तृणमूल गोर्खाविरोधी पार्टी हो भने भाजपा जनजातिविरोधी : अमर लामा

0
1738
सुके पोखरीमा सम्पन्न चुनावी जनसभालाई सम्बोधन गर्दै जाप उम्मेदवार अमर लामा।

दार्जीलिङ, १० मई : आगामी उपचुनाउका लागि चुनावी प्रचार प्रसारमा व्यस्त जनआन्दोलन पार्टी (जाप)-ले शुक्रबार सुके पोखरीमा चुनावी जनसभा आयोजन गऱ्यो। उक्त चुनावी जनसभालाई सम्बोधन गर्दै जापका ब्युरो सदस्य एवं उम्मेदवार अमर लामाले तृणमूल कङ्ग्रेस र भाजपामाथि कटाक्ष गर्दै दुवै पार्टीले गोर्खाहरूको हितमा कहिल्यै काम नगर्ने दाबी गरे।

“तृणमूल कङ्ग्रेस गोर्खाविरोधी पार्टी हो। तृणमूल कङ्ग्रेसको उद्देश्य गोर्खाहरूलाई टुक्रा टुक्रामा विभाजन गर्नु हो’’, लामाले थपे, ‘‘तृणमूल कङ्ग्रेस गोर्खाविरोधी पार्टी हो भने भाजपा जनजातिविरोधी पार्टी हो। भाजपाले गोर्खाहरूलाई जनजातिको मान्यता कहिले दिनेछैन।’’

राज्यको शासक दलमाथि कटाक्ष गर्दै जाप उम्मेदवार भने, “पहाड़मा विभिन्न जातको बोर्ड गठन गर्नु तृणमूल कङ्ग्रेसको दुस्साहस हो। गोर्खाहरूको जातीय एकता त्यति कमजोर छैन। गोर्खा जातिको २०० वर्षको इतिहास छ। तिमीले दिएको १५०-२०० करोड़ रुपियाँले गोर्खा एकता टुट्दैन।’’

त्यस्तै भाजपामाथि कटाक्ष गर्दै लामाले भने, “भाजपा जनजातिविरोधी पार्टी हो। यो कुरा तपाईंहरूले राम्ररी बुझ्नुपर्छ। ५ वर्षको अन्तरालमा नरेन्द्र मोदीले जनजातिका लागि के के गरे, त्यो तपाईंहरूले हेर्नुहोस्। अध्ययन गर्नुहोस्। हाम्रा ११ जातगोष्ठीलाई जनजातिको दर्जा दिन्छु भनेर प्रधानमन्त्री पदका उम्मेदवार नरेन्द्र मोदी उत्तर बङ्गाल आएर दुई-दुईपटक ढाँटेर गयो। भाजपाले कहिले पनि गोर्खाहरूलाई जनजातिको मान्यता दिँदैन।’’

आफ्नो भाषणको शुरुमै जापलाई ‘ह्विसल ब्लोअर’ बताउने अमर लामाले जनआन्दोलन पार्टीले मात्र साँचो अर्थमा गोर्खाल्याण्डको मुद्दा उठाइरहेको दाबी गरे। भाजपालाई अघि लगाइरहेका विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) र गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-लगायत पहाड़का अन्य गोर्खा नामधारी राजनीतिक पार्टीले गोर्खाल्याण्डको मुद्दा छोड़िसकेको तथा तृणमूल कङ्ग्रेसलाई समर्थन गरिरहेको विनय तामाङपन्थी गोजमुमोले त गोर्खाल्याण्डको शब्द नै उठाउन नसक्ने बताए।

यसका साथै उनले एकथरी राजनीति पार्टीले बिहान उठेकोदेखि पैसा बाँड़िरहेको र अर्कोथरी डम्फू बजार भाषाको नाममा भ्रम प्रचार गरिरहेको पनि आरोप लगाए।

‘‘जाप चुनाउमा रहरले खड़ा भएको होइन। हामीलाई चुनाउ लड़न कर लाग्यो। आज दार्जीलिङको क्षेत्रीयवाद, क्षेत्रीय राजनीतिको अस्तित्वमाथि सङ्कट आइपरेकोले जाप चुनाउमा उठेको हो’’, उनले थपे, ‘‘जापका लागि यो उपचुनाउ धेरै गम्भीर भएको छ। हामीले यो चुनाउलाई धेरै गम्भीर रूपमा लिनुपर्छ।’’

लामाले दार्जीलिङलाई भाजपा र तृणमूल कङ्ग्रेसले राजनीतिक टुँड़ीखेल भएको बताए। साथै पछिल्लो लोकसभा चुनाउमा गोर्खा जातीय एकताको नाम दिएको दलीय एकता दिल्लीमा कसैको मध्यस्थतामा भएकोले विधानसभाको उपचुनाउ आइपुग्दा भङ्ग भएको बताए।

यसका साथै अहिले एकतामा रहेका दलहरू पनि विधानसभाको उपचुनाउ सकिएलगत्तै परस्परबाट छुट्टिएर आ-आफ्नो बाटो लाग्ने तथा एउटै मञ्चमा नरहने जाप उम्मेदवारको ठोकुवा छ।

‘‘गोर्खा जाति सामाजिक र सांस्कृतिक कार्यका लागि मात्र एक हुन्छ। तर राजनीतिक कार्यका लागि हुँदैन। राजनीतिक एकता असम्मत कुरा हो। यो कृत्रिम कुरा हो। राजनीतिमा जातीय एकता हुँदैन’’, उनले थपे, ‘‘गोर्खाल्याण्ड नै छैन त्यहाँ कसरी जातीय एकता हुन्छ? जातीय एकता उनीहरूले चुनाउ जित्नका लागि देखाउने हात्ती एउटा दाँतजस्तो मात्र हो। यसलाई लिएर मतदाताहरू भ्रममा नपर्नुहोस्।’’

सभामा जापका नेता नोर्देन पेम्पा हिस्से, युवा र चेली एकाइका नेतृत्वहरूलगायत स्थानीय जाप कार्यकर्ताहरू उपस्थिति थियो। अर्कोतिर आजै जापले मानेभञ्ज्याङ बजारमा पनि चुनावी सभा आयोजन गरेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here