खरसाङ, 10 जुलाईः डा. महेन्द्र पी. लामालाई दार्जीलिङ सिक्किम एकीकरण ठीक होइन भन्ने लागेको छ।
आफ्नो अध्ययन र बुझाइमा दार्जीलिङ-सिक्किम एकीकरण ठीक होइन भन्ने आफूलाई लागेको बताएका छन्।
यदि सिक्किम-दार्जीलिङ एकीकरण भए एउटाले हार्ने अनि अर्कोले जित्नेछ, यसैले दुवैले जित्ने खेल खेल्नुपर्ने डा. लामाको सुझाउ छ।
लामाको भनाइका अनुसार अहिले केन्द्र र राज्य दुवै सरकारले दिन्छु भन्दैछन्। यसैले केन्द्र र राज्यको यस प्रतिस्पर्धामा दार्जीलिङ पहाड़वासीले राम्रो कुरा पाउने दिशामा काम गर्नुपर्ने उनको सुझाउ छ। “सबै राम्रो भइरहेको समय दार्जीलिङ-सिक्किम एकीकरणको मुद्दातिर ध्यान भड़्काउने काम गर्नु उचित हुँदैन”, उनले भने।
आज खरसाङ आइपुगेका डा. महेन्द्र पी लामाले पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिँदै दार्जीलिङ सिक्किम-एकीकरणका लागि धेरैले अध्ययन गरेका हुनसक्ने तर आफ्नो अध्ययन र बुझाइमा दार्जीलिङ-सिक्किम एकीकरणको मुद्दा ठीक नरहेको बताए। किनभने एकीकरण हुँदा एउटा हार्नेछ, अर्कोले जित्नेछ।
डा. लामाका अनुसार दुवैले जित्ने खेल खेल्नुपर्छ।
“सिक्किमका आफ्नै बाटो, माटो, मार्ग इतिहास, भूगोल र संस्कृति छन् अनि दार्जीलिङका पनि आफ्नै छन्। त्यसैले दार्जीलिङ आफ्नै बाटोमा हिँड़नुपर्छ, चाहे त्यो यात्रा सुगम नहोला”, उनले भने, “दार्जीलिङ अहिले महत्त्वपूर्ण मोड़मा छ। केन्द्र सरकारले दिन्छु भन्दैछ र राज्यले पनि दिन्छु भन्दैछ। केन्द्र र राज्यको यस प्रतिस्पर्धाबीच हामीले केही राम्रो कुरा पाउनुपर्छ। अहिले यताउता कतै नहेरी अनि राम्रो भइरहेको समय दार्जीलिङ सिक्किम एकीकरणको मुद्दामा ध्यान नदिई दार्जीलिङले आफ्नो लक्ष्यलाई हेरेर अघि बढ़्नुपर्छ।”
डा. महेन्द्र पी. लामाका अनुसार दार्जीलिङले राज्य र केन्द्रको टक्करको फाइदा उठाउने कार्य गर्नुपर्छ, नत्र फेरि दार्जीलिङले एकपल्ट धोका नै पाउनेछ।