ञानानुशासनका सन्दर्भ साथै विस्तारसित गाँसेर अध्ययन गर्नथालेको छ । यस कवितामा पनि कविले ‘भेन्ची जोत’ को एकान्त, ‘सुनसान गाउँघर’ मा पानी पर्नलाग्दाको अवस्थामा उद्भूत मानसिक अवभासलाई अभिव्यक्त गरेका छन् । यस कवितामा जीवमण्डल, प्रकृति, गाउँको भूगोल आदि क्रमैले वर्णित छन् –
ऐना झैँ टल्किरहेको छ चौर, मैदान, बारी, आँगन, गोरेटो
जमिएर यता उता बगिरहेको पानी, आकासे पानी
000
यी सुनसान गाउँ घर
000
आफैँभित्र बस्न नचाहने वस्तु भने
यो मन मात्र छ ।
कविताको चित्रणमा बाह्य र आन्तरिक भूगोलको पूर्ण विवरणसँग सर्वेक्षण गरिएको छ । मानव अस्तित्व, जीवमण्डल, प्रकृति र भूगोलको अन्तर्सम्बन्ध यिनै अवकासद्वारा निर्मित हुँदछ।
साहित्यमा भौगोलिक निर्देशिकाले जीवन र जगत्-मा रहने प्रासङ्गिक सम्बन्धलाई आवृत्त गराउँदछ । भौगोलिक समालोचनाका अनेकौँ वैशिष्ट्यमध्ये पछिल्लो समयमा एक मुख्य बहसको रूपमा विकसित ‘तेसो अवकास’ नै ‘साहित्यिक भूगोल’ अथवा ‘काव्यिक भूगोल’-को विषयगत अवलम्ब हो । ‘तेस्रो अवकास’-को अवधारणा साहित्यको उत्तर-औपनिवेशिक अध्ययन क्षेत्र साथै भौतिक भूगोलशास्त्रबाट विकसित भएको हो । ‘भेन्ची जोत’ कविता अभीष्ट नभई पनि यस परम्परामा देखिएको एउटा स्वाभाविक रचना हो । यसको पहिलो अवकास भेन्ची जोत हो । दोस्रो अवकासको रूपमा भेन्ची जोत वरिपरिका सुनसान गाउँघर, प्रकृति, रुखपात, माछा, चरा, दह दह पानी, गाउँले केटाहरूले भरिएको चौर, मेघाच्छन्न पाखा आदि उल्लिखित छन्।
यस कवितामा तेस्रो अवकास बनेर आएको कालस्थानिक अवस्थान यस्तो छ –
बाहिरमात्र निस्कन रुचाउने असाध्य चञ्चल मन
000
आफैसित बस्न नचाहने वस्तु भने
यो मन मात्र छ ।
000
अनायास सम्झना हुन्छ
बौद्ध भिक्षुहरूको जो वर्खायामका
दीर्घ अवधिभरि
ध्यानस्थ रहन कुनै गुफातिर
000
घरभित्र पनि घरमै नहुने मन
अहिले यी क्षणपलसित
यो परिवेशसित एकात्मा हुँदैछ।
मात्र गहन श्वास-प्रश्वासमा प्रतिमात् हुँदैछ।
‘तेस्रो अवकास’-मा पहिलो र दोस्रोको यथार्थसँगै कल्पनाशीलता, सांस्कृतिक, ऐतिहासिक विशेषताका समाकलित प्रभावलाई लेख्ने आग्रह छ । कल्पनाका अनेकौँ तह र अन्तर्सम्बन्ध; सांस्कृतिक, ऐतिहासिक घटना, चेतना आदिका कार्यकारण शृङ्खला र भौगोलिक निर्देशिकाको साकल्यद्वारा संश्लेषित साहित्यिक पाठलाई ‘तेस्रो अवकास’ ले सान्दर्भिक ‘भूगोल’ ठान्दछ।
यस कवितामा काव्यिक भूगोलको अनुसन्धानलाई लेखिएको छ –
तिम्रो हाम्रो जस्तो
मनको पनि आफ्नै घर हुन्छ नि
सायद यो मनलाई त्यसको
आफ्नै घरमा ल्याइपु-याउन
क्षणभरलाई सही
म सफल भएँ कि!
पहिलो र दोस्रो अवकासलाई छिचोल्दै तेस्रो अवकासमा आफुलाई अनुभूत गर्न ‘म सफल भएँ कि’ आश्चर्य र प्रश्नसहित वर्णन गरिएको छ ।
भौगोलिक सुनिश्चितता र एककालिक अवकासको विस्तार गर्न कविले ‘मनको घर’ मा ‘तेस्रो अवकास’ बनाएका छन् । मानव चेतना, कल्पना र यथार्थबोधको प्रक्रिया भौगोलिक निर्देशिकाद्वारा नियोजित गरिने काव्य प्रयास भौगोलिक काव्यशास्त्र र समालोचनाशास्त्रले गर्दैल्याएको छ । एड्वर्ड सोजा, होमी एच भाभा आदिद्वारा प्रस्तावित ‘तेस्रो अवकास’-को कार्यकारण शृङ्खला र औचित्यलाई बुझ्दा इम्म्यानुएल पिराल्डोले ‘सम्पूर्ण अवकासलाई विस्तारै अवकासले अधिग्रहण गरिरहेको छ’ भनेका कुरा नेपाली कविता साहित्यका लागि पनि प्रासङ्गिक नै होला ।
अन्तत: नोर्जाङ स्याङ्देनका अद्यावधिक कविता रचनाद्वारा नेपाली साहित्यमा अभिव्यक्तिगत नौला क्षेत्र उद्घाटित हुनेछन् । प्राञ्जल शैली, उद्याम भाव र मौलिक वाङ्मय विस्तार जस्ता विशेषताले युक्त नोर्जाङ स्याङ्देनका कवितामा कलात्मक अवकासको निर्माण भएको छ । नोर्जाङ स्याङ्देनका कवि र कवितामा उर्ध्वगामी, अनन्त एवम् सुखद सम्भावनाका क्षितिज फैलिरहेको देखिँदो छ ।
(नोटः दार्जिलिङ टक्सको महिनाका कवि स्तम्भका सम्पादक डा. सञ्जय बान्तवा हुनुहुन्छ। उत्तरबङ्गाल विश्वविद्यालयका प्राध्यापक डा. सञ्जय बान्तवा बेजोड कवि, गीतकार, समालोचक र अध्येता हुनुहुन्छ।)