दार्जीलिङ, 10 जुलाईः दार्जीलिङको सेवक बजार र जलपाइगढ़ीको एलेनबारीलाई जोड्ने टिस्टा नदीमाथि रहेको कोरोनेशन पुलको वैकल्पिक पुल निर्माण प्रक्रियालाई तीव्रता प्रदान गरिएको दार्जीलिङका सासंद राजु विष्टले जानकारी दिएका छन्।
17 मार्च 2020 का दिन आफूले सदनमा यो मामिलालाई उठाएको जानकारी गराउँदै मन्त्रालयले यहाँ पुल निर्माण गर्ने सम्बन्धमा विस्तृत योजना रिपोर्ट (डीपीआर) कार्यलाई अघि बढाएको आफूलाई जानकारी प्राप्त भएको बिष्टले बताएका छन्।
उनले एक प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, ‘मैले सड़क परिवहन एवं राजमार्ग मन्त्रालयलाई वैकल्पिक पुलको निर्माणलाई तीव्रता प्रदान गर्न अनुरोध गरेको थिएँ। यस सम्बन्धमा केन्द्रीय सड़क परिवहन एवं राजमार्ग राज्यमन्त्री जनरल (डा.) विजयकुमार सिंहबाट आज प्राप्त ताजा जानकारीअनुसार नयाँ पुल निर्माणका लागि विस्तृत परियोजना रिपोर्ट (डीपीआर)-को काम अघि बढ़िरहेको छ। मन्त्री सिंहले बताएअनुसार रेल मन्त्रालयले स्वीकृत योजनामा केही संशोधनका साथ नयाँ पुलको सम्पर्क मार्ग (अप्रोच रोड) निर्माणका लागि रेल राइट अफ वे (आरओडब्ल्यू) हस्तान्तरण गर्ने सहमति प्रदान गरेको छ। यो परियोजनालाई 2023-24 को नेशनल इन्फ्रास्ट्रक्चर पाइपलाइन (एनइपी) अन्तर्गत सामेल गरिएको छ।’
संसद बिष्टले जानकारी गराएअनुसार उनले सदनमा दार्जीलिङ, कालेबुङ, सिलगढ़ी र सिक्किमबाट डुवर्सको यात्रा गर्नेहरूका लागि कोरोनेशन पुल जीवनरेखा रहेको र टिस्टा नदीको वर्तमान पुलका दुवै किनारतिरका स्तम्भहरू जर्जर अवस्थामा पुगेकाले कुनैपनि समय भत्केर डरलाग्दो दुर्घटना भई ज्यानमालको ठूलो क्षति हुनसक्ने सम्भावित जोखिमबारे सदनको ध्यानाकर्षण गरेका थिए।
‘दार्जीलिङ, कालेबुङ, सिलगढ़ी र सिक्किमको संवेदनशील ‘चिकेन नेक’ क्षेत्रलाई जलपाइगढ़ी, अलिपुरद्वार, कोचबिहार र पूर्वोत्तरका अन्य भागसँग जोड्ने कोरोनेशन पुलको निर्माण 1937-मा गरिएको थियो। यो क्षेत्र चीन, भूटान र बङ्ग्लादेशको सीमानामा पर्ने र यसको उपयोग सैन्य एवं असैन्य दुवै उद्देश्यका लागि हुने भएकाले कोरोनेशन पुल राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्तै महत्त्वपूर्ण रहेको छ’, उनले थप भनेका छन्।
यस स्थानमा वैकल्पिक पुलको निर्माण प्रक्रियालाई तीव्रता प्रदान गरिएकोमा सांसद राजु बिष्टले केन्द्रीय सड़क परिवहन एवं राजमार्ग मन्त्रालय तथा रेल मन्त्रालय दुवैप्रति आभार व्यक्त गरेका छन्।
उनले दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रमा राम्रो सम्पर्क एवं निरन्तर विकास सुनिश्चित गर्ने केन्द्र सरकारको वचनबद्धताका लागि पनि धन्यवाद दिएका छन्।