वास्तवमा गीत गणित नै हो

0
1901

-सौजन्य छेत्री

”दार्जिलिङ सम्झिँदा म स्वतः पुरण दाजु सम्झिहाल्छु’’, सोनादा काटेपछि सुकुमार दाजुले भन्नुभयो।

हामी बाइकमा दार्जिलिङ गइरहेका छौँ। हामी अर्थात् म र सुकुमार बराइली।

सुकुमार बराइली उज्यालो सम्भावना बोकेका गीतकार। जहिल्यै गीतप्रति समर्पित। गीतकै सपना- विपना बोकेर त्यसैका लागि घोरिरहने व्यक्ति। उनकै ‘आमा रोएकी चियाबारी’ -को कामलाई लिएर हामी मिरभ कम्प्युटेक प्रिन्टर्स, दार्जिलिङ गइरहेका हौँ। यो कुरा मई, २०१४ -तिरको हो।

म बाइकको पछाड़ि छु। बेमौसम पानी परिरहेको छ। चिसो हावाले अनुहारमा एकोहोरो हिर्काइरहेकाले शरीर जाड़ोले कामिरहेको छ। यस्तो बेला अघिल्तिरबाट बोलेको शब्द पछाड़ि काटिँदै आइरहेको छ।

यसपछि पनि उनले अरू के के भने आधा सुनिरहेको छु। आधा अनुमान लगाइरहेको छु।

सुनेकाहरूमा धेरै एक गीतकारबाट अर्का गीतकारको प्रशंसा छ। प्रशंसा गीतकारको छ, व्यक्तित्वको छ। सुकुमार बराइली अक्सर भनिरहनुहुन्छ, ‘पुरण दाजु सबै वयका मानिसलाई मन छुने गीत लेख्ने उत्कृष्ट गीतकार मात्र होइनन्, तर व्यवहारले पनि उत्तिकै सहृदयी र सहयोगी मानिस पनि हुन्।’

पुरण गिरीलाई गीतमार्फत् नै चिनेको हुँ मैले। उनको गीत लेख्ने खुबीले हुरुक्क भएर नजिक भएको हुँ। पछि अझ धेरै चिन्दै गएपछि उनका थप खुबी, सफलता र उपलब्धिसँग परिचित हुनपुगेँ।

मलाई लाग्छ, पुरण गिरी ती भाग्यशाली गीतकार हुन्, जसलाई शब्दले चिनिन्छ। नत्र गीतकार जहिल्यै ओझेल बन्नुपर्ने विडम्बना छँदैछ, यतातिर र अरूतिर पनि।

गीतकार गिरी अहिले गीतैले शिखर बनिसकेका छन्, जुन शिखरको अग्लिने क्रम अझै निरन्तर छ।

“हो, धेरै प्रसङ्गमा म सौभाग्यशाली छु, मेरा गीतहरूलाई सबै उमेरका श्रोताले मन पराइदिएका छन्। तर गीतमा लेख्नुपर्ने र सिक्नुपर्ने अझ मैले धेरै छ’’, पुरण गिरी थप्छन्, ‘‘मानिसहरूको भावनालाई मिटरमा राखेर सरल र तरल प्रकारले मिहिनसँग गीत लेख्नु, लेखिएको गीतले मानव हृदयलाई चटक्क छुने बनाउनु सहज छैन।’’

यो हकमा पुरण गिरी खरो उत्रेका छन्। कहाँसम्म भने प्रबुद्ध लेखक जगदीश घिमिरेले बिमारी अवस्थामा गिरीकै गीत ‘कोइ बोलीमा रस हुन्छ, कोइ बोलीमा रिस’ मुटुमै खिलेर राखे। ओछ्यान परेको अवस्थामा गुनगुनाइरहे।

यो गीतको प्रसङ्गमा घिमिरे आफ्नो बहुचर्चित पुस्तक ‘अन्तर्मनको यात्रा’ -मा लेख्छन्, ‘बोली-व्यवहारले गर्दा छाती वारपार हुने अनुभव गर्न मजस्तो बिरामी र अशक्त हुनुपर्छ। यो गीत मैले बिरामी हुनुअघि पनि पटक पटक उदय-मनिलाकै मुखबाट समेत सुनेको हुँ। राम्रो लागेको हो, तर बिरामी भएपछि जब म अरूको बोली र व्यवहारमा आश्रित भएँ, यो गीत मेरो मुटुमा बसेको छ। कति राम्रो गीत लेखेका पुरण गिरी भाइले। बधाई।’

करीब दुई दशकअघि लेखिएको यो गीतले गिरीको गीतिलेखनलाई माथि उठायो। धेरैले रुचाए। मन पराए। एकप्रकारले गति नै लियो। तर, यसभन्दा अघि नै उनको ‘आँखामा लुकेको समुद्र’‘मेरो मनको आँगन’ जस्ता गीत डेजी बराइलीको स्वरमा चर्चित भइसकेका थिए। ‘लहर’ एल्बम निस्किसकेको थियो। यतिबेलासम्म उनले नेपाली गीतलेखनमा आफ्नो स्पेस कपिसकेका थिए।

मानिसको बोली र व्यवहारलाई मिहिनसँग खिपेर लेखिएको यो गीतको वैशिष्ट्य जोख्न थोरै शब्दले पुग्दैन। गीतको मर्म र भाव छान्ने र बुझ्ने मुटु चाहिन्छ। त्यो मुटु जोकोहीसँग नहुन पनि सक्छ।

अहिले पुरण गिरी दार्जिलिङे गीतलेखनमा व्यावसायिक गीतकार भइसकेका छन्। सयौँ मन छुने गीत लेखिसकेका छन्।

श्रोताहरूको भावना र मागलाई बुझ्छन्। गीत लेख्दा विषयवस्तु छनोटमा गम्भीर बन्छन्। उनलाई हल्का-फुल्का गीत लेख्न मन पर्दैन। ‘गीतप्रति गीतकार इमानदार भए मात्र श्रोताहरूलाई न्याय दिनसकिन्छ’ गिरीको ठम्याइ छ। र सदैव आफूलाई इमानदार राख्ने प्रयत्न गरिरहन्छन्।

‘कोइ बोलीमा रस हुन्छ’ -ले चर्चा कमाएका पुरण ‘शरणार्थी’, ‘यति धेरै माया किन’, ‘तिमी छ्यौ र त प्रिये’, ‘नपिउनु भन्छन् सबै मलाई’  गीतले पनि उत्तिकै चिनिएका हुन्। उनका गीतहरू एकसा एक छन्। उदय-मनिला जोड़ीको स्वरसँग उनको शब्दले मज्जाले खाप खाएको छ।

उदय-मनिलाकै जोड़ीसँग उनको ‘मखमली आवाज’ आउँदैछ। करिब ६ वर्षअघि तयार भइसकेको यो गीति एल्बम तर के के कारणले रिलिज हुनै सकिरहेको छैन। पुरण यसको रिलीज पर्खेर बसेका छन्। यस गीति एल्बममा रहेको ‘तिमी छ्यौ र त प्रिये’ गीतले उधुम मच्चाइसकेको छ। धेरैको मन जितिसकेको छ। यस्तै मन जित्ने अरू गीतहरू पनि छन्, यस एल्बममा।

उनले जे लेख्छन्, इमानदारीपूर्वक लेख्छन्। सबैतिर हात हाल्दैनन् गिरी। एउटैमा एकहोरो लागिरहन्छन्। उनलाई अलराउन्डर हुनु छैन। एउटैमा दत्तचित्त रहेर आत्मसन्तुष्टि प्राप्त गर्नु छ। उनले जे लेखिरहेका छन्, आजसम्म त्यो आत्मसन्तुष्टिकै लागि हो। कसैलाई उछिनेर बाजी मार्नु पनि छैन पुरणलाई।

उनले खुशी र आत्मसन्तुष्टि गीत लेखनबाट प्राप्त गरेका छन्। गीतबाट उब्रेको समय गीतिकाव्य र गीतिनाटक लेखिरहेका छन्। चन्द्र-सूर्यको प्रेम कथा गीतिकाव्य प्रेसमा गइसकेको छ।

पुरण गिरीका शब्दले नयाँ पुराना सबै गायक-गायिकाको स्वर पाइसकेको छ। अझ नयाँ प्रतिभाहरूलाई खोजेर अघि ल्याउन उनलाई मन पर्ने कुरा हो। धेरैलाई उनले यसरी नै अघि ल्याइसकेका छन्।

गीतकार ओझेलमा पर्दा उनलाई रत्तिभर मन दुख्दैन। ‘गीतकार भनेका गायक-गायिकाहरूका लागि माथि चढ़्ने सिँढ़ीजस्तै हो’, पुरण थप्छन्, ‘गायक-गायिका माथि पुग्दा आत्मसन्तुष्टि लिने हो। खुशी हुने हो।’

भर्खरै उनले कोरोना भाइरसको वैश्विक महामारीलाई लिएर ‘युद्ध हो यो’ गीत लेखेका छन्। उदय सोताङले गाइसकेका छन्। श्रोताहरूले रुचाइरहेका छन् अहिले यो गीत।

अहिले यिनै गीतकारसँग जनसंवादले गरेको ‘लकडाउन संवाद’ पाठकहरूका लागि प्रस्तुत गरिरहेका छौँ-

प्रश्नः लकडाउनमा के गरिरहनु भएको छ? तपाईंले लेख्नु भएको नयाँ गीत?

उत्तरः लकडाउनमा सिर्जनात्मक कार्यहरू गर्ने जमर्को गरेर एउटा गीत उदय सोताङ भाइले गाउनु भयो। गीत वर्तमान स्थितिलाई ध्यानमा राखेर रचिएको हो। यसबाहेक लकडाउनको यतिका लामो अवधिमा धेरै गीत पनि लेखियो।

मेरो विशेष लक्ष्य के छ भने यो लकडाउनमा एउटा गीति नाटक सिध्याउने अठोट गरेको छु, जो ७० प्रतिशत काम भइसकेको छ। लकडाउनको समाप्तिअघि पूरा गर्नसके शान्ति अनुभव गर्थें। बिच बिचमा गीत माग्नेहरू पनि त्यतिकै हुन्छन्, जसलाई नकार्न पनि सक्तिनँ।

प्रश्नः तपाईंलाई सर्वाधिक मन पर्ने तपाईंकै गीत कुन हो?

उत्तरः आफूले सिर्जेका आफ्ना लागि प्यारो हुँदाहुँदै एक-दुई गीतको नाम लिन परे म सर्वप्रथम ‘कोइ बोलीमा रस हुन्छ’ अनि ‘शरणार्थी’ प्रिय लाग्छ। गीत लेख्दा म विषय वस्तुलाई  लिएर नै लेख्ने गर्छु। विषयगत (Thematic) गीत लेख्न रुचाउँछु। उल्लिखित दुई गीत उदय-मनिलाले गाइसकेका हुन्। बानिका प्रधानले गाएको ‘यति धेरै माया किन’ गीत पनि उत्तिकै प्रिय लाग्दालाग्दै पनि किन हो किन ‘शरणार्थी’ मलाई अझ प्रिय लाग्छ। किनभने शरणार्थी गीतमा मैले कुनै ठाउँ पनि शरणार्थी शब्द प्रयोग गरेको छुइनँ। तर शरणार्थी भनेर बुझिहाल्छ। त्यसरी नै यस लकडाउनमा पनि कोरोना भाइरस (coronavirus) भन्ने शब्द प्रयोग नगरी लेखिएको गीत कोरोना भनेर बुझिहाल्छ, जुन गीत उदय सोताङले युट्युब (Youtube) -मा हालिसेकका छन्।

प्रश्नःएकजना गीतकारको रूपमा गीतलाई कसरी परिभाषित गर्नुहुन्छ?

उत्तरः सर्वप्रथम गीत के हो? भन्दा मेरो अनुभवले के भन्छ भने ‘सरल शब्दहरूलाई मिठो भावनाको धागोमा उनेर मानव हृदयलाई बिथोल्न सक्नु नै गीति रचना हो।’ वास्तवमा गीत गणित पनि हो। मिटरमा लेखिनुपर्ने बाध्यता हुन्छ। मिटर नमिले गीत नभएर कविता बन्न जान्छ। गीत परिभाषित गर्न होइन, गीत लेखनका सामग्रीहरू के के हुन्? त्यो जान्न आवश्यक सम्झन्छु। सर्वप्रथम गीतलाई उत्कृष्ट बनाउनपरे गीतकारमा कल्पना शक्तिको खाँचो पर्दछ। काव्यात्मक विशेषता छ भने गीत त अनुभव र अनुभूतिको बलले पनि रच्नसकिन्छ। तर, प्रस्तुतिमा तिक्खरता र शैलीमा स्वाभाविकताको ठूलो भूमिका हुनेगर्छ। हल्का-फुल्का गीतहरूमा यसैको अभाव देखिन्छ। मेरो दृष्टिकोणमा गीत लगाम खिच्नुपर्ने घोड़ा हो भने कविता लगाम छोड़्नुपर्ने घोड़ा हो। यसैले त १२/१४ हरफका गीतले एउटा सिङ्गो कथा बोकेको पाउँदछौँ।

गीतमा तरलता र सरलता हुनुपर्छ, जो मेरो अनुभवले बोल्छ। अन्त्यानुप्रास मिलेर मात्र गीत बन्दैन। त्यसमा भाव सौन्दर्य छैन भने गीत फिका भएर जान्छ। तरै पनि म भावलाई मान्यता दिन्छु गीतमा।

प्रश्नःगीतकार हुनुमा कतिको सन्तुष्ट हुनुहुन्छ तपाईं?

उत्तरः मेरो सन्तुष्टि गीत लेखनमै छ। एउटा गीत लेखी सिद्धिएपछि कुनै स्त्री प्रसव पीड़ाबाट उन्मुक्त भएझैँ अनुभव गर्दछु। जबसम्म गीत पूर्ण हुनसक्तैन, तबसम्म निस्सासिएको कोठामा प्रसव पीड़ामा भएको अनुभव गर्दछु। जब गीत लेखी सिद्धाएपछिको आनन्दको पराकाष्ठाले जुन सन्तुष्टि दिँदछ, त्यो आध्यात्मिक सन्तुष्टिभन्दा कम हुँदैन। जिन्दगीमा मेरो कुनै ठूलो लक्ष्य पनि छैन, गीत लेखेर केही गरूँ भन्ने। मेरो लक्ष्य यति नै हो, सन्तुष्टि कसरी हासिल गर्ने। जीवनमा सन्तुष्टिभन्दा पर कैले केही सोचिनँ।

प्रश्नः गीत लेख्दै गरेका नयाँ प्रतिभाहरूलाई तपाईंको सन्देश?

उत्तरः गीतिकारिताको क्षेत्रलाई रुचाउने मेरा प्यारा भाइ-बहिनीहरूलाई मेरो अनुभव साझा गर्नचाहन्छु। तपाईंहरू यदि पक्कै गीतकार हुनचाहनु हुन्छ भने सर्वप्रथम स्वयंसँग इमानदार हुनुहोस्। अध्ययन गर्नुस्। काव्यात्मक प्रतिभा बढाउनुहोस्। कविता, गीत, कथा निबन्ध आदि सबैमा हात नहाल्नुस्। कारण यो विशिष्टताको युग (specialization) हो। एउटै विधामा हात हाल्नुस्। यदि गीतै लेख्ने चाह राख्ने हो नितान्त गीत सोच्नबाहेक अरू नसोच्नुस्। तपाईंहरू अवश्यै गीति विधामा पारङ्गत र खप्पिस भएर माथि उक्लिनु हुनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here