राष्ट्रिय राजमार्ग 55 र 10-को वैकल्पिक मार्ग निर्माण गरिनुपर्ने माग

0
1392
आफ्नो मागबारे केन्द्रिय मन्त्री गडकरीलाई बुझाउँदै सांसद राजु विष्ट।

दार्जीलिङ, 10 जुलाई : बुधवार दार्जीलिङका सांसद राजु विष्टले केन्द्रिय राजमार्ग एवं भूतल परिवहन मन्त्री नितिन गडकरीसँग भेट गरी दार्जीलिङ क्षेत्रका राष्ट्रिय राजमार्ग र यसको अवस्थाबारे जानकारी गराए।

यसका साथै उनले राष्ट्रिय राजमार्ग 55 र 10 को अवस्था सुधार तथा वैकल्पिक मार्गको मागलाई उठाए।

उनले केन्द्रिय मन्त्री गडकरीसँग विशेषगरी यी दुई राजमार्गको वैकल्पिक मार्ग निर्माणलाई सैद्धान्तिक स्वीकृति दिनुपर्ने र यसको अध्ययनका लागि एक टीम पठाउनुपर्ने माग प्रमुखतासँग उठाएको स्वयं सांसद विष्टले एक प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएका छन्। यसका साथै उनले सड़क सम्पर्कलगायत अन्य मागलाई उठाएका छन्।

यसअवसरमा उनले बर्खाको मौसममा राष्ट्रिय राजमार्ग 55 र 10 घरी घरी बाधित हुने मामिलालाई पनि उठाएको विज्ञप्तिमा बताइएको छ।

साथै राष्ट्रिय राजमार्ग 55 तीनधारेस्थित  गोलाइपाखामा गएको पैह्रोको कारण धेरै वर्षदेखि बन्द रहेको ले तीनधारे, घैयाबारी तथा महानदीलगायत संलग्न क्षेत्रका मानिसहरूले समस्या भोगिरहेको  तथा अहिले राजमार्गको मरम्मती कार्य भइरहेता पनि मरम्मती कार्य भने अत्यन्त सुस्त रहेको कुराबारे अवगत गराए।

राजमार्ग एवं भूतल परिवहन मन्त्री गडकरीसँगको भेटवार्तामा सांसद विष्टले यी दुई राजमार्ग घरी घरी बाधित भइरहने  हुनाले 4-लेनको वैकल्पिक मार्ग  सिलगढ़ीबाट बालासन धोत्रे हुँदै घूम भएर दार्जीलिङसम्म तथा  सिलगढ़ीबाट बाग्राकोट हुँदै गोरुबथान-लाभा भएर कालेबुङसम्म निर्माण गरिनुपर्ने माग राखेको विज्ञप्तिमा जानकारी गराइएको छ।

यसका साथै उनले सिलगढ़ीको मतिगढ़ानजिक खोप्रेलदेखि सिलगढ़ी कोर्ट मोडसम्म फ्लाइओभर निर्माण गरिनुपर्ने माग राखे। फ्लाइओभरको निर्माण गरिएको खण्डमा हिलकार्टमा रोडमा हुने अत्यधिक जामबाट निजात पाउन सकिने तथा यसबाट स्थानीय मानिसहरूले राहत पाउने  उनले केन्द्रिय मन्त्रीलाई अवगत गराए। यसबारे अघिबाटै सिलगढ़ी महकुमा परिषद्द्वारा एक ज्ञापन पनि चढ़ाइसकिएको जनाए।

विज्ञप्तिका अनुसार सबै कुरा ध्यानपूर्वक सुनेका मन्त्री नितिन गडकरीले राष्ट्रिय राजमार्ग 55 र 10 को वैकल्पिक मार्गको निर्माणलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने तथा अध्ययनका लागि एक टीम पठाउने आश्वासन दिएका छन्।

यसका साथै बैठकमा उपस्थित राष्ट्रिय राजमार्ग प्राधिकरणका अधिकारीहरूलाई यी मामिलाहरूबारे पहल गर्ने निर्देश दिएको पनि विष्टले विज्ञप्तिमा बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here