सिन्कोना बगानको जीर्णोद्धार अत्यावश्यकः बिष्ट

0
1594
राजु बिष्ट (फाइल फोटो)।

दार्जीलिङ, १० अप्रेलः कोरोना भाइरसको उपचारका लागि अचुक बनेको हाइड्रोक्सिक्लोरोक्नको कारण चर्चा पाएको सिन्कोना बगानको जीर्णोद्धार अत्यावश्यक रहेको सांसद राजु बिष्टले बताएका छन्।

यसका लागि केन्द्रबाट ल्याउन सकिने सबै प्रकारका सहयोगका लागि आफू लागिपर्ने पनि बताएका छन्।

शुक्रबार एक प्रेसविज्ञप्ति जारी गरी उनले यस्तो बताएका हुन्। यसका साथै उनले सिन्कोना बगानलाई भारतकै मेडिकल प्लान्टेशन हब बनाउने आफूलाई विचार आएको पनि बताएका छन्।

‘यसो गर्नु एकदमै सम्भव छ। सटिक योजना, बजारीकरण र कार्यान्वयन समूह लिएर सिन्कोना बगानलाई हामी राजस्व प्रदायक एकाइको रूपमा परिवर्तित गर्न सक्छौं’, विज्ञप्तिमा बिष्टले भनेका छन्, ‘तर यसका लागि हामीलाई समस्त सम्बन्धितहरूको सहयोगको खाँचो छ। अहिले घड़ी, केन्द्र सरकारले जन-स्वास्थ्य अभियानहरूलाई प्रोत्साहित गरिरहेको छ| पश्चिम बङ्गाल सरकारले यस अवसरको लाभ उठाउँदै सिन्कोना बगानहरूको जीर्णोद्वार गर्नु अति आवश्यक छ।’

सांसदका अनुसार उनले यस क्षेत्रमा आयुष मन्त्रालयअन्तर्गत् नेशनल मेडिकल प्लान्ट्स बोर्ड (एनएमपीबी)-को तत्वावधानमा औषधीय वनस्पति अनुसन्धान केन्द्र स्थापना गर्ने प्रयास शुरू गरिसकेका छन्।

यसो भएको खण्डमा सिन्कोना साथै अन्य औषधीय वनस्पतिहरूलाई समुचित रूपमा व्यवस्थित गर्न सकिने बिष्टको भनाइ छ।

‘आजसम्म, सिन्कोना बगानलाई केवल अनि केवल सामाजिक-राजनीतिक दृष्टिले मात्रै हेर्ने गरिएको छ। सरकार बद्लिरह्यो, तर भोट ब्याङ्कभन्दा माथि यस सम्बन्धमा कसैको दृष्टि गएन’, उनले भनेका छन्, ‘मलाई लाग्छ, सिन्कोना बगानलाई अर्थ उपार्जन परिधिबाट नियालेर हेर्ने समय आएको छ।’

बिष्टले थप भनेका छन्, ‘दार्जीलिङ र कालेबुङ जिल्लामा सिन्कोना बगाको १६० वर्ष पुरानो गौरवमय इतिहास छ। एक समय भारतको कुइनाइन् उत्पादनको प्रमुख केन्द्रको रूपमा रहेको यसमा लगभग ७००० कर्मचारीलगायत ५० हजार जनसङ्ख्या निर्भर गर्दछ। चिया उत्पादनपछि सिन्कोना उत्पादन पहाड़को दोस्रो ठूलो कर्मक्षेत्र दिने स्रोत हो।’

उनका अनुसार यदि सिन्कोना बगान अन्य स्थानमा भएको यतिका प्रमुख उद्योगलाई अवश्यै सरकार, बजार विशेषज्ञ र उद्योगपतिहरू मिलेर आवश्यक ध्यान दिई नीति बनाउने थिए।

यद्यपि पश्चिम बङ्गालमा सरकारले आफ्ना सबै जिम्मेवारीलाई सिन्कोना बगानविपरीत पन्साउँदा राज्यमा यस सम्बन्धित चारवटा कारखाना बन्द हुनुपरेको सांसदको आरोप छ।

‘यसको व्यापार बर्बाद भयो। अनि एक समय गौरव मानिएको उद्योगलाई पुनर्जीवित गर्ने कार्य देखिएन’, बिष्टको दाबी छ।

अर्कोतिर उनले केहीदिन यता सिन्कोना बगानलाई हाइड्रोक्सिक्लोरोक्विन केन्द्र बनाउन सकिने सुझाउहरूबारे आफूलाई फोन कल्स र म्यासेजहरू प्राप्त भइरहेको बताएका छन्।

यससम्बन्धमा सांसद राजु बिष्टले भनेका छन्, ‘मलाई बताइएअनुसार यो कृत्रिम उत्पाद हो। पहाड़को सिन्कोना प्रयोगशालाहरूको क्षमतालाई लिएर मेरो मनमा संशय छ। तर, सही उपकरण, साधन र रसायनहरू दिएवापत यहाँको सिन्कोना बगानका कारखानाहरूले पक्कै नै हाइड्रोक्सिक्लोरोक्विन बनाउन सक्नेछन्।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here