मिरिक, १० जूनः पहाड़मा पञ्चायती व्यवस्था सुचारू हुन अत्यावश्यक रहेको हिल तृणमूल कङ्ग्रेसका अध्यक्ष एल.बी. राईले बताएका छन्।
कोलकाता भ्रमणबाट फर्केलगत्तै उनले पत्रकारहरूलाई सम्बोधन गर्दै पहाड़मा पञ्चायत चुनाउमाथि जोड़ दिएका हुन्।
विधानसभा चुनाउपछि पहिलोपटक उनी पार्टीगत कार्यलाई लिएर केही दिनअघि कोलकाता गएका थिए।
“ग्रामीण क्षेत्रका मानिसहरूका बुनियादी सुविधाका लागि पहाड़मा पञ्चायती व्यवस्था हुनपर्छ”, राईले थपे, “आज पञ्चायती व्यवस्था सुचारू नभएकै कारण ग्रामीण क्षेत्रका मानिसहरूले आफ्ना समस्या र गुनासोहरू राख्न सकिरहेका छैनन्। यसका लागि उनीहरूले समस्या भोगिरहेका छन्।”
उनले आउँदा दिनमा पञ्चायती चुनाउलाई लिएर हिल तृणमूल कङ्ग्रेसबाट प्रस्ताव पारित गरी पठाउने पनि बताए।
यसैगरी आउँदा दिनमा जीटीएको सठिक सञ्चालनबारे पनि कुरा उठान गर्ने एल.बी राईले बताए।