दार्जीलिङ, 10 मई : भाजपा उम्मेदवार नीरज जिम्बाको समर्थनमा सुके पोखरी बजारमा चुनावी जनसभा सम्पन्न भयो। आजको सभामा जिम्बाको प्रचार प्रसारका लागि भाजपाका लोकसभा उम्मेदवार राजु विष्ट विशेष रूपले उपस्थित थिए।
सभालाई सम्बोधन गर्दै उम्मेदवार जिम्बाले जनतालाई आगामी 19 मईसम्म नथाक्ने आह्वान गर्दै 23 मईमा मतपेटिका खोलिँदा लोकसभामा राजु विष्ट र विधानसभामा नीरज जिम्बाको जीत हुने दाबी गरे। “तपाईंहरूको जिम्मेवारीलाई अघि बढ़ाउने हामी दुईजनाको काम हो”, यी भाजपा उम्मेदवारले भने।
जिम्बाले थप भने, “मैले लोकसभा चुनाउमा नै भनेको हुँ, यो चुनाउभन्दा ठूलो चुनौती हो। म उपचुनाउको प्रचारमा गाउँ-घर घुम्दै जाँदा मलाई जनताले जिताइसकेको अनुभूत भएको छ। मैले चुनाउ जितिसकेको महसुस भइरहेको छ।’’
आफूहरूको जीतप्रति विश्वस्त देखिएका उनले विनय तामाङ र अमरसिंह राईको हार पक्कापक्की भइसकेको ठोकुवासमेत गरे।
उनले एमएलए चुनाउलाई राजनीतिक बाध्यता बताउँदै आफूले यसअघि एमएलए चुनाउ लड़्ने र विधायक बन्ने कहिले सपना नदेखेको पनि दाबी गरे। “मलाई विधायक हुने कुनै रहर थिएन। म एमएलए हुन्छ, हुनचाहन्छु भनेर सपनामा पनि सोचेको थिइनँ”, उनले थपे, “किनभने हामीले यसअघि पठाएका जति पनि विधायकहरू पठायौं, सबै ‘बब्लिङ’ हुनेहरू छन्। आफ्नो पार्टीलाई धोका दिनेहरू छन्।”
यसो भनिरहँदा उनले कसैको नाम भने उच्चारण गरेनन्, तर दार्जीलिङ, खरसाङ र कालेबुङकाहरू भनी परोक्ष रूपले अमरसिंह राई, डा. रोहित शर्मा र डा. हर्कबहादुर छेत्रीप्रति सङ्केत गरे।
जिम्बाका अनुसार उनले उपचुनाउ जिते विनय तामाङको हार हुनेछ, तर अनित थापाले भने जित्नेछन्। अनित थापाको राजनीति विनय तामाङले नबुझेको बताउँदै अब तामाङको टाइँ टाइँ फिस्स हुने दिन नजिक रहेको जिम्बाको दाबी छ।
विनयमाथि कटाक्ष गर्दै जिम्बाले भने, “एउटा पार्टीको अध्यक्ष चाहिँ एमएलए चुनाउ उठ्ने, त्यै पार्टीको साधारण सदस्य चाहिँ एमपी चुनाउ उठ्ने, यस्तो पनि कहीं हुन्छ?”
विनय तामाङ र गोजमुमो-2 प्रति आक्रामक देखिएका उनले दार्जीलिङमा बाटो र झोड़ा-नालाको राजनीति नभएर माटोको राजनीति रहेको पनि बताए। भाजपा उम्मेदवारले भने, “हाम्रो राजनीति बाटो र झोड़ा नालाको होइन, माटोको लड़ाइँ हो। अस्तित्व-अस्मिता र चिह्नारीको लड़ाइँ हो।”
जिम्बाले थप भने, “विनय त एउटा कठपुतली मात्र हो। मुखौटो मात्र हो। तर ऊपछिको षड़यन्त्र, ऊपछिको शक्ति ममता ब्यानर्जी हो।” तृणमूलको शक्तिलाई पराजित गर्नका लागि एउटा कवचका रूपमा आफूले भाजपाको टिकटमा चुनाउमा खड़ा भएको खुलाए।”
सभालाई भाजपाका लोकसभा उम्मेदवार राजु विष्ट र विमलपन्थी गोजमुमोका प्रवक्ता बीपी बजगाइँ, एचपीडब्ल्यूयूका अध्यक्ष जेबी तामाङले पनि सम्बोधन गरे। आफ्नो सम्बोधनमा लोकसभा उम्मेदवार राजु विष्टले विनय तामाङलाई दार्जीलिङ पहाड़को भाइरसको संज्ञा दिए।