१५ प्रतिशत श्रमिकहरूसहित चियाकमान खुल्ला राज्य सहमतः असमञ्जसमा श्रमिक सङ्गठन

0
1030

दार्जीलिङ, १० अप्रेलः पश्‍चिम बङ्गाल सरकारले चियाकमानमा १५ प्रतिशत श्रमिकलाई लगाएर काम शुरू गराउने अनुमति प्रदान गऱ्यो।

हिजो राज्यका मुख्य सचिवद्वारा जारी एक निर्देशमा चियाकमानहरूमा १५ प्रतिशत श्रमिकहरूलाई लगाएर काम गराउन सकिने अनुमति प्राप्त भएपछि श्रमिक सङ्गठनहरू निकै असमञ्जसमा परेका छन्।

यसैले विनय तामाङपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले चियाश्रमिकहरूलाई आफ्नै इच्छाअनुसार आउँदो कदम उठाउने जिम्मा दिएको छ।

युनियनका महासचिव भरत ठकुरीले यसबारे भने, “राज्य सरकारको यस निर्णयबारे दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनको भन्नु केही छैन। तर १५ प्रतिशत श्रमिकहरूलाई कस्तो आधारमा काममा लगाइन्छ, उनीहरूले काम गर्दा सामाजिक दूरी कसरी पालन गरिन्छ, त्यसमाथि ध्यान दिने चियाकमान मालिकवर्गकै जिम्मेवारी हो।’’

यसैले देश मात्रै होइन, विश्‍न नै कोरोना भाइरसको चपेटमा परिरहेको समय साथै देशमा लकडाउन चलिरहेको समय चियाकमानका श्रमिकहरूले काम गर्नुपर्ने अवस्था आएको उनले बताएका छन्।

ठकुरीका अनुसार यसमाथि चियाकमान मालिक अनि प्रबन्धनपक्षले नै विशेष ध्यन दिनपर्छ।

यसका साथै उनले काममा जानु-नजानु चियाश्रमिकहरूकै इच्छा हो भन्ने पनि बताएका छन्।

यसरी नै विभिन्न पार्टीका श्रमिकहरू मिलेर गठन भएको जोइण्ट फोरम नेता एवं पूर्व सांसद समन पाठकसित यसबारे सोध्दा उनले जोइण्ट फोरमका घटक दलहरूसित सल्लाह गरेर बयान जारी गरिने बताए।

यद्यपि, उनले चियाश्रमिकहरूको सुरक्षाका लागि अप्नाइने व्यवस्था, सामाजिक दूरीका साथै उनीहरूलाई प्रदान गरिने रोजीको भुक्तान कसरी हुन्छ भन्नेबारे चियाबगान मालिकहरूले स्पष्ट पार्नुपर्ने जनाए।

“सरकारको निर्देशअनुसार, १५ प्रतिशत चियाश्रमिकहरूले काम गर्नेछन्, यदि यसो भए रहल ८५ प्रतिशत चियाश्रमिकहरूको रोजी के हुन्छ? यो चियाबगान मालिकहरूले स्पष्ट पार्नुपर्छ’’, पाठकले भने।

उल्लेखनीय छ, गत ३ अप्रेलको दिन केन्द्र सरकारले चियाकमानहरूमा ५० प्रतिशत श्रमिकलाई काममा लगाउने निर्देश जारी गर्दै चियाकमानहरू खोल्ने स्पष्ट सङ्केत दिएको थियो।

 तर, केन्द्र सरकारको उक्त निर्देश सार्वजनिक हुनसाथ दार्जीलिङ पहाड़भरिका श्रमिक सङ्गठनहरूले तीव्र विरोध जनाएका थिए अनि अन्य जनतालाई लट्ठी लगाएर घरभित्रै बस्नु भन्ने निर्देश दिइएको समय चियाश्रमिकहरूले कसरी काम गर्नु भन्ने प्रश्‍न उठाइएको थियो।

यसैबीच, राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पनि चियाकमानहरू हाललाई बन्द नै राखिने घोषणा गरेकी थिइन्। जसबारे उनले जीटीए अध्यक्ष अनित थापासित पनि सल्लाह गर्ने अनि विचार-विमर्श गरिने जनाएकी थिइन्।

यसको केही दिनपछि नै राज्य सरकारले १५ प्रतिशत चियाश्रमिकलाई  काममा लगाउने सकिने निर्देश जारी गरेपछि काममा जाने-नजाने जिम्मेवारी चियाश्रमिकहरूकै टाउकोमाथि आइपरेको स्पष्ट छ।

यद्यपि, आज पनि दार्जीलिङ पहाड़का चियाकमानहरू पूर्णरूपले ठप्पै रहेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here