दार्जीलिङ, 10 अप्रेल: दार्जीलिङ हिल तृणमूल युवा कङ्ग्रेसको दार्जीलिङ टाउन कमिटीले यसपालिको चुनाउमा विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चालाई सहयोग गर्ने घोषणा गऱ्यो।
जसका कारण दार्जीलिङ पहाड़का तृणमूल कङ्ग्रेस समर्थकहरूमाझ अझै अन्योल बढ़ेको छ।
तृणमूल युवा कङ्ग्रेसले स्पष्ट शब्दमा भनेको छ, “तृणमूल कङ्ग्रेस नेत्री एवं मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङ पहाड़का तीनवटा आसन खुल्ला छोड़िदिएकी छन्। जसका कारण यी तीनवटा आसनबाट विनय तामाङपन्थी र विमल गुरूङपन्थी गोजमुमोले आ-आफ्नै उम्मेदवारहरू खड़ा गरेका छन्। दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसका नेतृत्ववर्गले विमल गुरुङपन्थी गोजमुमोलाई समर्थन जनाएको घोषणा गरे तापनि तृणमूल युवा कङ्ग्रेसले विनय तामाङपन्थी गोजमुमोलाई सहयोग गर्ने निर्णय लिएको छ। किनभने, 2017-को आन्दोलनमा दार्जीलिङ पहाड़का तृणमूल कङ्ग्रेस समर्थकहरूलाई विनय तामाङ, अनित थापा आदिले धेरै सहयोग पुऱ्याएका थिए। जसको ऋण चुक्ता गर्नका लागि हिल तृणमूल युवा कङ्ग्रेसले यस चुनाउमा विनय तामाङपन्थी गोजमुमोबाट खड़ा भएका उम्मेदवारहरू क्रमैले केशवराज पोख्रेल, छिरिङ दाहाल र रूदेन सादा लेप्चालाई उनीहरूको चुनाउ चिन्ह सिटीमा मतदान गरेर विजय तुल्याउने निर्णय गरेको छ।”
यसबारे थप जानकारी गराउँदै तृणमूल युवा कङ्ग्रेसका दार्जीलिङ टाउन कमिटी अध्यक्ष गणेश छेत्रीले भने, “वर्ष 2012-मा दार्जीलिङ पहाड़मा तृणमूल कङ्ग्रेसको बीजारोपण गर्ने हामी नै हौँ अनि पार्टी नेतृ ममता ब्यानर्जीले पहाड़का यी तीनवटा आसनमा कसलाई समर्थन गर्नु भनेर स्पष्ट बताएकी छैनन्। यसका लागि दार्जीलिङ पहाड़का तृणमूल कङ्ग्रेसकै कार्यकर्ताहरूलाई आफ्नो निर्णय लिने बाटो खुल्ला छोड़िदिएकी छन्। यसैले तृणमूल युवा कङ्ग्रेसले यस चुनाउमा विनय तामाङपन्थी गोजमुमोलाई सहयोग गर्ने निर्णय लिएको हो। जसका लागि तृणमूल युवा कङ्ग्रेसले भोलिदेखि नै प्रचार गरिदिने पनि निर्णय लिएको छ।”
यसका साथै उनले दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसको नारी एकाइले पनि विनय तामाङपन्थी गोजमुमोलाई साथ दिने निर्णय गरिसकेको बताउँदै यसको लागि नारी एकाईले पनि शीघ्रै यसबारे घोषणा गर्ने जनाए।
तृणमूल युवा कङ्ग्रेसका कार्यकर्ताहरूसितै पत्रकार सम्मेलनमा सहभागी बनेका दार्जीलिङ हिल तृणमूल कङ्ग्रेस दार्जीलिङ महकुमा समितिका सहसचिव पाल्देन लामाले पनि युवा एकाइको यस घोषणालाई स्वागत जनाए।
उल्लेखनीय छ, दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसले अघिबाटै विमल गुरुङपन्थी गोजमुमोलाई समर्थन जनाइसकेको छ भने उक्त समर्थनको पार्टीकै नेता बिन्नी शर्मा आदिले विरोध जनाएका छन्।
यसैबीच, आज तृणमूल युवा कङ्ग्रेसले विनय तामाङपन्थी गोजमुमोलाई समर्थन जनाएको घोषणा गरेपछि पार्टी कार्यकर्ताहरू अझै अन्योलमा परेका छन्।
यति मात्रै होइन, तृणमूल कंग्रेसकै एक भ्रातृ सङ्गठनको रूपमा रहेको दार्जीलिङ नगरपालिका कर्मचारी संगठनले पनि विनय तामाङपन्थी गोजमुमोलाई समर्थन जनाइसकेको छ।