- – भविलाल लामिछाने
कतै एकलासमा एक्लै बसेको बेला ‘पोखिएर घामको झुल्का भरि सँघारमा….’ गीत नारायण गोपालको स्वरमा रेडियो वा टिभीमा बजेर मन अमिल्याउँछ । ४३/४४ वर्षको चाक्लो र गहिरो अन्तराल पुरिन पुरिन लागेको बेला एउटा विरक्त अतीत अघिल्तिर आएर उभिन्छ ।
भन्छ, ‘थाहा छ ? भारतको पूर्व अञ्चल असममा झन्डै ९० वर्षअघि एउटा घाम उदाएको थियो। त्यो घाम आँगनभरि पोखिएर नेपालसम्म पुगेको थियो. हिमालमा घाम टल्किँदा सम्झना हुन्छ त्यो ?’
ब्रह्मपुत्र नदी पनि त हिमालकै काखबाट असमको माझमाझ्झी भएर बङ्गोपसागरमा मिस्सिएको छ । त्यसकै काख दिहिङमुखमा २ जुलाई, सन् १९३५ -का दिन उदाएको थियो एउटा नक्षत्र. त्यसको नाउँ थियो – हरिभक्त कटुवाल । वाल्यकाल बोगीबिलको धुलो-माटोमा लुटुपुटु हुँदै यौवनकाल त्यहाँदेखि १६ किलोमिटर टाढा डिब्रुगढ टाउनमा बित्यो । स्कुल पढे । कलेज पढे । समाज-सेवा गरे । ‘असम मेडिकल कलेज अस्पताल’-मै चिकित्सा-क्रममा मृत्यु भएर लावारिस फ्याँकिएका लासहरूको सद्गतिका लागि ‘डिब्रुगढ नेपाली युवक सङ्घ’ नामले एउटा संस्था खोली साथी देवीप्रसाद घिमिरे, कुञ्जनसिँह शाही, अजपमान गजमेर, मनबहादुर छेत्री र अन्य कतिपय युवकलाई साथमा लिएर मानिसको अन्तिम संस्कार जस्तो मानव-सेवा पनि गरे । उनीहरू विभिन्न रोगले मृत्यु भएका नेपाली मानिसहरूका लावारिस शवहरूलाई ब्रह्मपुत्रको तीरमा लगी सम्मानपूर्वक अन्त्यष्टि क्रिया-कर्मका साथ ब्रह्मपुत्रलाई सुम्पिन्थे ।
चीनदेशमा साङ्पो, अरुणाचल प्रदेशमा दिहङ नाउँले बग्ने र असममा प्रवेश गर्दासाथ लोहित नदीसँग मिलेर ब्रह्मपुत्र नदी संसारको नक्सामा टड्कारो देख्न पाइन्छ । शान्त धीर बग्ने यस नदीले साउन-भदौमा प्रलयङ्कारी रूप धारण गर्छ. सन् १९५० को भुइँचालाको बेला यसले सैखोवा, डिब्रुगढको आधाभन्दा बढी र बोगीबिललगायत असमभरि यसका तीरमा रहेका धेरैजसो गाउँहरू खर्लप्प निल्यो । बोगीबिलको त्रासदीपछि कटुवाल परिवार सरकारी सहयोगमा डिगबोइ पेङेरीको अम्बिकापुर गाउँमा बसाइँ सरे । कटुवाल डिगबोइकै भए । त्यसैबेला सन् १९५७ -को जनवरी/फरवरी महिनातिर जनकवि धर्मराज थापा डिगबोइ आएको बेला कटुवालले कविलाई घुमाउँदै फिराउँदै बोगीबिल पनि पुऱ्याएका थिए । कवि प्रतिभा उनमा छँदै थियो, धर्मराज थापाको प्रेरणाले उनलाई कवि नै बनायो । ११/१२ वर्षको उनको डिगबोइबासमा उनले सम्झना (गीत-सङ्ग्रह, सन् १९६०), भित्री मान्छे बोल्न खोज्छ (कविता सङ्ग्रह, सन् १९६१) अनि थुप्रै फुटकर रचना दिए । उनी गीत साह्रै तिक्खर र मर्मस्पर्शी लेख्थे । दसजना नेपाली गीतकारको नाउँ लिँदा कुनै न कुनै ठाउँमा उनी पर्दछन् नै । सन् १९६१– राजा महेन्द्रको निम्तोमा उनी काठमाडौँ गए अनि ‘आकाशका तारा के तारा’ नामक कविताका लागि स्वर्ण पदक पनि पाए । त्यहीँबाट नै उनका लागि नेपालको प्रवेशद्वार खुल्यो ।
एओसी नेपाली एमई स्कुलका शिक्षक रहेर उनले आफ्नो सेवाकालमा डिगबोइका साहित्यकारहरूलाई खेल्ने एउटा फराकिलो आँगन निर्माण गरिदिए । साँच्चै भन्नु हो भने पुष्पलाल उपाध्याय तत्कालीन असममा नेपाली आधुनिक साहित्यका प्रवर्तक मानिन्छन् भने उनी आफूलाई आधुनिक कालका ‘जरासन्ध’ मान्दथे । हुन पनि उनी पूर्वाञ्चलमा नेपाली सर्जकहरूका प्रेरणास्रोत बनेका थिए ।
सन्की र जिद्दी स्वभावको हुनु सर्जकहरूको एउटा विशेषतामा पर्दछ । त्यसैले उनी एओसी (Assam Oil Company) -को लोभलाग्दो नोकरी छाडेर सन् १९६९ -तिर नेपाल हानिए । उनले एकपल्ट यस कलमकारलाई भनेका थिए, ‘जान्दछौ भविलाल, कम्पनीको यो नोकरी सुनको साङ्लो हो । यसले बाँधिएपछि मानिस उम्कन सक्दैन । म नोकरी छोड्छु ।’ छक्क परेर मैले सोधेको थिएँ, ‘सर ! त्यसपछि के गर्नुहुन्छ ?’
‘कुखुराफार्म खोल्छु । कुखुराले दिएका फुल बेच्छु…. एउटा कुखुराले दिनहुँ एउटा फुल दिन्छ । हजारौँ कुखुरा हुन्छन्….दिनहुँ हजारौँ फुल… कति कमाइन्छ भन त ?’ उनले अनुहारभरि उज्यालो पोख्दै भनेका थिए ।
साथीहरू भन्ने गर्थे ‘राजीनामा-पत्र’ सधैँ कटुवालको जेबमा हुन्छ ।’ आखिर नौकरी छोडेर सन्की कवि नेपालतिर लागेछन् – उनले असम छाडेपछि मात्र थाहा लाग्यो । भन्नै पर्दा हरिभक्त कटुवाल र अविनाश श्रेष्ठ असमबाट बाहिरिनु त्यताको नेपाली साहित्यका लागि एउटा त्रासदी नै हो । उनीद्वय जाँदा बनेको खाडल अझै पुरिएको छैन ।
नेपाल गएर कटुवालले ‘यो जिन्दगी खै के जिन्दगी’ लेखे । प्रचुर मात्रामा यश र अपयश दुवै कमाए । सन् १९६१ -मै नेपाल गएको बेला रक्सीको लत लिएर फर्केका थिए । सुनगाभाले दिएको चोटमा मलहम लाउने माध्यम रक्सी नै बनिसकेको थियो । परिवार पनि चाहन थालेको थियो – कटुवाल घरदेखि परै बसेको राम्रो ! हरिभक्त कटुवालले कान्छो भाइ उपेन छेत्रीलाई अत्यन्त माया गर्थे । कटुवालको स्मृति ग्रन्थका लागि (स्मृति ग्रन्थ, सम्पादक: नव सापकोटा, भविलाल लामिछाने, अविनाश श्रेष्ठ, सन् १९८१, प्रकाशक : हरिभक्त कटुवाल स्मृति समिति, १९८१) वार्ताकार दिलीप सिंहलाईं दिएको एउटा अन्तरवार्तामा उपेनले भनेका छन्, ‘….भाउज्यूले आफ्ना लोग्नेलाई त माया नै गर्थिन्, तर रक्सी खाएको घरी अत्याचारको बोझ बोक्नु पर्दा उनलाई यस्तो लाग्थ्यो सायद – ऊ मरिदिए पनि हुन्थ्यो ।’ (पृ. ११८). मुटु हल्लाउने एउटा अवस्था परिवारका लागि ! नेपाल गएर उनले नेपाली साहित्यलाई ‘यो जिन्दगी खै के जिन्दगी’ जस्तो बहुमूल्य पुस्तक उपहारमा दिए भने फर्किंदा पोकाभरि अपयश, तिरस्कार र टुङ्गिन आँटेको एउटा बबुरो जिन्दगी लिएर फर्के !
सन् १९८० को आरम्भतिर हरिभक्त कटुवाल असम, डिगबोइ फर्केका थिए । उनी फर्केको धेरैलाई थाहै भएन । सिकिस्त अवस्थामा उनी डिगबोइ आएर सोझै आफ्नो घर पेङेरी, अम्बिकापुर गएछन्. रोगले च्याप्तै गएपछि श्रीमती जया कटुवाल र एकजना भतिजो केटाले डिगबोइको एओसी अस्पताल आएर डा. दयानन्द दुवरालाई देखाएछन् । डाक्टरको भनाइ थियो, ‘रोग साह्रो भए पनि असाध्य होइन । निको पार्न सकिन्छ । पाँच हजार रुपियाँ जतिको खर्च पर्छ ।
पाँच हजार …….! शिखरमा पुगेका एकजना स्रष्टाका लागि त्यो रकम नाघ्न नसकिने एउटा पर्खाल बनेर उभियो । श्रीमती र भतिजो दुवैले उनलाई डिब्रुगढको ‘असम मेडिकल कलेज अस्पताल’-मा पुऱ्याउने निधो गरेछन् । अम्बिकापुर फर्किन ढिलो भएकाले त्यो रात एक समयका सहकर्मी र साथी अनि कवि गीतकार गुरुभक्त धितालका घर बास बस्नु पर्ने भयो । गुरुभक्त धितालकी श्रीमती गौरादेवी जैसी उनकी पूर्वपरिचित । कटुवालले बेलुकी भनेछन्, ‘गौरा ! आज मलाई माछा खाने मन भएको छ । मिठो माछा पकाऊ है ।’
‘हुन्छ नि सार !…’ गुरुभक्त धितालका घर ढुक्कले रात कटाएर जया कटुवाल र हरिभक्त कटुवाल बिहानै ६.०० बजेको रेलमा डिब्रुगढतिर लागेछन् । भतिजो केटो अम्बिकापुर फर्केछ ।
बिहान ५.५५ बजेको रेलमा चढी श्रीमतीसँग नेपाली साहित्यका सुनामधन्य कवि उपचारका लागि डिब्रुगढतिर जानु र केही दिनपछि हामी ठिक त्यही समयमा त्यसै रेलमा उनलाई भेट्न त्यतै लाग्नु ! एउटा मर्मस्पर्शी सन्योग !
हामी चारजना – यो लेखको कलमकार भविलाल लामिछाने, एओसी नेपाली एमई स्कुलका शिक्षक र कुनै समयका कटुवालका मार्गदर्शक अग्निबहादुर क्षेत्री, एओसीका अधिकारी र ‘बोधकुमारी स्मृति प्रकाशन’-का संस्थापक नारायण शर्मा अनि कटुवालका मामाका छोरा भूपेन छेत्री । रेल आफ्नै लयमा हिँडिरहेछ । उसको छुक छुक शब्दमा बजिरहेजस्तो लाग्छ, ‘आज जीवनको अन्त ? / होइन, होइन, आजै होइन – / यस जीवनको अन्त / बाँचिरहूँ म अनन्त । ‘ (बदनाम मेरा यी आँखाहरू : सङ्कलन सम्पादन – डा. भीमकान्त उपाधयाय ) कटुवालको यो आरम्भकालीन रचना हो. कस्तो अभिलाषा लिएर उनले जीवन आरम्भ गरेका थिए ! कहाँ आइपुगे ! रेललाई वास्ता छैन । त्यो त गाइरहेछ छुक्..छुक्…
‘लाहोवाल आइपुग्यो…’ झ्यालबाट बाहिर हेर्दै नारायण शर्मा भन्छन् ।
‘अब धेरै टाढा छैन…..’ भूपेन छेत्रीको पातलो आवाज सुनिन्छ ।
‘कटुवालजीले आफैँलाई मेटाउँदै हुनुहुन्छ । कटुवालबाट रक्सी झिकिदिने हो भने हामी हीरा भेट्ने थियौँ ।‘ अग्निबहादुर क्षेत्रीको गह्रुँगो बोली ।
‘अब त्यसो हुन सक्ला ?’ म भन्छु । सबैका अनुहारमा नैराश्यको झिनो तह मात्र झल्किन्छ ।
‘कटुवाल की श्रीमती दाज्यूकै घरबाट आउने-जाने गरिरहेकी छन् नि ?’ अग्निबहादुर क्षेत्री भुपेन छेत्रीतिर हेर्छन् ।
‘टि. बी. वार्डमा अरू कसैलाई बस्न दिन्न ।’ झ्यालबाट बाहिर हेरेरै भुपेन क्षेत्री भन्छन् ।
जया कटुवालका दाज्यू कुञ्जनसिँह साहीकै घरमा छिन् । त्यहीँबाट कटुवालको देख-रेख भइरहेछ । मेरा आँखामा डिगबोईको पुरानो रमझम पौडी खेल्छ । कहाँ छुटे ती आफन्त, ती साथी-भाइ, कटुवालको जीवनलाई प्रभावित पार्ने सुनगाभा, भाइलाई पढाएर ठुलो मान्छे बनाउने, बैनी, छोरा-छोरीका लागि सँगाली राखेका मुठीभरि सपना ! …..कसरी चुहेर सकिए औंलाका कापाबाट सबै….. तर, कटुवाललाई कसैप्रति गुनासो छैन । उनी त भन्छन्, ‘परैबाट हाँस तिमी आकाशको जूनझैँ / परैबाट चम्क तिमी ल्हासाको सुनझैँ.’ उनलाई त सबैको मुहारमा उज्यालो हेर्ने रहर छ ।
जीवनको रेल रोकिनु हुँदैन । तर हामी चढेको रेल डिब्रुगढ स्टेशनमा रोकिन्छ । हामी झरेर भिडलाई चिर्दै हतार-हतार बसपार्कतिर लाग्छौँ । ‘खै कस्तो अवस्थामा छन् !’ भन्दै अग्निबहादुर क्षेत्री स्याउ किनेर पोको मेरा हातमा दिन्छन् । स्याउको पैसा ढिपी गरेर नारायण शर्माले बुझाउँछन् ।
सिटी बसमा चढी असम मेडिकल कलेज पुग्न आधा घन्टाको समय लाग्यो । मनमा कटुवाललाई भेट्ने आतुरता र उनको अवस्थाप्रतिको न्यास्रोपन पाकिरहेको थियो । ‘टि.बी. वार्ड कता छ भाइ ?’ मेडिकलकै छात्र हुनुपर्छ । भुपेन छेत्रीले भेटेर सोद्धा बडो नम्र स्वरमा उनले भने, ‘यताबाट जानोस् । पुछारमा पर्छ ।’ हामीले अरू सोधेनौँ । कटुवाललाई भेट्ने आतुरता अझै चर्कियो । हामी छिट्छिटो टि. बी. वार्डतिर लाग्यौँ ।
‘कटुवाललाई टि.बी. नै भएको हो त ?’
‘खै ….’
‘उनलाई अल्सर पनि त थियो ।’
‘रक्सी खाने मानिसलाई के के हुन्छ..हुन्छ…’
‘मानिसले रक्सी खान्छन् तर कटुवाललाई रक्सीले खाने भयो….’
हताशा, निराशा र अलिकति रिसानीका कुराकानीमाझ गुनासाहरू बजिरहे । हामी टि. बी. वार्डकै अघिल्तिर पुगेछौँ । ढोकानिरै । भित्र पसेर सरसर्ती आँखा डुलायौँ । सबैका आँखामा केही वर्षअघिका कटुवालको प्रतिच्छवि थियो । त्यसैले विरामी कटुवाललाई पहिल्याउन साह्रो पऱ्यो ।
‘कसलाई खोज्दै हुनुहुन्छ ?’
ढोकाछेउकै खाटमा पल्टिरहेका रोगी एकजनाले सोधे । त्यस्तै कुनै हाजरिका नाउँ गरेका असमिया मानिस रहेछन् । उनले असमिया भाषामा सोधे । हामीले कटुवालको नाउँ लिएर उनको विवरण दियौँ ।
‘ए……ती नेपालीका ठुला कवि अरे नि ? ऊ त्यो आठ नम्बर खाटमा छन् ।’ भनी सकेर उनले हामीतिर टक्टकी लाएर हेरिरहे ।
‘धन्यवाद ।’ हामी आठ नम्बर खाटतिर लाग्यौँ । नाकमा डिटोल र अरू कुनै चिजको हस्को आइरहेको थियो । विरामीहरूको परिदृश्यले हामीलाई विचलित पारिरहेको थियो । अचानक छेउमै आठ नम्बर खाटमा देखायो। एकजना रोगी डल्लो परेर सुतिरहेको । वास्तवमा डल्लो परेको त भुँडी रहेछ । टाउको सानो अनि कपाल जिङ्रिङ्ग । आँखा गाडेर केही बेर हेरेपछि मात्र चिन्न सक्यौँ – कटुवाल !……..नेपालीका यशस्वी कवि हरिभक्त कटुवाल !! ‘जीवन ! तब पो आज तँ आफैँ / भूलको प्रतिकार गर्न भनेर / संसारको मूल बाटोमा / उर्ली-उर्ली रुँदैछस् / अब त संसार चिनिस् होला !!’ (जीवन, भित्री मान्छे बोल्न खोज्छ, सन् १९६१) । कटुवालले संसार कहिल्यै चिनेनन् । नभए….. उनी टुलु-टुलु हामीलाई असक्त आँखाले हेरिरहेका थिए । हामीले नमस्कार गऱ्यौँ । उनले पनी नालिहाड मात्र रहेका दुई हात मुस्किलले जोर्दै नमस्कार फर्काए ।
‘कटुवाल जी ! के भयो यो ?’ अग्निबहादुर क्षेत्रीका मुखबाट झरिनसक्दै कटुवालका आँखाबाट बररर्र आँसु झरे अनि मुखबाट थकित बोली निस्क्यो, ‘सर ! अब म थाकिसकेँ ।’
‘केही हुन्न कटुवालजी । मन छोटो नपार्नुहोस् ।’ नारायण शर्माले भन्नु भयो । म र भुपेन छेत्री जडवत् उभिरह्यौँ । एकछिन् कटुवाल केही बोलेनन् । हामी चारैजनातिर आँखा डुलाएर मलाई भने । ‘भविलाल ! तिमी आयौ ?’ मैले फेरि हात जोडेँ । नारायण शर्मालाई चिनेनन्, ‘उहाँ ?’
‘हाम्रै कम्पनीका एकजना अधिकारी । समाजसेवी । साहित्यमा पनि रुचि राख्नु हुन्छ ।’ अग्निबहादुर क्षेत्रीले परिचय दिनु भयो. त्यसपछि उनका आँखा भुप्रेन छेत्रीमाथि परे –‘ यो भुपेन ? किन आएको यो यहाँ ? यिनीहरूका खलक किन झुल्किन्छन् ?’ कटुवालको जक्र्याइँले हामीलाई हतप्रभ पाऱ्यो । भुपेन छेत्री न्यास्रो अनुहाएर लाएर यताउति हेर्न थाले । कटुवाल फेरि जर्किए, ‘यसलाई बाहिर निकाल ।’ अवस्थालाई साम्य पार्न हामीले भुपेनलाई एकछिन बाहिर पर्खिन अनुरोध गऱ्यौँ ।
कुन्नि किन हो मामाहरूको घर छेउमै हुँदा पनि कटुवालको उनीहरूसँग कहिल्यै सौहाद्रपूर्ण सम्पर्क रहेन । विशेष गरी दाज्यू-भाइहरूसँग ।
भुपेन छेत्री बाहिर निस्केपछि कटुवालले झिनो स्वरमा भने, ‘डाक्टर दुवराले ५०००.०० रुपियाँ भए बँचाइदिन्छु भनेका छन् ।’
‘चिन्ता नगर्नुस् सार । हामीले थाहा पाएनौँ । थाहा पाएका भए यहाँ आउन दिने थिएनौँ.’ मैले भनेँ ।
‘त्यसको व्यवस्था हुन्छ । तपाईं निको हुनुहुन्छ ।’ नारायण शर्माले भनेपछि हामीले लगेका स्याउको पोको छेउमा राखिदिएर हामी फर्कनतिर लाग्यौँ । उनी आँखा चिम्ली केही सोचिरहेका थिए । त्यहाँको पर्क्वेशबाट हामी उकुसमुकुसिएका थियौँ ।
‘लौ त कटुवालजी ! हामी फेरि आउँला ।’ अग्निबहादुर छेत्रीले विदा माग्दा कटुवाल खिस्स हाँसे । आँसुका थोपा उनका गालाबाट अझै ओभाएका थिएनन् ।
हातजोर गरी विदा लिएर फर्किंदा ढोका छेउमा अघिको रोगीले रोक्दै भन्यो । ‘सुन्नुहोस् त, उहाँ तपाईंहरूका ठुला कवि अरे….. मानिसहरू भेट गर्न आइरहेका छन्… डाक्टरले निको हुन्छ भनेको थियो । उठेर हिँडडुल पनि गर्नु हुन्थ्यो, तर, हिजो बेलुकीतिर एकजना मानिस आएर उनलाई लिएर गयो । राति निकै ढिलो फर्के । आउँदा उहाँले रक्सी खानुभएको थियो. उहाँ निकै आनन्दमा हुनुहुन्थ्यो । भन्नुहुन्थ्यो, ‘आज सुँगुरको मासु मज्जाले खाइयो । बडो मज्जा आयो ।’ राति दुईबजेतिर पेट फुलेर यो अवस्था भयो। ’ हामी केही बोलेनौँ ।
बाहिर निस्केपछि नारायण शर्माले भने, ‘के हामी फेरि आउन पाऊँला ?’
‘खै…..’ अग्निबहादुर क्षेत्रीले भने । हामी हिँड्यौँ. भुपेन छेत्री केही नबोली पछिपछि लागे ।
डिगबोइ फर्केर मैले उनकै प्रिय छात्र एन. बी. रिजालसँग पाँच हजार रुपियाँको कुरो गरेँ । उनी पनि तात्तिए । बुद्धिमान गिरीले हाम्रो हौसला बढाए । पाँच हजार रुपियाँको जोहो गर्न हामी चन्दा-सङ्ग्रहतिर लाग्यौँ । एकै दिनमा पन्ध्र सय रुपियाँ सङ्ग्रह भएछन् । हामीलाई काम छिट्छिटो गर्नु थियो । ११ सेप्टेम्बर, १९८० । चन्दा सङ्ग्रहका लागि जाँदै थिएँ, बाटोमा पण्डित टिकानिधि उपाध्याय भेटिए । भने – ‘सुन्नु भो’ ?’
आङ जिरिङ्ग भयो । मैले रोकिएर सोधेँ , ‘के ?’
उनले हात माथिल्तिर देखाउँदै भने, ‘कटुवाल सर त……’
‘हो र ? हे प्रभो……!’ मेरा खुट्टा भुइँमै गाडिए जस्तो भयो ।
१० सेप्टेम्बर, १९८० – का दिन कटुवालले चोला फेरे । उनलाई भेट्न गएकी सन्ध्या प्रधानले ‘कटुवाल स्मृति ग्रन्थ’-मा गरेको एक टुक्रा वर्णन यहाँ दिन समीचीन ठान्दछु । उनी भन्छिन्, ‘….डिगबोइबाट उहाँलाई भेट्न जानु भइरहेका दाज्यू-भाइहरूद्वारा समय-समयमा जानकारी पाइरहन्थ्यौँ . ….. यसैबिच मौका निकालेर म, हाम्रा दुई गुरुआमा-दिदी सुश्री रीतादेवी दर्नाल र सुश्री पूर्णमाला थापा कटुवाल सरलाई भेट्ने उत्कट् इच्छा लिएर ११ सेप्टेम्बरको बिहान ५.५५ को ट्रेनद्वारा बिहान ९.०० बजे स्टेसनमा ओर्लिएर बसद्वारा मेडिकलतर्फ लाग्यौँ । उहाँलाई राखेको वार्ड खोज्दै गई बिहान १० बजे उहाँलाई राखिएको कोठामा पुग्यौँ, तर चारैतिरका बेडमा हेर्दा पनि उहाँलाई देख्न नपाउँदा त्यहीँ एकजना रोगीलाई हरिभक्त कुन बेडमा राखिएका छन् भनी सोद्धा उनले भने, ‘अरे ! तपाईंहरूलाई थाहा भएन उहाँ त हिजो राति अर्थात् १० सेप्टेम्बरको राति ११.०० बजे स्वर्गबास हुनुभयो । हामी वाल्ल पऱ्यौँ ……….सोध्यौँ , ‘त्यसोभए उहाँलाई कहाँ राखिएको छ त ?’ रोगीले भने, ‘हिड्नुस् म देखाइदिन्छु ।’ हामी पनि यन्त्रचालित भएर उनका पछि लाग्यौँ . ……….रोगीले त्यहाँ लगी देखाए – यहीँ हुनुहुन्छ हरिभक्त कटुवाल. ……..परोक्षबाट नै जब उहाँको मृत शरीरमाथि ढाकेर राखेको अवस्थामा सर्सरती दृष्टि परेथ्यो । विश्वास लागेको थिएन त्यहाँ हाम्रा गुरु कटुवालज्यूको मृतदेह विद्यमान छ भन्ने…..’ (अन्तिम प्रणाम – सन्ध्या प्रधान, हरिभक्त कटुवाल स्मृति-ग्रन्थ, सन् १९८१, पृ. ७१)
कटुवालको अन्तिम अध्यायको दृश्य-पटमा उपस्थित देखिन्छन् ११ जाना मलामी.
१. दिगन्त छेत्री (पुत्र)
२. कुञ्जनसिं शाही (जेठान)
३. देवीप्रसाद घिमिरे
४. जगन्नाथ छेत्री
५. इन्नद्रप्रसाद घिमिरे
६. विष्णुलाल शर्मा
७. चन्द्र छेत्री
८. चन्द्र खाती
९. कृष्णप्रसाद सुवेदी
१०. अजपमान गजमेर
११. नरबहादुर
भनिन्छ मानिस आउँदा नगरा बजाउँदै आउनू अनि जाँदा चुपचाप जानू । चाल पाएर पात पनि नहल्लियोस् । हरिभक्त कटुवालको पनि त्यही भयो । एउटा महत्त्वपूर्ण कुरो के भने तरुण अवस्थामा कटुवालले स्थापित गरेको संस्था ‘डिब्रुगढ नेपाली युवक सङ्घ’-ले असम मेडिकल कलेजका नेपाली मानिसका लावारिस मृतदेहहरूको दाह-संस्कार गर्ने पुण्यको काम गर्थ्यो. कटुवाल जाँदा पनि ब्रह्मपुत्रको तीरमा उनको दाह-संस्कार गर्ने उनै साथीहरू थिए – मात्र ११ जना !
‘मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु ठिकै छु बिथोल्न न आऊ’
तर तिमी मभित्र पनि त सधैँ दुखिरहेका छौ !