अशोक प्रशान्त
मानवजातिमाथि आइलाग्ने हरेक महामारी, विपत्ति र विध्वंसपछि मानवजाति पुनः सम्हालिएर आएको छ। मानवजातिको इतिहासमा विपत्ति स्वाभाविक नियम हुन्, तर यो हामीले अपेक्षा गरेजस्तो तिथिमिति तोकेर आउँदैन, आकस्मिक ढङ्गमा आउँदछ। विपत्तिहरू त्यसैले नियमित आकस्मिकताहरू हुन्। यस्ता नियमित आकस्मिकताहरूलाई सहन गर्न, त्यसबाट आफ्नो अस्तित्व जोगाउन, त्यसले ल्याउने क्षय-क्षतिहरू कम गर्न र भविष्यमा त्यस्ता विपत्तिहरूको आशङ्कालाई कम गर्न मानव समाज कति सक्षम छ, त्यो यस्ता विपत्तिहरूले नै परीक्षा गर्दछन्।
यसचोटिको महामारीले विकसित भनिने मुलुकहरूका आन्तरिक कमजोरीलाई उजागर गरिदियो भने भारतजस्तो देशको शासनप्रणालीको कमजोरी पनि उदाङ्गो पारिदियो। विकसित मुलुकहरूमा स्वास्थ्य सुविधा, विपत्तिको समय जनताको आर्थिक र सामाजिक सुरक्षा, जनताको स्वास्थ्य सेवाको उपलब्धताका कारण जनताको ज्यान धेरै गए पनि ती समाजहरू पुनः खडा हुन सक्षम देखिन्छन्। त्यहाँ केवल शासकहरूका कमजोरी अनि विपत्तिलाई कम्ती आँक्ने दोषको कारण यति क्षति भए। तर भारतको स्थिति भिन्न छ। भारतमा कोरोना महामारी ढीलो शुरू हुनगयो, जसबाट यस रोगबाट बच्न तयारी गर्ने समय पायो। भारतले अलि ढीलै भए पनि लकडाउनलाई प्रयोग गरेकाले यस रोगको व्यक्तिगत प्रसारणको अवधि लामो रह्यो, सामाजिक सम्प्रसारण वा सङ्क्रमण यति चाँड़ै आउन पाएन।
पूर्व सतर्कताको कारण भारतमा कोरोनाबाट मृत्यु दर एकदमै थोरै छ। केन्द्रीय सरकार अनि प्रान्तीय सरकारहरूका काम गराइमा धेरै कमी-कमजोरीहरू भए पनि जनदबाउका कारण कोरोना रोकथाम, क्वारेण्टाइन, उपचार आदिका क्षेत्रमा कामहरू भइरहेका छन्। तर लकडाउन उठाउनसाथ कोरोना सङ्क्रमणका घटनाहरू ह्वात्तै बढ़ेका छन्। सङ्क्रमणमा यो वृद्धिले 68 दिनको धारावाहिक लकडाउनको उपलब्धिलाई रसातलमा पुर्याइदिएको छ। लकडाउन अनिवार्य थियो सङ्क्रमणको कड़ीलाई तोड्न, तर लकडाउनले सङ्क्रमणलाई पूर्णतया रोक्नसकेन। उल्टै लकडाउनले जनताको कम्मर तोड़िदियो। भारतमा जुन लकडाउनको प्रयोग गरियो, त्यसलाई कुनै व्यापक सोच-विचारबिना लागू गरियो। केन्द्रीय सरकारले लकडाउन शुरू गर्नअघि विदेशबाट फँसेका भारतीयहरूलाई हवाइजहाजबाट ल्यायो तर लकडाउन शुरू गर्दा जनतालाई आ-आफ्नो गन्तव्यमा पुग्न चार घण्टा मात्र समय दियो। जो-जो जहाँ थिए, त्यहीं फँस्नपुगे। क्रमिक रूपमा लकडाउन बढ़ाउँदै लगेको भए जनताले आफूलाई सही गन्तव्यमा पुर्याउनसक्थे। तर अत्यन्त अमानवीय ढङ्गमा मानिसलाई जहींको त्यहीं बस्न बाध्य गराइयो। रातारात करोड़ौं मानिस बेरोजगार भए। मानिसलाई घर जान दिइएन, पुलिस लगाएर कुटियो। मानिसहरू भोकमरीमा परे, आफ्ना अस्थायी आवासरहरूबाट बेदखल भए।
बिनाकुनै आर्थिक सहायता र सुरक्षा, सामाजिक सुरक्षा, पेशागत सुरक्षा, स्वास्थ्य सेवा र सुरक्षा देशलाई जुन त्रासदीमा घचेटियो, त्यो कोरोना महामारीभन्दा कहालीलाग्दो थियो। यसै पनि मन्द गतिमा चलिरहेको देशको अर्थव्यवस्था, 2 प्रतिशतको वृद्धिदरमा झरेको अर्थव्यवस्था कोरोना महामारीको कारण वृद्धिदर शून्यभन्दा मुनि पुग्ने अवस्था आएको छ। यस्तो अवस्थामा जनतालाई प्रत्यक्ष आर्थिक राहत पुर्याएर अर्थव्यवस्थामा माग सृजना गर्न अर्थव्यस्थालाई सक्रिय पार्नको सट्टा ऋण बाँड्ने नीति लिएर सरकारले जर्जर जनताको हाँसो उड़ाएको छ। यस कोरोनाकालमा भएका ज्यादतीहरूले जनता र देशलाई लामो समयसम्म पिरोल्नेछ।
आजको हाम्रो सरोकार भनेको कतिमात्र हो भने कोरोनाको कारणले निम्त्याएको अर्थव्यवस्थाको सङ्कट र त्यो सङ्कटले जनताको जीवनमा ल्याएको महासङ्कटबाट कसरी बाहिर आउने?
1. लकडाउनका कारण उद्योग-धन्दा बन्द भएकाले लाखौं हाम्रा युवाहरू पहाड़ फर्किएका छन्। ठूला शहरहरू यिनीहरूका लागि दुःस्वप्न समान भएका छन्। यी युवाहरू, श्रमजीवीहरू तत्कालै ठूला शहरहरूतिर फर्किएर जाने सम्भावना कम देखिन्छ। त्यसो भए यो जनशक्तिलाई कसरी व्यस्त राख्ने? हाम्रो गाउँ-ठाउँमा काम-धन्धाको अवसर कम भएकैले त यिनीहरू पहाडबाट पलायन गरेका हुन्।
2. लकडाउनअघि कोरोना सङ्क्रमणको खतराको कारण पर्यटन व्यवसाय यो वर्षलाई नै समाप्त भइसकेको छ। पहाड़का होटल व्यवसायीहरूले आउँदो जुलाईदेखि होटलहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिसकेका छन् (यद्यपि यो निर्णय सोमवार फिर्ता लिइयो भनिएको छ)। हाम्रो जनसङ्ख्याको ठूलो हिस्सा पर्यटनमा निर्भर छ। मानिसहरूमाझ शारीरिक दूरी कायम राख्ने, सामुहिक रूपमा भेला नहुने, स्वच्छतालाई अति नै प्राथमिकता दिने, स्वस्थ आहार पर्याप्त मात्रामा लिने, मानिसमा रोगप्रतिरोधक क्षमता बढ़ाउने, सोही प्रकारका भिटामिन्स र सप्लिमेण्ट्स सरकारी स्तरमा वितरण गर्ने, व्यापक मात्रामा स्वास्थ्य चेतनाको सम्प्रसारण गर्ने, कोरोना ज्यानलेवा बिरामी होइन र यसमा मृत्यु दर अत्यन्त कम छ भन्ने चेतना जनतामा गहिरो गरी स्थापना गरेर जनजीवनलाई सहज र सुचारू राख्नको सट्टा कठोर तर असफल लकडाउन घोणा गरेर सरकारले कोरोनाको रूपमा साक्षात् यमराज नै धरतीमा जनताको ज्यान लिन अवतरित भएजस्तो आतङ्क सृष्टि गरेकाले आज अर्थतन्त्रलाई ठूलो धक्का पुगेको छ।
यो आतङ्कले भोलिको दिनमा कोरोनाको टीका वा औषधिलाई महँगो बनाउँदैन भन्ने के ग्यारेण्टी छ? ‘मृत्युकै मुखेञ्जी’ कथाको घटना नदोहोरिएला कसरी भन्न सकिन्छ। यो आतङ्कले कम से कम पर्यटन व्यवसायजस्तो सर्विस सेक्टरलाई हालका लागि बर्बाद पार्यो। पर्यटन व्यवसायमाथि अन्य कति व्यवसायहरू निर्भर रहेका हुन्छन्, त्यो हामी सबैले जानेको कुरा हो।
क्रमशः